coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

ओलीले के गर्नुपथ्र्याे त ?

भारतका प्रधानमन्त्री यसपालि किन नेपाल आए भनेर धेरै मानिसहरू उत्सुक थिए । भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई प्रस्ट्याइदिए । उनको लक्ष्य भारतको कर्नाटकमा हुन लागेको चुनावमा हिन्दूहरूलाई तान्न नेपालका धार्मिक स्थलहरूको भ्रमण र पूजाआजा गरेको भनिएको छ।

त्यो भन्दा पनि ठूलो उद्देश्य आगामी वर्षमा हुन लागेको आम निर्वाचनमा छिमेकी देशहरूसितको सुधारिएको सम्बन्ध देखाउने भन्ने रहेछ । यसै सिल्सिलामा उनी बंगलादेश, श्रीलंका र माल्दिभ्स पनि जाने कार्यक्रम रहेको खुलासा भएको छ । छिमेकीहरूसित बिग्रेको सम्बन्ध सुधार भएको देखाउन नेपाल जस्तो गतिलो ठाउँ अरू हुन सक्दैन।

किनभने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जस्तो निष्काम कर्मयोगी अरू मुलुकमा पाइँदैन । उनले यो कुरा बुझेर दुई देशका बीच रहेका अनेक समस्याहरूलाई थाती राखेर भारतीय प्रधानमन्त्रीलाई राम्रो स्वागत र सत्कार गरेर पठाइदिए । नेपाली जनताको सन्तोषका लागि सीमा, डुबान, भारतीय नोट, भारतीय आयोजनाको कार्यान्वयन आदि विषयमा कुरा उठाएको भनिदिए । नाकाबन्दीको कतै उच्चारण गरेको पनि सुनिएन । सुनिएला भनेर यसको उच्चारण गर्नेहरूमाथि कारबाही नै गरियो । जे भए पनि जुन लक्ष्य लिएर मोदी नेपाल आएका थिए, त्यो पूर्णतः सम्पन्न भयो । यसको मुख्य कारण हाम्रा प्रधानमन्त्री ओलीको निष्काम कर्म नै थियो।

निष्काम कर्म भन्नेबित्तिकै गीताको सम्झना आइहाल्छ । यसबारे कृष्णले अर्जुनलाई सम्झाएको व्याख्यालाई ‘हे कृष्ण’ मा भूचन्द्र वैद्यले बयान गरेका छन् । उनले भनेका छन्, ‘निष्काम कर्मको अभ्यास गर्ने साधकले बिर्सनै नहुने कुराहरू तीनवटा छन् । पहिलो कुरा, कर्मफलको चाहना र त्यसको ख्याल गर्दै रहेसम्म कर्म निष्काम हुँदैन, न कर्ता कर्मको बन्धनबाट मुक्त हुन सक्छ।

दोस्रो कुरा, साधकले कर्मफल आफ्नो नियन्त्रणमा हुँदैन भन्ने कुरा बुझेर कर्म गर्नुपर्छ अर्थात् कर्मको फल आफूले सोचे जस्तै आउन सक्छ वा सोचेभन्दा फरक खालको पनि हुन सक्छ । मनमा त्यस्तो भावना राख्न सकेपछि कर्ता कर्मफलको आसक्तिबाट मुक्त रहन सक्छ । तेस्रो कुरा हो, कसैले पनि कर्मै नगरे फलको लफडामा पर्नुपर्ने झन्झट नै रहँदैन भनी केही नगरी चुपचाप बस्ने सोच्नु हुँदैन । निष्काम कर्मको तात्पर्य निष्क्रिय भएर बस्नु भन्ने होइन ।’ निष्काम कर्मका यी सबै विशेषताहरूप्रधानमन्त्री ओलीमा देखियो।

यसमा भनिए जस्तो भारतीय प्रधानमन्त्रीको स्वागत सत्कार नगरीकन बसेनन् । नेपालीहरूलाई भारतबाट परिरहेको मर्काबारे भारतीय प्रधानमन्त्रीलाई बताइ पनि दिए । तर यसको फल के हुन्छ भनेर चिन्ता पनि गरेनन् । उनले आफ्नो कर्तव्य निर्वाह गरिदिए र यसबाट कुनै आशा पनि गरेनन् । हुन पनि नेपालीहरूलाई परेको पीरमर्काबारे भारतीय प्रधानमन्त्री मोदीको के प्रतिक्रिया आयो त्यसबारेमा कसैले उच्चारण गरेनन् र कसैले चिन्ता पनि देखाएनन् । यही निष्काम कर्म योगबाट नेपाल र भारतको सम्बन्ध अरू उच्चस्तरमा पुगेको देखियो।

भूचन्द्र वैद्यको बयानअनुसार हाम्रा प्रधानमन्त्री ओलीले निष्काम कर्मयोगको अर्को पाटो पनि सम्पन्न गरेको मान्न सकिन्छ । उनले भनेका छन्,‘‘कर्म गर्ने बेला कर्ताको मन चिन्तित र चञ्चल हुनु हुँदैन । कर्ताको मन आकुलव्याकुल भए त्यसको राम्रोसँग कर्म सम्पादन गर्नमा बाधा पुर्याउँछ । कर्म गर्ने समयमा कर्ताको मनमा ‘मैले गर्न गएको काम ठीक हो वा होइन, यसले लाभ गर्छ वा हानि पुर्याउँछ, म सफल हुन्छु वा हुन सक्दिनँ’ आदि इत्यादि तर्कना चल्दै गरे कर्ता कर्मफलको चक्करमा फस्न पुग्छ र उसको कर्ममा अवरोध खडा हुन्छ ।

