coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

(दास)ढुंगाबाट बालुवा(टार)

‘धनले लोभिएको युवकको करकापमा परी साठी वर्षे बूढी लौरो टेकेर पोइल गए जस्तो भयो ।’ तत्कालीन नेकपा (माले) को पूर्व रूप कोअर्डिनेसन केन्द्र (कोके) सँग एकता गर्दा मदनकुमार भण्डारीले भनेको कुरा उनकै सम्झनामा लेखिएको स्मृतिग्रन्थमा प्रकाशित छ।

भण्डारीले महिलाहरूतिर लक्षित यस्तो उखान भनेका थिए, थिएनन् । यद्यपि भण्डारीको स्तुति गाउने नाममा यस्तो कुरा पनि सगौरव लेखिएको छ । भण्डारी लगायतले नेतृत्व गरेको मुक्ति मोर्चा समूह र कोके (झापाली समूह) सहित अनेक सानातिना समूहको एकतापछि नेकपा माले बनेको थियो । नेकपा माले र मनमोहन–साहनाले नेतृत्व गरेको नेकपा माक्र्सवादीको एकतापछि एमाले बनेको हो ।

यो कुरा यहाँ उल्लेख गर्नुको पनि अर्थ छ । यतिखेर नेपालका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणको सवालमा राउन्ड टेबल वार्ता जारी छ । गएको असोज १७ गतेदेखि जारी वार्ताले अझै मूर्त रूप धारण गरिसकेको छैन । तर, गएको निर्वाचनमा गठबन्धन गरेर दुई दलले बाम मतको गणित प्रदर्शन गरिसकेका छन् । यसै मेसोमा एकताका लागि उत्साहित दलहरूमध्ये माओवादी केन्द्रको मिलन पनि भण्डारीले माथि भनेझैँ हुने हो कि संशयको घेरामा भएकैले हुन सक्छ एकतामा विलम्बका इपिसोड देखिँदै गएका छन्।

 ख्यातिका हिसाबले नेपालको राजनैतिक इतिहासमा भण्डारी मूल्याङ्कन गरिरहनु नपर्ने बिराला कोटीका नेता हुन । ०४६ साले जनान्दोलनको सफलतापछि खुला परिवेशमा देखापरेका भण्डारीको जति ख्याति अन्य नेतामा थिएन । विसं २०४७ सालदेखि २०५० सालसम्मको राजनैतिक सक्रियताले उनलाई विश्व समुदायसँग परिचित गरायो । माक्र्सवादमा आधारित नयाँ जनवादी कार्यक्रमको विकल्पमा ‘जनताको बहुदलीय जनवाद (जबज)’ कार्यक्रममार्फत उनी ख्यातिप्राप्त भए । तर, २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भण्डारी चढेको गाडी रहस्यमय ढङ्गले दुर्घटना भयो र उनीसहित एमालेका संंगठन विभाग प्रमुख जीवराज आश्रितको इहलीला समाप्त भयो । गाडी चालक अमर लामा भने बचे । २०५९ सालमा अज्ञात व्यक्तिले लामाको पनि हत्या गरिदिए ।

भण्डारीको राजनैतिक जीवन पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भ्रातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट सुरु हुन्छ । २०२९ सालमा उनी संगठनको केन्द्रीय सदस्य भए र कम्युनिस्ट पार्टीको पनि सदस्य भए । मोदनाथ प्रश्रित, जीवराज आश्रितसहितको सहयोगमा २०३३ सालमा पुष्पलालसँग विद्रोह गरे र मुक्ति मोर्चा समूह बनाए । यता झापाली समूहले २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन गरिसकेका थिए । जसलाई कोके पनि भनिन्थ्यो । मुक्ति मोर्चा समूहको २०३४ भदौ १४ गते कोकेसँग एकता भयो । यिनै दुई समूहको सक्रियतामा २०३५ पुस ११ गते नेकपा (माले) को घोषणा भयो । ०४६ सालपछि माले र मनमोहन तथा साहना प्रधान नेतृत्वको नेकपा (माक्र्सवादी) को एकीकरण भएपछि अहिलेको नेकपा (एमाले) बन्यो।

मेची अञ्चल ताप्लेजुङ जिल्लाको ढुङ्गे साँघु गाविसको ठोट्ने गाउँमा विसं २००९ असार १४ गते भण्डारीको जन्म भएको थियो । उनी २०२४ सालमा संस्कृत शिक्षा लिन भारतको वृन्दावन गए । उनले वनारसको वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्रीसम्म अध्ययन गरे । अध्ययनकै सिलसिलामा वामपन्थी राजनीतिमा आकर्षित भए । करिब १७ वर्ष भूमिगत र चार वर्ष खुला राजनैतिक जीवनयापन गरे । प्रखर वक्ताको ख्याति कमाएका भण्डारीले उसबेला ‘अरूकम्युनिस्ट पार्टी खोज्न धरहराको टुप्पो चढेर नियाल्नुपर्छ’ भनेका थिए । उनी एकमात्र यस्ता कम्युनिस्ट नेता हुन् जसले पुलिस हिरासतको अनुहार कहिल्यै देख्नुपरेन । उनको रहस्यमय मृत्य भएको २४ वर्ष बितिसकेको छ ।

