७ वैशाख २०८१ शुक्रबार
विचार

सिंहदरबारका सम्धीहरू

ग्रिगोरी एफिमोभिच रास्पुटिन आफूलाई ‘पवित्र पुरुष’ भन्थे। राजा (जार) निकोलस (द्वितीय) लाई उल्टो सल्लाह दिने ती ‘राजगुरु’ आफू सर्वशक्तिमान भएकाले मैमत्त थिए । अभिमानले उनको जीवनशैली ‘भुँइमा न भाँडामा’ थियो । साइबेरियाको दरिद्र किसान परिवारमा जन्मिएर उनी पादरी भए। तन्त्रमन्त्र जानेका चमत्कारी जोगी हुन् भनेर व्यापक प्रचार गरिएकाले दरवारमा उनी धार्मिक सल्लाहकारका रूपमा प्रवेश पाए।

दरवारमा प्रवेश गरेपछि उनले राष्ट्रलाई नै कमजोर पार्ने खेल खेलेको भन्दै इतिहासकारहरूले रास्पुटिनको निन्दा गरेका छन् । रास्पुटिन वास्तवमा धर्म विरोधी पाखण्डी हुन् भनेका छन्, इतिहासकारहरूले । जब मानिसले सर्वसत्तावादी, सर्वाधिकारी तथा निरंकुश बन्ने प्रयास गर्छ, तब ऊ आफैँलाई ईश्वर र सर्वज्ञ ठान्न थाल्छ । धर्मको अस्तित्व मान्दिनँ भन्न थाल्छ । धर्मका आधारमा राज्य चल्दैन भन्न थाल्छ । टिनको सानो छाप्रोमा जन्मेको दरिद्रको छोरो कालान्तरमा राजासँग काँध जोेड्ने हैसियतमा पुगेपछि रास्पुटिनले राजालाई पनि थर्काउन थाले । तुरा नदीको किनारामा पर्ने पोक्रोभ्सकोये गाउँको एउटा झुत्रे केटो मस्कोमा राजाको हर्ताकर्ता भएपछि फुर्ती बढ्ने नै भयो । ‘सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति, घोच्ने ती जंगली काँडा पहिले नै तिखा कति’ भनेर नैतिक दृष्टान्त कवितामा कवि शिरोमणि लेखनाथले अकाट्य प्रमाण र प्रमेह प्रस्तुत गरेका छन् । तर दुष्टको भविष्य लामो हुँदैन । रास्पुटिन पनि ४७ वर्षमै मारिए।
 
इतिहासकार डगलस स्मिथले बाल्यकालमा उदण्ड, हुल्याहा, उत्ताउलो र उग्र स्वभावको रास्पुटिन ‘भाग्यले’ दरवार पुगे भनेका छन् । संस्कार, शिक्षा, तालिम, सभ्यता, धर्म–संस्कृति र परम्पराको पालना गर्नेहरूमध्ये नेपालमा कैयन् ज्ञानीहरू विशिष्ट तहको अधिकृतसम्म भएका छन् तर रास्पुटिनहरूलाई मन्त्री र प्रधानमन्त्री मान्नुपर्ने पीडा बोकेर ती सेवानिवृत्त हुने गर्छन् । नेपालमा पनि कतिपय रास्पुटिनहरू क्षमताले होइन, भाग्यले सिंहदरबार पुगेका छन्।

उल्लुले सूर्य छैन भन्नु र ‘प्रगतिशील हुँ’ भन्ने कतिपयले ईश्वर र धर्मको अस्तित्व अस्वीकार गर्दै ‘नेपाल धर्म निरपेक्ष भइसक्यो’ भन्नु उस्तै कुरा हो।

