७ वैशाख २०८१ शुक्रबार
राजनीति

पुष्पकमलकै निर्वाचन क्षेत्र भएकाले भरतपुरमा अतिरिक्त बजेट ल्याउन सहज भएको छः रेणु दाहाल

काठमाडौं– भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भित्रै महानगर पर्ने भएकाले अर्बौको बजेट ल्याउन सहज भएको बताएकी छन् ।

स्थानीय निकायको निर्वाचन भएको एक वर्ष पुगेको सन्दर्भमा बुधवार रेडियो नागरिकसँग बोल्दै उनले आफ्नो महानगरमा अर्बौ रकमको लगानीमा थुप्रै परियोजना थालनी गर्न सफल भएको दावी गरिन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलकी पुत्री रेणु दाहाल गत वर्ष नेपाली काङ्ग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी हुन् । अहिले माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण प्रक्रिया जारी रहेकाले नगरसभाको गणितीय राजनीतिमा एमाले सँगै रहेकाले काम गर्न सजिलो भएको दाहालले खुलेर बताइन् । 

महानगर प्रमुख दाहालले आफ्नो क्षेत्रमा सडकहरु कालोपत्रे हुन नसकेको, अस्पतालहरु व्यवस्थित गर्न नसकिएको बताइन् । पहिला प्रदेश सरकारले समयमा कानुन नदिएका कारण एक वर्षको अवधिमा देखिनेगरी कुनै काम गर्न नसकेपनि महानगरलाई सुन्दर शहर बनाउन गुरु योजना निर्माण गरिएको उनले जानकारी दिइन् ।

महानगरपालिकालाई आफ्नै स्रोतबाट चल्न सक्ने बनाउन कर प्रणालीलाई व्यवस्थित बनाईने, प्रविधिमैत्री महानगर बनाउने, अन्तर्राष्ट्रिय निकायसँगको समन्वयमा महानगरपालिकामा रहेका अस्पताल, शैक्षिक केन्द्रलाई अझै आधुनिक बनाउने दीर्घकालिन योजना रहेको उनले सुनाइन् । चुनावको बेलामा सार्वजनिक गरेको महानगर चक्रपथ योजना, नारायणी नदीको छेउछाउ हरित बेल्ट निर्माण गर्ने काम प्राथमिकतामा रहेको पनि उनले जानकारी दिइन् । दाहालसँगको अन्तर्वार्ता तलको लिंकमा सुन्नसकिन्छ ।

प्रकाशित: २ जेष्ठ २०७५ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App