६ वैशाख २०८१ बिहीबार
कला

क्यानभासमा माडीको पर्यटन

माडीको प्रसिद्ध धार्मिक क्षेत्र गौद्धकको आठ पाटे शिव मन्दिरको चित्र बनाउँदै कलाकार योगेश खनाल । तस्विरः सविता-नागरिक

चितवन -‘सेमी मोर्डन’ चित्र बनाउने कलाकार एनबी गुरुङ यति बेला चितवनको माडी नगरपालिकामा छन् । काठमाडौं बसेर चित्रकारिता गर्दै आएका पोखराका उनी चित्र कोर्ने काम कै लागि शनिबार माडी पुगेका हुन् । पहिलो पटक माडी आएका उनलाई यहाँको भिन्न जीवनशैलीले तान्यो।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटो हुँदै माडी पुगेका उनले बाटो र पूर्वाधारको हिसाबमा विकट भएपनि प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना धेरै रहेको पाए । त्यसैले उनले माडीमै बसोबास गर्ने मगर समुदायका एक व्यक्ति र मन्दिरलाई क्यानभासमा उतार्दै छन्।

एनबीसँगै अरु १२ जना कलाकारहरू अहिले माडीमा छन् । माडीलाई चिनाउने चित्र बनाउन जुटिरहेका छन् । । पर्यटन विकास समिति माडी नगरपालिकाले ‘माडीको पर्यटन प्रबद्र्धनका लागि कलाकारहरू सँगसँगै’ विषयक आर्ट वर्कसप सञ्चालन गरेर देशका विभिन्न ठाउँमा रहेका कलाकारलाई माडीमा भित्राएको हो । वैशाख २९ देखि आयोजना गरेको पाँच दिने वर्कसप जेठ दुई गतेसम्म चल्ने छ ।माडी पुगेका कलाकारले दुई दिन लगाएर माडीका विभिन्न स्थानको अवलोकन गरेका थिए । अवलोकनका क्रममा भेटिएका माडीको पर्यटकीय क्षेत्र, पर्यटनको गतिविधी, स्थानीय जनजीविका लगायतका दृष्यलाई चित्रमा उतार्ने काम कलाकारले गरिरहेका छन् । आँखाले देखेका तथा मोबाइलमा खिचिएका दृष्यलाई दुरुस्तै कोर्नमा उनीहरू तल्लिन छन्।

चित्र कोर्न कै लागि काठमाडौं उपत्यका, पोखरा, भैरहवा, पाल्पा, संखुवासभासँगै चितवनका कलाकार खटिएका छन् । कलाकारहरू दामोदर बराल, दिनेश्वर महत्तो, राजेश बराल, तमबहादुर पुन, योगेश खनाल, भीम श्रेष्ठ, लालकाजी लामा, प्रकाश थापा, दीपेन्द्रमान बनेपाली, केशवराज खनाल, डिराम पाल्पाली, एनबी गुरुङ, डिबी राई रङ र ब्रस चलाएर क्यानभासमा माडी चिनाउने रङ भर्दैछन् ।अवलोकनका क्रममा देखिएका दृष्य र भेटिएका पात्रको संवादलाई नै चित्रका माध्यमबाट उतारिएको वर्कसपमा सहभागी कलाकार दामोदर बराल बताउँछन् । उनले माडी नगरपालिका ८ को बैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र वृहत्तर बैकुण्ठे क्षेत्रको बैकुण्ठे ताल, झरना र त्यस वरपरको प्राकृतिक दृष्यलाई चित्रमा उतारेका छन्।

कलाकार योगेश खनालले गोद्धकको आठ पाटे शिव मन्दिरको दृष्यलाई क्यानभासमा उतारेका छन् । वर्कसपमा सहभागी भएर माडी प्रबद्र्धनको लागि चित्र कोर्न पाउँदा खुशी भएका उनले भने, ‘माडीको पर्यटन विकासमा सानो भएपनि योगदान गर्न पाएको छु ।’ माडीको धार्मिक पर्यटकीय क्षेत्र वेकुण्ठे ताल, सोमेश्वर, गोद्धकसँगै माडी उपत्यकाको प्राकृतिक दृष्य, गाउँघर, दैनिक जिवनयापन, चरा लगायतलाई कलाकारहरूले क्यानभासमा उतार्दैछन् ।

कार्यशालाबाट तयार भएका चित्रले माडीलाई पर्यटन बजारमा चिनाउन सहयोग पुग्ने पयर्टन विकास समिति माडीका अध्यक्ष नारायण पौडेलले बताए । धार्मिक र कृषि पर्यटनमार्फत माडीलाई चिनाउन सकिने संभावनालाई साकार बनाउन वर्कसप गरिएको उनले बताए । माडीमा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेकाले चित्रमार्फत धेरैभन्दा धेरै मानिसलाई माडीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउन चित्र बनाइएको उनी बताउँछन्।

‘कलाकारले माडीमा देखेका कुरालाई चित्रमा उतार्दै छन्’ उनले भने ‘आम मानिसका आँखाले नदेखेका कुरालाई कलाकारिताबाट कलाकारले विश्व बजारमा पु¥याइदिन्छन् ।’ वर्कसपमा सहभागी कलाकारले एक्रेलिक माध्यममा रहेर माडीलाई जनाउने चित्र क्यानभासमा कोरेका छन् । कार्यशाला अवधिमा माडीलाई चिनाउने करिब ३० वटा चित्र तयार गरिने कलाकार बरालले जानकारी दिए ।

कार्यशाला सकिएपछि तयार गरिएको चित्र माडी नगरपालिकालाई हस्तान्तरण गरिनेछ । तयार भएका चित्र देखाएर माडी चिनाउनको लागि चित्रकला प्रर्दशनी गरिने तयारी गरिएको पर्यटन विकास समितिका अध्यक्ष नारायण बताउँछन् । चित्रहरू चितवनको माडी, भरतपुरसँगै काठमाडौंमा प्रदर्शनीमा राखिने तयारी गरिएको उनी बताउँछन् ।
 

 

प्रकाशित: २ जेष्ठ २०७५ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App