असल मानिसको जीवन छलकपटमय हुँदैन । उनीहरू सरल हुन्छन् । देवकोटा लेखनाथ, सिद्धिचरण धेरैको जीवन सरल पाइन्छ । ‘पोखरा बाटुलेचौरबाट कस्सिएर हिँड्दा मलाई काठमाडौं पुग्न ६–७ दिन लाग्थ्यो’– कवि धर्मराज थापा पुराना कुरा सुनाउँथे । चौध अञ्चलबाहेक दार्जिलिङ, सिक्किम, देहरादुन, डुवर्स, भाक्सु, आसाम आदि कुनाकुना पुगेर नेपाली भाषा, साहित्य र संगीतको प्रचार गरे थापाले । अलि मियाँ र धर्मराज थापा जस्ता धेरैको योगदान बिर्सिनसक्नु छ।

पोखराकै शिक्षासेवी गणेशबहादुर गुरुङ आफ्नो जन्मथलो ठानामौला (पर्वत) बाट हिँडेर पाल्पा, बुटवल, भैरहवा पुगे २००३ सालमा । त्यहाँबाट भारतको भूभाग प्रवेश गरेर रेलमा गोरखपुर र रक्सौल पुगे । त्यसपछि नेपाल (वीरगन्ज) प्रवेश गरेर अमलेखगन्ज, भीमफेदी हुँदै चन्द्रागिरी पर्वतबाट काठमाडौँ खाल्डो आइपुगे । गाउँमा उनलाई अक्षर चिनाए लक्ष्मीदत्त शर्माले । काठमाडौँमा पढाए योगराज प्याकुरेलले । उपरथि शिवराम खत्री र कूटनीतिज्ञ भेषबहादुर थापाका सहपाठी बनेर जुद्धोदय माध्यमिक विद्यालयमा पढ्ने गणेशबहादुर गुरुङ युवावस्थामै प्राध्यापन पेशामा लागेर क्याम्पस प्रमुख भए, पोखराको पृथ्वीनारायण क्याम्पसमा । उनी समाजका निधि मानिन्छन्।

नेपाल सबै जात र प्राचीन धर्म–संस्कृतिको साझा आँगन हो भन्ने बुझेका यस्ता सुसंस्कृत मानिस उदार धारणा राख्छन् । अर्को जातलाई हेपेपछि आफ्नो जात (सम्पन्न) (?) बन्छ भन्ने फिरंगीको विकृत चिन्तन बोक्ने कतिपय एनजिओजीवीहरू आज आगो झोस्दै हिँडेका छन् । धेरैजसो राजनीतिक दल विदेशी दातृनिकायबाट सञ्चालित भएकाले ती ठूला साना सबै दल हिन्दु, बौद्धलगायतका पुराना धर्म तथा प्राचीन संस्कृति मास्न खोज्नेहरूप्रति नरम छन् । तर बहुसंख्यक जनता धर्म–संस्कृतिप्रति प्रगाढ आस्था राख्छन् भन्ने डा. जगमान गुरुङलगायत धेरैको तर्क छ।

राष्ट्रवादी हुँ भनेर हुँकार गर्नेहरूले दिल्लीको ‘भाइसाहेब’ हुँदा गर्व गर्ने होइन, महाकाली र दिल्ली सम्झौता–२ रद्द गरेर सगर्व इतिहासमा नाम लेखाए हुन्छ।

भोटिङ मेसिनका रूपमा प्रयोग गरेर नेताले चुनावका बेलामात्र सम्झने गर्छन् जनतालाई । दलका उच्च पदमा पुगेर सिंहदरवारका बडाहाकिम हुनेहरू राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा उनको जन्मदिनलाई महŒवहीन ठान्छन् । ‘कार्ल माक्र्स मेरा देवता हुन्’ भन्छन् । ‘ईश्वर छैन’ पनि भन्छन् । उच्च पदमा पुगे पनि ईश्वरको नाममा शपथ ग्रहण गर्नु पाप ठान्छन् । ईश्वर छैन भन्ने, धर्मका आधारमा काम गर्दिनँ भन्ने अनि कार्ल माक्र्स, माओ, स्टालिन र लेनिनलाई ईश्वर मान्नु ढोग, पाखण्ड र अभिमान नभए के हो ? ईश्वर र धर्म नमान्ने सिंहदरवारका रास्पुटिन र सम्धी साहेबहरू पार्टीका ‘सरदार’ मात्र होइनन् । लाखौँ ‘धार्मिक’ नेपालीको समर्थन पाएर त्यहाँ पुगेका प्राणी हुन् । उनीहरूले धर्म, इतिहास र जनताको अपमान गर्दा केही ‘कार्यकर्ता’ त हाम्रा मालिकले सही कुरा बोले भनेर खुसी होलान् तर लाखौँ जनताको छाती चसक्क दुख्छ । गाउँका जाली मुखियाले जस्तो तुक्का जोडेर, कथा हालेर, राष्ट्रवादको ‘रेशम फिरिरी...’ सुनाएर एक दुई वर्ष चल्न सक्छ, सधैँ चल्दैन।

