५ वैशाख २०८१ बुधबार
खेल

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

भेरीगंगाविरुद्ध व्याटिङ गर्दै टीकापुरका खेलाडी । तस्बिर : नागरिक

सुर्खेत– वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगको उद्घाटन खेलमा टीकापुर क्रिकेट क्लब विजयी भएको छ। बिहीबारदेखि सुरु भएको प्रिमियर लिगको उद्घाटन खेलमा सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई १०९ रनले हराउँदै टीकापुर क्रिकेट क्लव विजयी भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको टीकापुरले निर्धारित १५ ओवरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। टीकापुरका लागि विजय विष्टले सर्वाधिक ३४ रन बनाए। १२ बल खेलेका विष्टले चार छक्का र एक चौका प्रहार गरे। यस्तै आयुव चन्दले १९, रवी शाहले १७ र सुसान्त कार्की ११ रनको योगदान दिए। अन्य ब्याट्समेनले दोहोरो अंक बनाउन सकेनन्। भेरीगंगाका विजय विक, मदन विक र तिलक थापाले समान दुई–दुई विकेट लिए। यस्तै लोकेन्द्र विकले एक विकेट लिए।

१४५ रनको लक्ष्य पाएको भेरीगंगा टीकापुरका अगाडि निरिह देखियो। भेरीगंगा ३५ रनमा अलआउट भयो। भेरीगंगाका लागि लोकेन्द्र विकले मात्रै दोहोरो अंक पु¥याए। १८ बल खेलेका विकले तीन चौकाको मद्दतमा १३ रन बनाए। ओपनर तिलक थापाले पाँच, रोहित विकले पाँच र विक्की विकले नटआउट चार रन बनाए। भेरीगंगालाई सस्तैमा समेट्ने क्रममा टीकापुरका रवी शाह र अनिल विकले तीन–तीन विकेट लिए। ललित प्याकुरेल र अजय विष्टले दुई–दुई विकेट लिए ।

बन्धु विकास सहकारी संस्थाको आयोजनामा भइरहेको रुस्लान कर्णाली प्रिमियर लिगमा १० टीमको सहभागिता रहेको छ। प्रतियोगितामा राष्ट्रिय स्तरका चर्चित खेलाडी विनोद भण्डारी, शक्ति गौचन, प्रदिप ऐरीलगायतको पनि सहभागिता छ। प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले दुई हजार पाँच सय र उत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट बलर र ब्याट्समेनले १०–१० हजार रुपियाँ प्रदान गरिने संयोजक रेशम शाहीले जानकारी दिए।

यस्तै बिहीबार नै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमी विजयी भएको छ। धनगढीले मध्यपश्चिमाञ्चल क्रिकेट क्लवलाई ४६ रनले हरायो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित १५ ओभरको खेलमा सात विकेट गुमाएर १५६ रन बनाएको थियो। धनगढीका लागि विपिन रावलले चार चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए। तल्लोक्रममा व्याटिङ गर्न आएका शन्तसिंह कार्कीले अविजित ३२ रन बनाए। १२ बल खेलेका उनले तीन छक्का र एक चौका प्रहार गरे। 

बलिङतर्फ मध्यपश्चिमाञ्चलका भरत थापाले तीन विकेट लगे भने सिद्धान्त शाही, आकाश बिष्ट र भिम धमलाले १–१ विकेट लिए।

जवाफी व्याटिङ गरेको मध्यपश्चिमान्चल क्रिकेट क्लवले ११० रन मात्र बनाउन सक्यो। मध्यपश्चिमाञ्चलका सुबेन्दु पाण्डेले अर्धशतक प्रहार गरे पनि टीमलाई जिताउन सकेनन्। उनले ४० बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै राजबीर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्तराज शाहीले १२ रन बनाउँदा तीन खेलाडी पहिलो बलमै आउट भए। बलिङतर्फ धनगढीका बिक्रम ठगुन्नाले तीन विकेट लिए।

प्रकाशित: ३ जेष्ठ २०७५ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App