संसदीय व्यवस्था र कम्युनिस्ट पार्टी

संसदीय व्यवस्था र कम्युनिस्ट पार्टीको सम्बन्धबारे धेरै बहस हँुदै आएको छ । लेनिनले भनेका छन्, ‘राजनैतिक स्वतन्त्रताले मेहनती जनतालाई तुरुन्तै गरिबीबाट मुक्त गर्दैन तर, यसले मेहनती जनतालाई गरिबी हटाउन संघर्ष गर्न एउटा हतियार दिन्छ।

’ यही सूत्रलाई आधारमान्दै संसारका कम्युनिस्टहरू संसदीय व्यवस्थाको मझेरीमा आइपुगेका हुन् । लेनिनले संसद्लाई उपयोग गर्न सकिने बताएका हुन् तर, नेपाल लगायत भारत र कतिपय देशका कम्युनिस्टहरू उल्टो संसद्बाट उपयोग हुनपुगे । अहिलेको लडाइँ पनि उपयोग हुने कि उपयोग गर्ने बीचको हो । लेनिनले अर्को प्रसंगमा भनेको ‘संसद् खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो’ भन्ने कुरा थाती रह्यो । तत्कालीन राजतन्त्र, वाम र कांग्रेसबीचको शक्ति सन्तुलनको यथार्थका लागि भण्डारीले राजनैतिक कार्यक्रम ल्याए, त्यो राजनैतिक कार्यक्रमको नाम जबज हो । यसैमेसोमा भण्डारीले नेपालको ठूलो कम्युनिस्ट पंक्तिलाई तत्कालीन परिस्थितिमा संसदीय व्यवस्थामा हेलाएका हुन् ।

राजा महेन्द्रले संसदीय व्यवस्थालाइ ‘कु’ गरेपछि यसपघि पुष्पलालले पनि विशिष्ट परिस्थितिमा ल्याएको ‘विघटित संसद्को पुनस्र्थापना’को कार्यक्रमले नेपालका कम्युनिस्टहरूलाई संसद्मा रमाउन सजिलो सिद्धान्त मिल्यो । भारतीय कम्युनिस्ट नेता साजन गुप्ताले भनेका थिए, ‘साम्यवाद भनेको राज्यको संरचना हो, माक्र्सवाद भनेको दर्शन ।’ यहाँ पनि साम्यवादमा पुग्ने नयाँ जनवादको विकल्पमा ल्याइएको जनताको बहुदलीय जनवाद पनि सिद्धान्त बनाइयो । राज्यको खाकालाई निर्देशक सिद्धान्त बनाएपछि परम्परागत कम्युनिस्ट आन्दोलन कोसौँ टाढा भयो । शास्त्रीय साम्यवादी आन्दोलनमा नभएको परिस्थिति झेल्नुपर्दा संसदीय व्यवस्थाको परम्परागत ढर्रामा अल्मलिन पुग्नु अनौठो होइन ।

जबज, संसद् र भण्डारी
‘कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौँ ।’ जबज दस्तावेजको मुख्य सार यही हो । तत्कालीन रुसी राष्ट्रपति मिखाइल गोर्भाचोभले सोभियतसत्तालाई परिवर्तन गर्न ग्लास्तनोस्त (खुलापन) र पेरेइस्त्रोइका (स्वतन्त्रता) को सिद्धान्त ल्याएका थिए ।

उनले तथाकथित सोभियत अधिनायकवादमा परिवर्तन ल्याउन खोजेका हुनसक्लान् तर यसले ठीक उल्टो परिणाम दियो । घरको निदाल फेर्न खोज्दा घरै ढल्यो । विश्व साम्यवादी रंगमञ्चमा आएको परिवर्तनसँगै भण्डारीले ल्याएको जबजको आधार यस अर्थमा अर्थपूर्ण छ ।

तत्कालीन समयमा जसरी पुष्पलालले विघटित संसद्को पुनस्र्थापनाको माग गर्न परिस्थितिगम्य थियो । तर त्यही कार्यक्रमको सिलसिलामा पुष्पलालले कांग्रेसको पुच्छर, दलाल आदि अनेकन् आरोप खेप्नुपर्यो । लेनिनले माथि भनेझैँ राजनैतिक स्वतन्त्रताले फाइदा गर्छ भन्ने विषयलाई हेरिएन र ‘गद्दार पुष्पलाल’ ट्याग फिर्ता नहुँदै उनको मृत्यु भयो । उनको मृत्युपछि त सबैले उनको उच्च मूल्यांकन गरे । पहिलो जनान्दोलनले उनको विचारलाई अनुमोदन ग¥यो।

