८ वैशाख २०८१ शनिबार
अर्थ

छड प्रतिकिलोको सय रुपैयाँ हाराहारी

काठमाडौं - सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । अधिकांश कम्पनीले खुद्रा व्यापारीलाई सर्कुलर पठाउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पु¥याएका छन् । असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हाराहारी थियो।

निर्माण सामग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्क्वायर पाइप जस्ता सामग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको छ । असोजयता फलामे निर्माण सामग्रीको मूल्य बढिरहेको एक खुद्रा व्यापारीले बताए । ‘६–७ महिनाको अवधिमा फलामे निर्माण सामग्रीमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि भएको छ,’ ती बिक्रेताले भने, ‘मूल्यमा मनपरी छ । भूकम्पपीडित जनताले पाएको अनुदान मूल्यवृद्धिमै जाने अवस्था आयो।’

यस अवधिमा धेरै महँगिएको निर्माण सामग्रीमा फलामे डन्डी, जस्तापाता र पाइप छन् । असोजसम्म प्रतिकेजी ७२ रुपैयाँमा पाइने फलामे डन्डीको भाउ अहिले किलोको सय रुपैयाँसम्म पुर्याइएको छ । सबैभन्दा धेरै खपत हुने डन्डीका मूल्य धेरै बढाइएको छ भने अन्य सामानमा कम्पनी अनुसार फरकफरक दरले मूल्य वृद्धि गरिएको छ । खुद्रा व्यवसायीका अनुसार असोजमा किलोको ७२–७३ रुपैयाँ पर्ने पञ्चकन्या, हिमाल, साखः जस्ता फलामे डन्डीको मूल्य सय रुपैयाँ पुर्याइएको छ । त्यसैगरी, जगदम्बा, लक्ष्मी, काठमाडौं लगायत डन्डीको प्रतिकेजी मूल्य ९५ देखि सय रुपैयाँसम्म पुगेको छ ।

मूल्य बढाइएको अर्को सामग्री जस्तापाता हो । ६ महिनाको अवधिमा प्रतिबन्डल एक हजार ६ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । असोजमा प्रतिबन्डल पाँच हजार दुई सय रुपैयाँ रहेको सादा जास्तापाताको मूल्य ६ हजार तीन सय र ६ हजार पर्ने सादा जस्तापातालाई सात हजार चार सय पु¥याइएको खुद्रा व्यवसायीले बताएका छन् । त्यसैगरी, सात हजार पर्ने रंगीन जस्तापाताको भाउ प्रतिबन्डल आठ हजार ६ सय रुपैयाँसम्म पुर्याइएको छ ।त्यसैगरी, स्क्वायर पाइपमा पनि प्रतिकेजी ३० रुपैयाँसम्म मूल्य वृद्धि गरिएको छ । असोजमा प्रतिकेजी ९२ रुपैयाँमा खुद्रा बजारमा कारोबार भएको स्क्वायर पाइप अहिले प्रतिकेजी एक सय २२ रुपैयाँ हाराहारी पर्छ ।

यो निर्माण सामग्रीको माग बढ्ने बेला हो । भदौ, असोजपछि निर्माण कार्यमा गिरावट आउँछ । अहिले भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा आवास निर्माणले गति लिएको छ । यसले फलामे डन्डी, जस्तापाता, पाइप जस्ता निर्माण सामग्रीको माग बढाएको छ । मुलुकभर निर्माण सामग्रीको माग बढेको मौका छोपेर व्यवसायीले मूल्यवृद्धि गरेको खुद्रा व्यापारीको भनाइ छ।

निर्माण सामग्री उत्पादन गर्ने प्रत्येक उद्योगले आफ्ना बिक्रेतालाई हरेक महिनाजसो मूल्य वृद्धि भएको ‘सर्कुलर’ गरिरहेका छन् । ‘हरेक महिना नयाँ मूल्य सूची आउँछ,’ निर्माण सामग्री बिक्रेता एक व्यवसायीले भने, ‘उद्योगबाटै मूल्य बढेर आएपछि हामी पनि बढाएर बेच्न बाध्य छौं ।’

सबैजसो कम्पनीले मूल्य बढाए पनि औपचारिक रुपमा जानकारी दिइएको छैन । उपभोक्तालाई जानकारीबिना बढेको मूल्यमा सामान किन्न बाध्य पारिएको खुद्रा व्यवसायी बताउँछन् ।मूल्य वृद्धिको सबैभन्दा धेरै मारमा भूकम्पपीडित परेका छन् । सरकारले दिएको तीन लाख अनुदान हिसाब गरेर घर बनाइरहेका भूकम्पपीडित ६ महिनाको अवधिमै ३० प्रतिशतसम्म अतिरिक्त रकम तिर्न बाध्य भएका छन् । ‘भूकम्पपीडितले पाएको तीन लाख अनुदान मूल्य वृद्धिको रकम तिर्दै जाने अवस्था आएको छ,’ खुद्रा व्यवसायी भन्छन्, ‘केही रकम जम्मा गरेर घर बनाउन सुरु गरेका धेरै मारमा परे ।’

फलामे सामानको मूल्यवृद्धिको विषयमा बुझ्न खोज्दा नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष साहिल अग्रवालसँग सम्पर्क हुन सकेन् । उद्योगहरूले भने विदेशबाट आउने कच्चा पदार्थ महँगो भएको र डलरको भाउ बढेकाले मूल्य वृद्धि गर्नुपरेको बताएको खुद्रा व्यवसायीको भनाइ छ । बजारमा व्यापक रुपम मूल्य वृद्धि भइरहे पनि सरकारी निकाय भने मौन छन् ।

राज्यको कुनै पनि निकायले बजार अनुगमन गरेर मूल्य वृद्धि नियन्त्रण नगरेको उपभोक्ताको गुनासो छ । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सानातिना खुद्रा पसल अनुगमन गरेर चर्को प्रचारबाजी गरिरहे पनि अर्बौं रुपैयाँको कारोबार हुने निर्माण सामग्रीमा उसको ध्यान पुगेको देखिएको छैन।

मुलुकमा विगत एक वर्षदेखि राजनीतिक स्थिरतासँगै औद्योगिक वातावरण सहज बन्दै गएको निजी क्षेत्रले बताउँदै आएका छन् । लामो समय लोडसेडिङको चपेटामा परेका औद्योगिक क्षेत्रमा विगत ढेड वर्षदेखि तीन घन्टामा झरेको थियो । यसले उत्पादनमा सहज भएको उद्योगी स्वयंले बताएका थिए । आइतबारदेखि उद्योगहरु पनि लोडसेडिङमुक्त भएका छन् । योसँगै औद्योगिक उत्पादन बढ्ने र प्रतिस्पर्धा पनि बढ्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App