६ वैशाख २०८१ बिहीबार
राजनीति

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

काठमाडौं – नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

कार्यक्रमा आचार्यले कांग्रेसले आफ्नो संगठन र सिद्धान्तमा पुर्ननिर्माण गर्ने बेला आएको बताए। कम्युनिष्ट विचारको जमाना नभएको सुनाउँदै उनले भने, ‘कांग्रेसले पुराना संरचना भत्काएर नयाँ जग बसाउन सक्छ। बसाउँदै पनि आएको छ। तर उसले भवन निर्माण गर्नेगरी शक्ति आर्जन गरेन। त्यसका लागि संगठन र सिद्धान्तमा पुनर्निर्माण जरुरी छ।’

कांग्रेसले आफूलाई समय र परिस्थीति पुर्ननिर्माण गर्दै अघि बढ्न नसके मुलुक र जनताले दुःख पाउन सक्ने बताउँदै आचार्यले भने, ‘कांग्रेसले आफ्नो, देश र विदेशको अजेन्डा बनाउनु जरुरी छ।’ कांग्रेस विगतको इतिहास सुन्दर रहे पनि वर्तमान र भविष्यप्रति सपना देखाउन नसकेको उनले सुनाए । प्राध्यापक खनालले कांग्रेस सांगठनिक मात्र नभएर वैचारिकसहितका धेरै कुरामा लथालिंग भएको सुनाए। त्यसका लागि पुर्ननिर्माण जरुरी रहेको औल्याउँदै खनालले भने, ‘कांग्रेसमा पुर्ननिर्माण आवश्यक छ। त्यसको मतलव अहिलेको सभापतिले नेतृत्व छाडेर अर्कोले सम्हाल्दैमा कांग्रेसमा कायापलट हुन्छ भन्ने होइन।’

राजनीतिमा उमेर समूहको कुनै अर्थ नरहने टिप्पणी गर्दै उनले भने, ‘युवा पुस्तामा विद्रोहको भाव छैन। नेतृत्व परिवर्तनले मात्रै पुनर्जागरण सम्भव छैन।’

पार्टी सदस्यता वितरण प्रक्रिया सुधार आवश्यक रहेको औल्याउँदै उनले भने, ‘मठाधीश शैलीको सदस्यता प्रणाली काम लाग्दैन।’

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले सत्ता, पद, प्रतिष्ठा छाडेर लिगेसीको राजनीति गर्न आग्रह गरे। करिष्मा र जनतासँग जोडिन सक्ने नेतृत्वको कांग्रेसमा अभावरहेको बताउँदै उनले, ‘आफू उभिएको ठाउँ पनि हराउँछ कि भन्ने त्रासमा युवा पुस्ता देखिन्छ।’

चुनाव जित्नु वा हार्नु भन्दा पनि जनतासँग कसरी जोडिएको छ भन्ने महत्वपूर्ण विषय भएको दाबी दाबी गरे। ‘पार्टीले सधै निर्वाचन जित्दैन तर हार्दा के गरिन्छ भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘कांग्रेसले आफुलाई जनतासँग कसरी जोड्छ त्यसमै आगामी दिन र्निधारण हुन्छ।’

कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले कांग्रेसभित्र विकृति र विसंगति मौलाउँदै गएको बताए। आगामी पाँच वर्ष कांग्रेसका लागि परीक्षाको घडी रहेको तर्क गर्दै यादवले भने, ‘कांग्रेसमा देश बुझ्ने नेता अहिले छैन। कांग्रेस जनतासँग टाढा भएको छ।’

संविधानसभाबाट निर्माण भएको नयाँ संविधानभित्र रहेर मुलुकका सबै समस्याको समाधान खोज्नु पर्नेमा जोड दिंदै यादवले भने, ‘संविधान जारी गरेर मात्र हुँदैन त्यसलाई जोगाउने जिम्मेवारी पनि कांग्रेससहित सबैको हो। त्यसकै माध्यमबाट मुलुकको हित र विकास सम्भव छ।’      

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App