८ वैशाख २०८१ शनिबार
समाज

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौं – भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए।

मंगलबारसम्मको तथ्यांकअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ।

निजी आवास पुनःनिर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घर पुनःनिर्माण भएको छ। पछिल्लो तथ्यांङअनुसार चार लाख ५३ हजार ६८३ घर पुनःनिर्माण भइरहेको छ। भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुनःनिर्माण भएका हुन्।

दोलखामा अहिलेसम्म २८ हजार ८०७ घर पुनःनिर्माण भइसकेको छ भने ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेका छन्। अहिलेसम्मको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घर पुननिर्माण भइरहेको भने २० हजार ९७१ घर निर्माण भइसकेका छन्।

कूल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन्।

यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ। तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन्। पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख दिने व्यवस्था गरिएको छ। रासस

प्रकाशित: २ जेष्ठ २०७५ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App