माक्र्सवादको सृजनात्मक संस्करण जबज हो होइन बहसको विषय हो । अर्को माक्र्सवादको उप–उत्पादन मात्र हो ? प्रश्नहरू बहसमा छन् । तर जबज तत्कालीन राजनैतिक कार्यक्रमको कार्यनीतिक सवाल बोकेको विचार हो । राजतन्त्र, वाम र काङबीचको शक्ति सन्तुलनमा माक्र्सवादी विचारलाई जोगाउने जबज अनिकालको बिउ थियो । बहुमतको सरकार र अल्पमतको विपक्ष अर्को महत्वपूर्ण बुँदा जबजमा छ।

जबजमा उल्लेख छ, ‘वर्तमान राजनैतिक संघर्ष संसदीय घेराभित्र छ । कसैको मनोगत चाहनाले यो तत्काल बाहिर जान सक्तैन ।’ यसर्थ यो प्रस्तावना शास्त्रीय माक्र्सवादीहरूलाई बहुदलीय संसदीय व्यवस्थाको चौघेरामा ल्याउन सक्ने कुशल कालीगढी भण्डारीले ल्याएको उच्चतम नमुना हो । कम्युनिस्ट आन्दोलन ‘भालुको जिउ कता रौँ कता आँखिभाँै’ं भइरहेको अवस्थामा उनले ल्याएको राजनैतिक रूपरेखा एउटा मार्ग थियो । भण्डारीले भनेकै थिए एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ ।

पुष्पलालदेखि एमालेसम्म
पुष्पलालको सांस्कृतिक समूहदेखि कोके, माले हुँदै एमाले पार्टीसम्मको भण्डारीको राजनीतिक यात्रा नागबेली छ । तीनवटा महाधिवेशनसम्म माले पार्टीमा सांगठनिक घात, अन्तर्घात र राजनैतिक अस्पष्टताबाट गुज्रियो । शान्ति क्षेत्रको प्रस्तावलाई कहिले दृढ समर्थन गर्ने, कहिले आलोचनात्मक समर्थन गर्ने र २०३९ सालमा विरोध र भण्डाफोर गर्ने नीति लियो । पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताको अमूर्त नारा ल्याएर कार्यकर्ताको पाँडेपजनी गर्ने काम पनि भए । नेपाली जनताको मुख्य अन्तरविरोध कोसँग हुने खुट्याउन नसकेर बिलखबन्दमा परेको थियो।

माओ विचारधारा छोड्ने, ०४३ सालको पञ्चायती निर्वाचनमा भाग लिने, सोभियत संघ लगायत १५ देशलाई समाजवादी लालमोहर दिने, संविधानसभा खारेज गर्ने, संवैधानिक राजतन्त्रको कार्यदिशा लिने थुप्रै राजनैतिक रोमान्स मालेको दिनचर्या बन्यो । पटक–पटक अल्पमतमा परेका भण्डारीले ०४६ भदौमा भएको चौथो महाधिवेशनमा महासचिव चयन भएपछि दिग्भ्रमित मालेलाई अर्कै मोहडामा ल्याए । चौथो महाधिवेशनमै बहुदलीय जनवादलाई स्थापित गरे र पाँचौँ महाधिवेशनमा अनुमोदन गराए ।
अन्त्यमा,
भण्डारीले तत्कालीन राष्ट्रिय राजनैतिक सन्तुलनलाई सुरक्षित अवतरण गराउन मुख्य भूमिका खेलेकामा दुईमत छैन । उनको भाषामा मुठभेडबाट मुलुकलाई जोगाउन ०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरेका थिए । यद्यपि उनको यो विचार प्रक्षेपण भएको पाँच वर्षपछि नै राजनीतिको अर्को हाट सुरु भयो । ०५२ सालपछि दश वर्षको भीषण सशस्त्र विद्रोह र ०६२-०६३को दोस्रो ऐतिहासिक जनान्दोलनले राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेको छ । ०४७ सालको संविधानले मुलुकलाई मुठभेडबाट जोगाउन सकेन । अन्ततः संविधानसभामार्फत ०७२ सालमा अर्को संविधान जारी गर्नुप¥यो।

भण्डारीले व्याख्या गरेको तत्कालीन राजनैतिक शक्ति सन्तुलन यतिखेर परिवर्तन भइसकेको छ । यद्यपि भण्डारीले साम्यवादी आन्दोलनलाई अन्यत्र मोड्न खोजेको जस्तो देखिए पनि राष्ट्रियताको विषयमा उनको अडानलाई इतिहासले सदासर्वदा उच्च मूल्यांकन गर्नेछ । भावपूर्ण श्रद्धाञ्जली ।   

 

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App