परिणामको चिन्ताले कर्ताको मन र बुद्धिलाई उसले कार्य र त्यसको परिणामबीच विभक्त गरिदिन्छ, जसले गर्दा उसले कर्मको प्रक्रियामा एकाग्र भई ध्यान केन्द्रित गर्न नसक्ने हुन्छ र उसको कार्यकुशलतामा कमी आउँछ । त्यति मात्र नभई परिणामको ख्याल गर्दै कर्म गर्नाले सफलता हात परे उन्माद आउने र असफलता भोग्नु परे विषाद आउने जस्ता विषम मनस्थिति झेल्नुपर्ने स्थिति पनि आइपर्छ । त्यो भनेको मन अस्थिर हुने अवस्था हो । तसर्थ मनलाई परिणामको चिन्ताबाट पूर्ण रूपले स्वतन्त्र राखेर आफ्नो कर्म गर्नुपर्छ । आफूले गर्नुपर्ने कर्तव्य आफ्नो क्षमताले भ्याएसम्म राम्रो तरिकाले निभाउनु मेरो धर्म हो र त्यसको परिणाम मेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो भन्ने कुरा बोध गरेर स्वधर्म पालन गर्नु निष्काम कर्मको अर्थ हो ।

परिणामको आसक्ति हटेपछि उसले स्वतन्त्र मनले कर्म गर्छ र कर्म गर्ने क्रममै आनन्दको अनुभूति पनि लिँदै गर्छ ।’ प्रधानमन्त्री ओलीको जनकपुरको जानकी मन्दिरमा लगाइएको पहेँलो पोसाक, सन्तोषप्रद ओजस्वी अनुहार र आत्मविश्वासले अ‍ोतप्रोत भएको अभिव्यतिबाट माथि भनिएका निष्काम कर्मका सबै विशेषताहरू पूर्णरूपेण झल्किएको थियो ।
यस चरित्रको अरू व्याख्या गर्दै भूचन्द्र वैद्य लेख्छन्, ‘निष्काम कर्मको अर्थ कर्म गर्ने तर त्यसको फल अस्वीकार गर्ने भनेको होइन । कर्म गर्नेले त्यसको फल जस्तो आए पनि स्वीकार गर्नैपर्छ, तर कर्मको फल जेजस्तो आए पनि त्यो भगवान्को इच्छा हो भन्ने भावना उसको मनमा रहेको हुनुपर्छ।

यस्तो भएपछि कर्म फलको प्रकृतिलाई देखेर उसको मन उत्तेजित, उद्वेलित वा अस्थिर रहँदैन । यस प्रकार निष्काम कर्मको अर्थ हो— सुकर्म गर्नेतर्फ सदैव पूर्ण सचेत र जागरूक रहनु, तर सफल हुने हो वा होइन भन्ने परिणामको चिन्ताबाट मनलाई मुक्त राख्नु । त्यस्तो अवस्थामा गरिने कार्य निर्बन्ध र स्वतन्त्र मनले गरिने भएकाले त्यसको परिणामको कारणले कर्ता कुनै पनि खालको उन्माद वा विषादको बन्धनमा पर्नुपर्ने स्थिति बन्दैन । परिणामको चिन्ता र प्रभावको द्वन्द्वबाट मन मुक्त रहने भएकाले निष्काम कर्म गर्ने मानिसले कर्ममै आनन्दको अनुभूति पाइरहेको हुन्छ ।

आफ्नो कर्मको परिणाम जस्तोसुकै आए पनि उसको मन विचलित हुँदैन, किनभने उसले आफूले गरेको कर्मबाट यस्तै परिणाम आउनुपर्छ भन्ने खालको पूर्वाग्रह राखेको हुँदैन, न उसले कर्म गरेर कुनै स्वार्थ पूर्ति गर्ने अभीष्ट नै राखेको हुन्छ । सोचे जस्तो परिणाम आएको अवस्थामा उसले भगवान्को कृपा भयो भनी सन्तोष लिन्छ र सोचेभन्दा विपरीत परिणाम आएको अवस्थामा पनि भगवान्को यस्तै इच्छा रहेछ भनी धैर्य गर्छ।

तसर्थ निष्काम कर्म गर्ने साधक कर्मयोगी भई सदैव एकनासले शान्त र सन्तुष्ट रहन्छ ।’ हाम्रा प्रधानमन्त्रीले यो चरित्रलाई आत्मसात् गरेर भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई पूर्ण सफल पारिदिएका छन् । भारतको कारबाहीबाट सिमानाका नेपालीहरूलाई परेको उत्पीडन, उनीहरूको रोदन र छटपटाहट हाम्रा प्रधानमन्त्रीलाई यही कारणले कुनै प्रभाव नपारेको देखिन्छ । नेपाली जनताले निष्काम कर्मयोगी प्रधानमन्त्री पाएकामा के गर्व गर्नुपर्दैन?

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App