तराईका ठूला जमिनदारको बगैँचामा अनेक जातका चराचुरुङ्गी बस्थे । केही लाटोकसेरा (उल्लु) पनि थिए । एकदिन उल्लुका बच्चाहरूले आमालाई सोधे– ‘सुगा, भँगेरा आदि चरा घाम लागेपछि चारो खोज्न जाने सल्लाह गर्छन् । त्यो घाम भन्या चैँ कस्तो हुन्छ ?’ उल्लुकी आमा उल्लु नै थिइ । उसले भनी– ‘रातिको कुरामात्र सोध न केटाकेटी हो, त्यो म बताउन सक्छु । दिउँसो त हाम्रा जातमा सबैको आँखा सधैँ बन्द हुन्छ । बरु बाउलाई थाहा छ कि उसैलाई सोधे हुन्छ।’

उल्लुका सन्तानले बाबुलाई सूर्यका बारेमा सोधे । बाबुले उल्टै हप्कायो–‘ मूर्खहरू हो, त्यो सुर्जे–फुर्जे केही छैन धरतीमा । हामीलाई उदाहरण दिएर मान्छेहरू ‘कस्तो उल्लु’ भनेर गाली गर्छन् । घामका कुरा गर्नेहरू सबै उल्लु हुन् ।’ उल्लु पिताले दर्शन छाँट्यो । सूर्यको अस्तित्व नै स्वीकार गरेन उसले । चार वेद, उपनिषद्, गीता, महाभारत, नीतिशास्त्रहरू, हजारौँ वर्ष पुराना धर्मग्रन्थ सबैले धर्म, देवीदेवता र ती सबैसँग सम्बद्ध सत्यलाई स्वीकार गरेका छन् । धर्म छैन, ईश्वर छैन, धर्म भनेको अफिम र फाल्तु कुरा हो, म धर्मका आधारमा चल्दिनँ भनेको के हो ? उल्लुले सूर्य छैन भन्नु र ‘प्रगतिशील हुँ’ भन्ने कतिपयले ईश्वर र धर्मको अस्तित्व अस्वीकार गर्दै ‘नेपाल धर्म निरपेक्ष भइसक्यो’ भन्नु उस्तै कुरा हो । नेपाल धार्मिक राष्ट्र नै हो । यो राष्ट्र धर्म निरपेक्ष हुनै सक्दैन । नेताले आफ्ना निधारमा ‘धर्म निरपेक्ष’ भन्ने ‘ट्याटु’ खोपे पनि हुन्छ तर जनता त्यस्ता अधर्मी र विधर्मीको पक्षमा लाग्दैनन् । जनताले केही नेतालाई ‘राष्ट्रवादी’ मानेको राष्ट्रका धर्म, संस्कृति, सिमाना, परम्परा, इतिहास र मूल्य÷मान्यताको रक्षक बनाउनका निम्ति हो । तर ‘धर्म मान्दिनँ’ भन्नेहरू राष्ट्रवादी हुन सक्दैनन् । किनभने हाम्रो राष्ट्रियता र राष्ट्रवाद, धर्म, संस्कृति, परम्परा, इतिहास सबैसँग गाँसिएको छ । दलहरू नभए पनि राष्ट्र मर्दैन । प्रजातन्त्र मर्दैन । तर धर्म र संस्कृति मासियो भने राष्ट्र रहँदैन । विनास हुन्छ।

