५ वैशाख २०८१ बुधबार
अर्थ

५७ शाखा स्थापना गर्न १४ वाणिज्य बैंकसँग साझेदारी

काठमाडौं– युकेएड सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैंक शाखा स्थापना गर्ने उद्देश्यले १४ वटा वाणिज्य बैंकसँग साझेदारी गरेको हो । बिहीबार विकेन्द्रीकरणको मर्मअनुरूप देशका सबै  सात सय ५३  स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने सरकारको लक्ष्यलाई समर्थन गर्ने युकेएड तथा सक्षमको उद्देश्यअनुरूप यी साझेदारी भएका हुन्।

उक्त ५७ शाखामार्फत सक्षमको सहयोगले देशका सबैभन्दा दुर्गम स्थानीय तहमा पनि बैंकको उपस्थिति सुरु हुनेछ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सक्षमका टोली प्रमुख बलजित बोहरा तथा १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल बैकर्स संघबीच आगामी आर्थिक वर्षदेखि स्थानीय सरकारलाई सहयोग गर्न बैंक स्थापना कार्यलाई तीव्रता दिने सम्बन्धमा भएको परामर्शको उपलब्धिको रूपमा सक्षमको यो सहयोग आएको हो । सक्षमले सहायता प्रदान गरेका ५७ वटा शाखा रहेका दुर्गम स्थानहरु, प्रदेश ५ मा प्युठानको झिम्रुक र नौबहिनी, रोल्पाको सुकिदह र लुंग्री तथा कर्णाली प्रदेशमा हुम्लाको नाम्खा र ताजाकोट, डोल्पाको छार्का ताङसोङ, मुगुको मुगुम कार्मारोङ र प्रदेश ७ मा बझाङको काँडा, बाजुराको स्वामी कार्तिक र दार्जुलाको लेकाम छन् । यीमध्ये धेरै स्थानमा सडकको पहुँच छैन र पुग्नलाई घन्टौं हिँड्नुपर्छ।

‘यो सहायताको माध्यमबाट हामीले सेवा नपाएका ग्रामीण जनसंख्यासम्म बैंकिङ सेवाको पहुँच पुर्याउने, आर्थिक विकासलाई ऊर्जा दिने र स्थानीय सरकारलाई केन्द्रीय सरकारबाट रकम प्राप्त गर्न तथा स्थानीय वित्तीय व्यवस्थापनका अभिभारा पूरा गर्न सक्षम बनाउने काम गरिरहेका छौं । यसको अतिरिक्त, यी बैंक शाखाबाट सामाजिक सुरक्षा भुक्तानी पनि हुनेछन् भन्ने हामीले आशा लिएका छौं,’ सक्षमका टोली प्रमुख बोहराले भने, ‘यी शाखाहरूले ती सबै स्थानीय तहमा रहेका १० लाखभन्दा बढी व्यक्ति तथा लघु, साना तथा मझौला उद्योगलाई घरदैलोमा सम्पूर्ण बैंकिङ सेवाहरू प्राप्त गर्न पनि सहयोग गर्नेछन् ।’

कार्यक्रममा गभर्नर नेपालले केन्द्रीय बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुलाई आफ्ना शाखा विस्तार गर्न प्रेरित गरेको बताए । ‘यस किसिमका पहलहरूले बैंकहरूले वास्तवमै आफ्ना बाचा पूरा गरिरहेका छन् भन्ने पुष्टि गर्छ,’ उनले भने, ‘ देशभरका स्थानीय तहमा उपस्थिति जनाएर वर्तमान समयको आवश्यकतालाई सम्बोधन गर्न बैकिङ समुदायले पहल गरेको देख्दा हामी हर्षित छौं।’

१४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले दुर्गम स्थानमा शाखा खोल्दा विभिन्न चुनौती सामना गर्नुपरेको बताएका थिए । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका सहसचिव खत्रीले बैकहरूलाई स्थानीय तहमा जान सहजीकरण गर्न उचित सुरक्षा तथा पूर्वाधारको प्रत्याभूति अर्थ मन्त्रालयले गर्ने बताए ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App