८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भेनेजुएलाका राजनीतिक बन्दीद्वारा ‘विद्रोह’

कराकस– भेनेजुएलाको सबैभन्दा बदनाम बन्दीगृहमा राखिएका राजनीतिक बन्दीहरुले विद्रोह गरेको उनीहरुका आफन्तले बताएका छन्।

भेनेजुएलाको सेक्रेट सर्भिसको मुख्यालयस्थित इवान हेलिकोइडमा राखिएका राजनीतिक बन्दीले बन्दीगृहका क्षेत्र कब्जामा लिएको बन्दीका आफन्तलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बन्दीगृहमा रहेका बन्दीलाई पिटिएपछि बन्दीहरुले विद्रोह गरेको बताइएको छ ।दबाब समूह फोरो पेनालका अनुसार भेनेजुएलाको उक्त बन्दीगृहमा तीन सयभन्दा बढी राजनीतिक बन्दीलाई थुनामा राखिएको छ।

हेलिकोइड बन्दीगृहमा के भएको थियो भन्नेबारे सरकारी तहको कुनै पनि आधिकारिक सूचना नआएको बिबिसीले उल्लेख गरेको छ । राजधानी कराकसको मध्य भागमा रहेको हेलिकोइड कुनै बेला ठूलो सपिङ सेन्टर रहेको थियो र हाल त्यहाँ भनेजुएलाको सेक्रेट सर्भिस (सेबिन) रहेको छ । उक्त बन्दीगृहमा रहेका राजनीतिक बन्दीका आफन्तले भने ग्रेगोरी सानाब्रिया नामक राजनीतिक बन्दीलाई गैरराजनीतिक बन्दीले कुटपिट गरेपछि विद्रोह सुरु भएको थियो । सेबिनमा तीन राजनीतिक बन्दीसहित तीन सयभन्दा बन्दी रहेको र अन्य बन्दीसहित राजनीतिक बन्दीलाई पनि त्यहाँ राख्ने गरिएको भेनेजुएली नागरिकले आरोप लगाउने गरेका छन्।

सामाजिक सञ्जालमा बाहिरिएको तस्बिरमा राजनीतिक बन्दी सानाब्रियाको अनुहार सुन्निएको देखिएको छ । सानाब्रियालाई सन् २०१४ मा सरकार विरोधी प्रर्दशनमा सहभागी भएको अरोपमा पक्राउ गरिएको छ र हाल उनीविरुद्धको मुद्दा स्थगन गरिएको बिबिसीले जनाएको छ । सानाब्रिया विद्यार्थी भएको र सरकार विरोधी आन्दोलनमा सरिक भएको आरोपमा पक्राउ परेको बताइएको छ ।

इवान हेलिकोइडमा राखिएका राजनीतिक बन्दीमध्येका एक ड्यानियलकी पत्नी प्याट्रिका केबाल्लोसका अनुसार सानाब्रियालाई गैरराजनीतिक बन्दी पिट्ने बित्तिकै राजनीतिक बन्दीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका राजनीतिक बन्दीलाई नेसनल गार्ड र दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको केबाल्लोसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भेनेजुएलाको पश्चिमी सहर सान क्रिस्टोबलका विपक्षी मेयर केबाल्लोस बन्दीहरुले बन्दीगृहका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए । ‘अपहरण गरी यस जेलमा ल्याइएका र कुनै कानुनी प्रक्रिया सञ्चालन नगरी न्याय बिना यहाँ राखिएका सबै राजनीतिक बन्दीलाई रिहा गरिनुपर्छ भन्ने हामीले माग गरिरहेका छौं,’ जेलबाटै सिएनएनसँग गरिएको टेलिफोन कुराकानीमा केबाल्लोसले बताए । दुई वर्षदेखि कानुनी सुनुवाई स्थगित गरी हेलिकोइड बन्दीगृहमा राखिएका अमेरिकी नागरिक जोसुवा हल्टले एउटा भिडियो सन्देशमार्फत् बन्दीगृहमा विद्रोह भइरहेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘उनीहरु बाहिर छन् । उनीहरु भित्र प्रवेश गर्न खोजिरहेका छन् ।

उनीहरुले मलाई मार्न आँटेको भनिरहेका छन्,’ २६ वर्षीय अमेरिकी नागरिक हल्टले चर्को स्वरमा सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ । उनले नै जारी गरेको दोस्रो भिडियोमा आफन सहकर्मीलाई त्यहाँबाट निस्कन आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।राजधानी कराकसमा रहेको अमेरिकी दूतावासले बन्दीगृहमा भइरहेको विद्रोहलाई लिएर चिन्ता व्यक्त गरेको ट्विट गरेको छ । ‘जोसुवा हल्ट र अन्य अमेरिकी नागरिक खतरामा छन्,’ स्पेनिस भाषामा गरिएको ट्विटमा उल्लेख गरिएको छ ।

‘बन्दीगृहमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि भेनेजुएली सरकार पूर्ण रूपमा जिम्मेवारी रहेको र यदि उनीहरुलाई केही भइहाल्यो भने हामी उनीहरुलाई जिम्मेवार बन्न सिकाउँछौं,’ दूतावासको ट्विटमा भनिएको छ । पक्राउ पर्नुको अवस्थाबारे भेनेुएली राजनीतिक बन्दीले लामो समयदेखि गुनासो गरिरहेका छन् । भेनेजुएलाभित्र र बाहिरका दबाब समूहले उनीहरुलाई रिहा गर्न राष्ट्रपति निकोलास मादुरोको सरकारलाई आह्वान गरिरहे पनि भेनेजुएली सरकारले त्यसबारे कुनै चासो व्यक्त गरेको छैन।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App