८ वैशाख २०८१ शनिबार
समाज

कामीरिताको २२ औं पटकको कीर्तिमानी आरोहण

काठमाडौं – आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले आज विहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।

४८ वर्षीय शेर्पाले यसअघि २१ अौ‌ पटक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन् । २१ पटक सगरमाथाको आरोहण गर्नेमा तीन जना थिए । कामीरिता सहित अापा शेर्पा र फुर्वा टाशी शेर्पाको नाममा २१ औं पटक आरोहण गरेको विश्व कीर्तिमान थियो ।

आधार शिविरबाट आरोहण थालेको चौथो दिन उनी शिखरमा पुगेका हुन्। म‌ंगलवार मौसम प्रतिकूल भइदि‌ंदा आरोहण रोकिएको थियो। 

मौसमले साथ दिंदा अारोहीले धमाधम सगरमाथाको आरोहण गरेका छन् । सोमवार झन्डै ५० जना स्वदेशी र विदेशीले सफल आरोहण गरेका थिए भने अहिले झन्डै सय जना अनुकूल मौसमको प्रतिक्षामा रहेको आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले २४ वर्षको उमेरमा सन १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

उनी २९ सदस्यीय टोलीका साथ अमेरिकन ट्राभल कम्पनीमार्फद सगरमाथाको कीर्तिमानी २२ औं पटक आरोहण गर्न सफल भएका हुन्।

२२ औं पटक सगरमाथाको आरोहण गरेका शेर्पाले भने,“कीर्तिमान कायम गर्नु मेरो लागि ठूलो उपलब्धी हो र म ज्यादै खुसी छु तर यो मेरो आफ्नो व्यक्तिगत पेशा रहेकाले बढी उत्साहीत हुँदिन।” यस पटकको सगरमाथाको आरोहण मे पहिलो साताबाट सुरु भएको हो।

प्रकाशित: २ जेष्ठ २०७५ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App