भारतीय प्रधानमन्त्री जनकपुर पुगेका बेला तराईका एकजना नेता (?) ‘राष्ट्रघाती अभिव्यक्ति’ दिएर विवादमा आए भनिन्छ । उनले सही वा गलत के बोले, त्यसमै बहस भइरहेको छ, संसद्मा पनि । त्यसो भए दिल्लीमा गएर नेपालको तत्कालीन राज्यसत्ताविरुद्ध बिलौना गर्ने सात दलका नेताले गरेको काम सही थियो कि गलत ? भारतमा बसेर नेपालविरुद्ध हतियार उठाउँदै सत्र हजार मानिस मार्नु उचित थियो कि अनुचित ? त्यस्तो राष्ट्रवादी थियो कि राष्ट्रघाती, जनघाती ? रास्पुटिनमात्र सही र अरु साना पादरी गलत ठह-याइझैँ केन्द्रमा बस्नेले ‘बाह्रबुँदे’ सम्झौता र महाकाली सन्धि गरेको ठीक कि बेठीक ? जनतालाई जवाफ दिनुपर्छ । ‘साना’ नेताले त्यसरी नै विदेशी नेताका सामुन्ने ‘जय गुजरात के पावन माटी...’ भन्दै आरती गर्दा केन्द्रका नेताहरूकै पदचिह्न पछ्याएको देखिन्छ । किनभने २०६३ सालभन्दा पहिले विदेशी हस्तक्षेप यति नांगो थिएन । स्वागत गरिन्थ्यो विदेशी नेताको तर भजन गाउने चलन थिएन । सन् १९५० को सन्धि भन्दा हजारौँ गुणा राष्ट्रघाती दिल्ली सम्झौता–२ आजको यावत् राजनीतिक विकृतिको जरो हो । विष रोपेपछि त्यहाँ अमृत कसरी फल्छ ? तसर्थ, राष्ट्रवादी हुँ भनेर हुँकार गर्नेहरूले दिल्लीको ‘भाइसाहेब’ हुँदा गर्व गर्ने होइन, महाकाली र दिल्ली सम्झौता–२ रद्द गरेर सगर्व इतिहासमा नाम लेखाए हुन्छ।

२०६३ सालपछि लाखौँ भारतीयलाई नवप्रवेशी नागरिक बनाउने नागरिकता प्रमाणपत्र रद्द गरेर देखाउनु बहादुरी ठहरिनेछ । भारतसँग झन्झन् आश्रित र निरीह बन्दै गएको कूटनीतिक भूल स्वीकारेर स्वावलम्बनको बाटो देखाए हुन्छ । सक्छन् त्यति गर्न ? पचासौँ लाख युवक÷युवतीको रगत पसिनाले धानिएको अर्थतन्त्रमा उभिएर ‘सरकारले यो गर्नेछ र त्यो गर्नेछ’ भन्ने हावादारी गफ गर्नुभन्दा गरिबका लाखौँ छोराछोरीलाई स्वदेशमै रोजगारी दिएर देखाउन सक्छ सरकारले ? स्वच्छ हावा र पानी उपलब्ध गराएर देखाउन सक्छ ? रेल त दश वर्षपछि भए पनि चढुँला, तेलमात्र सस्तो पारेर देखाउन सक्छ ? के गर्न सक्छ सरकारले, त्यतिमात्र बोले हुन्छ।

