४ वैशाख २०८१ मंगलबार
अन्य

विपन्नको बजेट अन्तै खर्च

सरकारले विपन्न वर्गको उत्थानको लागि आएको हरेक वर्ष बजेट छुट्याउँछ । तर, विभिन्न बहानामा उक्त रकम अन्यत्रै खर्च गर्ने प्रवृत्ति छ । यसको ज्वलन्त उदाहण हो, ललितपुर महापालिकाको वडा नम्बर १४ ।

वडाध्यक्ष रामबाबु महत्तलले दलित बस्तीको उत्थानको लागि आएको ६ लाख रूपैयाँ अन्यत्रै खर्च गर्न लागेका छन् । सो रकम लोहाचोक सडक निर्माणमा खर्च गर्न लागिएको हो । उक्त योजनाका लागि सम्झौता समेत भइसकेको छ ।

वडाध्यक्षले आफूखुसी एक शीर्षकमा छुट्याएको रकम अन्यत्रै खर्च गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् । सो रकम दलित उत्थानमा खर्च गर्नुपर्ने माग गर्दै वडाका दलित समुदायले महानगरमा धर्ना समेत दिँदै आएका छन् । ‘हाम्रै पहलमा यहाँका अति विपन्न समुदायको लागि महानगरपालिकाले ६ लाख रूपैयाँ छुट्याएको थियो,’ स्थानीय दिनेश अछामीले भने, ‘तर, वडाध्यक्षले आफू लोकप्रिय बन्न उक्त रकम सडकमा खन्याउँदै छन्, यो हामीलाई मान्य छैन।’

महानगरपालिकाको वडा नम्बर १४ स्थित लोहाचोक बस्तीमा विपन्न अछामी समुदाय छन् । उक्त बस्तीमा ६० घरधुरी छन् भने झन्डै चार सय जनसंख्या छ । एक शीर्षकका लागि छुट्याएको रकम अन्यत्रै खर्च गर्न लाग्नु वडाध्यक्षको बदमासी रहेको स्थानीय पूर्ण अछामीले बताए । ‘यो वडाध्यक्षको मनपरी हो,’ उनले भने, ‘विपन्नका लागि आएको बजेट स्थानीयलाई नै दिएको भए राम्र्रो हुन्थ्यो ।’ उनले यसबारे आफूहरूले विरोध गर्दै आएको सुनाए ।

वडाध्यक्ष रामबाबु महतले भने उक्त रकम वडा नम्बर १५ का लागि छुट्याएको र रकम फ्रिज हुने सम्भावना देखिएकाले सडकमा खर्च गर्न लागेको सुनाए । ‘विपन्न समुदायलाई नै यात्रा गर्न सहज होस् भनेर नै उक्त रकम सडकमा खर्च गर्न लागेको हुँ,’ उनले भने, ‘यसको थोरैले विरोध गरे पनि धेरै समहत छन्, अर्को कुरा यो बजेट वडा नम्बर १४ का लागि छुट्याएको भन्ने पनि स्पष्ट छैन ।’ तर, स्थानीय भने यसमा सहमत छैनन् । वडाध्यक्षले जर्बजस्ती उक्त रकम अन्य शीर्षकमा खर्च गर्न लागेको स्थानीय श्यामराज अछामीले जानकारी दिए।

‘गरिबी निवारणमा बजेट थप्दै जानुपर्नेमा उल्टै यसमा छुट्याएको बजेट पनि दुरुपयोग भएको छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा तथा सीपमूलक तालिमका कति योजनाहरू पनि राजनीतिक नेताहरूबाटै पचाइएका छन् ।’ उनले गरिब र दलितहरूसँग आफ्नो जीवन उकास्ने अवसरहरूको कमी भएकोले पनि सहरभित्र गरिबी बढ्दै गएको बताए ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दाहाल यसबारे महानगरले हेरफेर गर्ने बताए । ‘जुन शीर्षकमा बजेट छुट्टिएको छ, त्यसमै खर्च हुनुपर्छ,’ उनले भने, ‘यसलाई हामी सल्ट्याउँछौं ।’

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App