८ वैशाख २०८१ शनिबार
कला

रिपब्लिक मिडियाको तीज

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको तिजमा रमाउँदै सहभागी महिला। तस्विर: चाँदनी हमाल

काठमाडौं-कसका लागि मनाउँछेस् तीज भन्नुहुन्छ आमा
बिहेसिहे भा’छैन नमान नमान बित्थामा ...
गायिका निशा देशारले तिजलाई निम्ता दिँदै यो गीत गाउँदा महिला समूह कम्मर मर्काउँदै नाचे ।

नेपाल रिपब्लिक मिडियाले मंगलबार आयोजना गरेको तिज विशेष कार्यक्रममा मिडियाका कर्मचारी तथा विभिन्न क्षेत्रमा आबद्ध महिलाले आपसी सद्भावसँगै दुःखसुख साटासाट गरे । देशारले ‘ह्याप्पी तीज’ ...गाउन थालेपछि कार्यक्रम रनक्क तात्यो । उपस्थित महिलाले तीज सँघारमै आइपुगेको छनक दिँदै रातो सारी र तीजको सोह्र सिंगारमा लोकभाकामा फन्को मारे ।

देशारले तीजका भाकामा ‘मारुनी’, ‘जमाना खराब छ’ र ‘लत लाग्यो’ बोलका गीत पनि प्रस्तुत गरिन् । अर्की लोकगायिका रितु कँडेलले आफ्नो तीजैमा एल्बमको ‘धोको पुर्याईदेउ,रातो सारी सरक्क सरक्क सर्काउदै र झूठो माया जाल गितमा उपस्थित महिलालाई नचाइन् । गायिका अनिता चलाउनेले पशुपति शर्मासँग गाएको यसवर्षको तिज गित गित झ्याम्मै बरिलै र अघिल्लो वर्षको तिजगित नाँचिदेउ झिल्के भनेर भाखा मिलाईन् ।
गायिका सविना कार्कीले तिजको मार्मिक गितसँगै पुरानो लयको सुमधुर तिजगितले ह्याप्पी तिजलाई थप सुमधुर बनाईन् । आफुहरुले गितमा तिजको भाकामात्र नभइ महिलाका लागि सन्देश र चेतना रहेको गायिकाहरुले बताए । मायाप्रेमसँगै महिलाले अपनाउनुपर्ने सचेतना छ मेरो गितमा अनिता चलाउनेले दाबी गरिन् ।

महिलाले आफुलाई समेत प्रेम गरेर तिज मनाउने हुँदा खुला दिलले मनाउने खालको तिजको भाखा आफुहरुले संगालेको गायिका रितु कँडेल बताउँछिन् । महिलाका लागि तिज रमाइलोसँगै केही गर्ने साहस बटुल्ने बहाना समेत भएको गायिका निशा देशारले सुनाइन् ।

कामकाजी महिलाले एकदिन भएपनि सबै कुरा विर्सेर यसरी तिज मनाउँदा आफु थप रिचार्ज भएको महसुस गर्ने नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले बताइन् । ‘चेलिबेटी जम्मा हुने शुभकामना आदानप्रदान गर्ने, सुखदुख साटासाट गर्ने हो,’ उनले भनिन् ,‘आफ्नो दैनिकीमा नारी आफैले आफैलाई विर्सेको पनि हुन्छ त्यो दिन सम्झाउने दिन पनि हो ।’

संघीय समाजवादी फोरम नेपालको तर्फबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेकी सभासद् छाँया शर्माले विकृती कम गर्दै तिज मनाउनुपर्नेमा जोड दिईन् । ‘परिवार, समाज साथीभाईसँग बसेर मनाउनु पर्छ ,’उनले थपिन ,‘तडक भडक हुनु भएन् ।’
‘पहिलेका महिला मेला बजार जान पाउँदैन थिए त्यसैले पनि तिजमै आफ्ना वर्षभरीका दुख पोख्थे,’ बबी सुवेदीले भनिन् ,‘अबको महिलाले दुख पोख्नेमात्र हैन दुखबाट बाहिर निस्कने उपाय पनि तिजकै बेला निकाल्छन् ।’

तिजको धार्मिक मिथक परिवर्तन हुँदै अहिले महिलाहरु संगठित हुने मोडमा आएको अर्की सहभागि ईन्दिरा पन्त सुनाउछिन् । उनले भनिन्,‘यसले महिलालाई अगाडी बढ्ने बाटो खुल्ला गर्छ ।’ विगतका वर्षहरुमा एकमहिनासम्म पनि तिज मनाउने चलन चलेकामा त्यो भन्दा पनि तिज उपलब्धीमुलक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिए ।

 

प्रकाशित: १५ भाद्र २०७३ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App