सरकारले ‘अत्यन्त उपलब्धिपूर्ण’ भन्दै प्रचार गरेको भारतीय प्रधानमन्त्रीको नेपाल यात्राबारे सत्तारुढ दलकै कैयन् नेताको फरक मत पाइएको छ । एमालेका उपाध्यक्ष भीम रावलले नेपाल र भारतका प्रधानमन्त्रीबीच दिल्ली र काठमाडौँमा भएका गुप्त वार्ताबारे गम्भीर शंका व्यक्त गरेका छन् । यस्तै वरिष्ठ राजनीतिज्ञ तथा कूटनीतिज्ञ कमल कोइरालाले आफ्नै दलका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कठोर आलोचना गदै भनेका छन्– पछिल्ला अढाइ तीन वर्षमा ओलीजीको छवि अलग्गै थियो । सच्चा राष्ट्रवादी नेता भनेका ओली नै हुन् भन्ने थियो जनतामा । यसपालिको मोदी भ्रमणले सबैभन्दा ठूलो नोक्सान केपी ओलीलाई भएको छ।’ (बुधबार साप्ताहिक, २०७५ जेठ २ गते।)

दुईजना सम्धीको धेरै वर्षपछि भेट भएछ पहाडमा । धनी सम्धीले हाम्रा घरमा त पचासवटा गाई, पचास हल गोरु, प्रशस्त खसी÷बोका, भकारीमा हजारौँ मुरी धान आदि छन् भनेर गफ सुनाएछन् । दरिद्र सम्धीले उल्टो धाक लाएछन्– दूध दहीको कुरै नगरौँ हजुर, मेरा त नोकरचाकरले पनि दूधले खुट्टा धुन्छन् । दश पन्ध्र केजी सुनका गहना लाएर घरबूढी थचक्क बसेकी छे घरमा । कतै हिँडडुल गर्न पनि सक्दिनँ । नोकर पनि चाँदीकै खाटमा सुत्छन् । अरु कुरो आफैँ बुझे हुन्छ हजुर...।’

धनाढ्य सम्धीले आश्चर्य मान्दै सोधेछन्– ‘हो र सम्धीज्यू ?’ लेग्रो तान्दै दरिद्र सम्धी बोले– गफै त हो नि सम्धीज्यू।

जनताका पीरमर्का, व्यथा र कथा नसुन्ने, उल्टो बाटो बुर्कुसी मार्दै माओवादीका अजेन्डामा कुद्ने, राष्ट्रियतालाई ‘महेन्द्रको राष्ट्रवाद’ मात्र देख्ने, आपसमा गाँड कोराकोर र धोती तानातान गर्न रमाउने कांग्रेसका अदूरदर्शी नेताहरूले आफ्नो बाटो बिर्सेर हिँड्दा दुर्गति भएको छ । सही बाटो हिँडेको भए ‘अधिनायकवाद आयो’ भनेर आज रुनुपर्ने थिएन । कांग्रेसलाई जनताले लाखौँ मत दिए अरु दल रोज्न नसकेर । नेपाली कांग्रेसले राष्ट्रवाद, परम्परावादी शक्ति, धर्म–संस्कृति, परम्परा, प्रगति, स्पष्ट आर्थिक र परराष्ट्र नीति लिएर अभिमानको बाटो त्याग्यो भने उसका पक्षमा अझै पनि जनता उभिन सक्छन् । एक अर्कालाई धक्का दिएर साँघुबाट नदीमा झरेका मूर्ख बोकाहरूको कथा कांग्रेसका पुराना नेताले अवश्य पढेकै होलान्।

