coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। 

जनयुद्ध गरेका दाहालले मदनपथ स्वीकारेका हुन्?

माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ? पुष्पकमल दाहालले जबजको विरुद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस्।’

माओवादीसँग मिल्नु नै थियो भने एमालेको अस्तित्व के?
नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी भने,  ‘माओवादी एमाले नै हुनु थियो भने जनयुद्धको अस्तित्व के ?’ उनी भन्छन्, ‘एमाले र माओवादी केन्द्रले निर्वाचनको बेलामा एक हुन्छौँ भनेर जनतासामु जुन प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो नैतिक हिसावले पु्रा गर्नैपर्ने थियो र उनीहरुले पुरा गरेका हुन् । यो एकताले देशमा दुई पार्टी प्रणाली लागु हुन्छ । यो देशको लागि राम्रो पक्ष हो । यसले देशको विकासमा धेरै नै सहयोग पुर्‍याउँछ। यदि यो दीर्घकालिन रुपमा भयो भने देशमा हामीले सोचेजस्तो विकास पक्कैपनि हुन्छ। 

कांग्रेस नेता केसी भन्छन्, ‘यो एकताभन्दा अगाडि जनयुद्धको विरुद्धमा बोल्दै आएको एमालेले जनयुद्धलाई समर्थन गर्नु नै थियो भने किन विरोध गर्नु । एमाले मोआवादीसँग मिल्नु नै थियो भने एमालेकोे अस्तित्व के? अनि माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के ?’
 

एकीकृत शक्तिको सदुपयोग गरुन्
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो दुई कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई बलियो बनाएको धारणा राख्दछन् । ‘लोकतन्त्रमा दल मिल्नु भनेको मजबुद हुनु हो, दल मजबुद हुनु भनेको लोकतन्त्र बलियो हुनु हो’ उनी भन्छन्, ‘यसलाई राम्रो रुपले लिनुपर्छ, एउटै लक्ष्यका साथ फरक बाटोमा हिडिरहेका दुई पार्टी एक भएका छन् यो कुरा राम्रो हो । तर ठूलो भइयो भने मेरो गोरुको बाह्रै टक्का भनेर हिड्ने हो भने त्यो राम्रो हुँदैन, त्यसको प्रतिफल राम्रो हुँदैन, पार्टीले अब राम्रोसँग इमानदारीसँग मुलुकको काम गर्न सक्नुपर्छ, ठूलो शक्ति एक ठाउँमा आएको छ । यसले मिलेर सबै समस्याको समाधान गरोस, शक्तिको सदुपयोग गरोस त्यसो भयो भने देश र लोकतन्त्रका लागि राम्रो हुन्छ।

कांग्रेसलाई कमजोर बनाउन एकता 
कांग्रेस नेता चिनकाजी श्रेष्ठको धारणा भने अलिक फरक छ  । उनी लोकतन्त्रलाई कमजोर बनाउन एमाले र माओवादी केन्द्र एकता हुन लागेको बताउँछन्। उनी भन्छन्, ‘पार्टी मिल्लु राम्रो कुरा हो, विचार मिल्ने, सिद्धान्त मिल्ने पार्टी एक हुनु राम्रो हो । यो एकता देशको विकास कै लागि हो भने त अत्यन्तै राम्रो हो । तर संविधान निर्माणका समयमा भने फरक हुने पार्टी अहिले भने सत्ताको लागि एक हुन लागेको भान हुन्छ । यदि सत्ता टिकाउने नियतले पार्टी एकता गरेको हो भने त्यो राम्रो हुँदैन्। एकतासँगै दुई पार्टी अधिनायकवाद तर्फ लम्कन लागेको भान हुन्छ । यो राम्रो कुरा होइन, काँग्रेसलाई कमजोर बनाउन पार्टी एकीकरण भएको हो । यसको उद्देश्य नै लोकतन्त्रलाई कमजोर बनाउनु हो । संविधान बनाउँदा चैँ पार्टी एक भएन अहिले आएर सत्ता चाहिएको बेलामा चैँ एक हुने यो कत्ति सम्म जायज हुन्छ ?’

एकतासँगै दम्भ नहोस्
एमाले माओवादी एकता फलदायी बनोस भन्छन्, काँग्रेस प्रवक्त विश्वप्रकाश शर्मा उनी भन्छन्, लोकतन्त्रमा विभाजन र संयोजन सामान्य हो। एमाले र माओवादी केन्द्रको एकतालाई हामीले स्वागत गरेका छौँ र शुभकामना व्यक्त गरेका छौँ, यो एकतासँगै पार्टीमा दम्भ नहोस। यसलाई सुदख रुपमा हेर्नुपर्छ र उहाँहरुले त्यसलाई दिगो बनाउन सक्नुपर्छ । यो एकता नेपालको लोकतन्त्र र विकासको लागि फलदायी हुन सकोस।’

प्रकाशित: ३ जेष्ठ २०७५ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App