२०४७ सालपछि ६७ प्रतिशत कालखण्ड आफैँले नेतृत्व गर्दा स्वदेशी उद्योग बेचेर खाने र अहिले समृद्धिका कुरा गर्न कांग्रेसलाई पनि लाज लाग्नुपर्ने हो तर नेपालमा राजनीति भनेको निर्लज्जहरूको उद्योग भइसक्यो । राष्ट्रवादी, असल मान्छे राजनीतिमा टिक्न गाह्रो छ । कहिले राजतन्त्र महान् भन्ने कहिले गणतान्त्रिक संविधानको हनुमान बन्दै हिँड्नेहरू आज ‘धोबीका कुत्ता घरका न घाटका’ भनेझैँ निरीह बनेका छन् । तराई टुक्र्याउँछौँ भन्ने नेता र एनजिओकर्मीहरू हुटिट्याउँले आकाश थाम्छु भनेर खुट्टा ठाडो पारेर अवसरवादको बालुवामा सुतेका छन् । हामी बबुरा जनता सिंहदरवारका गफाडी सन्धीहरूका मीठामीठा गफमा रमाएका छौँ । आजको नेपालको राजनीतिक तस्बिर वृद्ध चित्रकारले कुची पुछ्ने थोत्रो कपडा जस्तो छ । बाबु मरेपछि छोराले ‘यो पनि अर्मूत कला रहेछ’ भन्दै प्रदर्शनीमा राखेछ । कला नबुझेका केही दर्शकले भनेछन्– ‘वाह, चित्र भनेको यस्तो पो हुनुपर्छ ।’ हामी त्यस्तै दर्शक बनेका छौँ।

योग्य व्यक्तिहरू जहाँ पुगे पनि उदाहरणीय, वन्दनीय र आदरणीय बन्छन् । माना याजबीले बर्माको इतिहासमा कपिलवस्तुका राजा अभिराजले बर्मामा राजतन्त्र स्थापना गरेको उल्लेख गरेका छन् । पञ्चालनरेशले विपुल सैन्यबलद्वारा कपिलवस्तुको इक्ष्वाकु कुलका सूर्यवंशी र देवदह (नवलपरासी) क्षेत्रका कोलिय सूर्यवंशी दुवै क्षत्री राजालाई बन्दी बनाएर शासन गर्न खोजे । प्राण जोगाउन सकियो भने शक्ति सञ्चय गरेर राज्य फिर्ता लिन सकिन्छ भन्ने अठोट गर्दै कपिलवस्तुका राजा अभिराज कामरूप–कामाक्ष (आसाम) पुगे । त्यहाँबाट शल्यवती (चिन्डविन) र एरावतीको बीचमा पर्ने बर्माको भूखण्डतिर लागे । सुन्दर, शालीन, भद्र, अनुभवी र साँच्चै राजा जस्तो प्रशान्त व्यक्तित्व दलबलसहित आफ्ना ठाउँमा आएको देख्दा जनताले प्रश्न गरे । अन्त्यमा, उनी योग्य शासक हुन् भन्ने बुझेपछि जनताले सिंहरथ–डंगो राज्यको राजा बनाए अभिराजलाई । बर्माको श्वेबोँ सहरबाट झण्डै सत्तरी माइल उत्तरमा रहेको सो प्राचीन सहरको अवशेष अहिले पनि छ र बर्माको राजतन्त्र स्थापना गर्ने प्रथम व्यक्ति नेपाल (कपिलवस्तु) बाट गएका अभिराज नै हुन् भन्ने इतिहासकाहरूको तर्क छ । सिद्धार्थ गौतम (बुद्ध) जन्मिनुभन्दा धेरै पहिलेको कुरा हो यो।

छोटो बुद्धिले राजकाज चल्दैन । नेपालमा बितेका पच्चीस/छब्बीस वर्षमा मात्र झण्डै पच्चीसजना प्रधानमन्त्री र पचास ट्रक जति मन्त्री भइसके । सांसद हुनेको रेकर्ड त संसद् सचिवालय र मदन पुरस्कार पुस्तकालयतिर मात्रै होला । पदबाट हटेपछि जनताको स्मृतिबाट ती हराउँछन् । राष्ट्र र जनताका पक्षमा साँच्चै सत्कर्म गर्ने असल व्यक्तिलाई मात्र इतिहासले सम्झिरहनेछ । सिंहदरवारमा प्रधानमन्त्रीको जागिर खाने कति आए कति । कतिले त राष्ट्र नै ध्वस्त पारे । कतिले आफू र परिवारलाई मात्रै सिंगारे। जनताले खोजेको परिवर्तन सत्ताको होइन। सिंहदरवारका सम्धीहरूले यतिमात्र बुझिदिए पुग्छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App