८ वैशाख २०८१ शनिबार
समाज

सिपाडोलका घरघरमा पानी

भक्तपुर-काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार मच्चिरहेका बेला भक्तपुर जगाती सिपाडोलका स्थानीयले घरघरमा पानीको व्यवस्था मिलाएका छन्। सरकारको मुख नताकी स्थानीयले आफ्नै पहलमा पानीको बन्दोबस्त मिलाएर घरघरमा धारा जडान थालेका हुन्।

जगाती खानेपानी तथा टोल सुधार समितिका अध्यक्ष तुल्सीनारायण लाखेमरुले पाँच वर्षको अथक प्रयासपछि घरघरमा पानी ल्याउन सफल भएको बताए । ‘सरकारको मुख नताकी हामीले स्थानीयको पहलमा यो सफलता पाएका हौं,’ अध्यक्ष लाखेमरुले नागरिकसँग भने, ‘अब यो ठाउँ खानेपानीका लागि स्वर्गजस्तै भएको छ ।’

खानेपानीका लागि स्थानीयले साविकको सिपाडोल गाविस–७ (हालको सूर्यविनायक नगरपालिका–८) दिगाउँ उत्तीसघारीमा रहेको पानीको स्रोत उपयोग गरेका छन् । त्यहाँको पानी पाइपबाट सूर्यविनायक नगरपालिका–८ नौतेमा ४५ हजार लिटरको ठूलो ट्यांकी राखी पानी भण्डारण गर्ने व्यवस्था मिलाएका छन्। त्यही ट्यांकीबाट घरघर पानी पु¥याउन पाइप समेत बिछ्याइसकेका छन् ।

जगाती खानेपानी तथा टोल सुधार समितिका उपाध्यक्ष भुवन थापाले पाइपबाट घरघरमा खानेपानीका धारा जडान सुरु भएको सुनाए । ‘पहिलो चरणमा सूर्यविनायक नगरपालिकाका ७ र ८ नं वडाका १ सय २८ वटा घरमा धारा जडान गर्ने योजना छ,’ उनले भने, ‘माग अनुसार हामी धारा जडान गरिदिन्छौं ।’

धारा जडान गर्न समितिले प्रति घर ३० हजार रुपैयाँ शुल्क उठाएका छन् । समितिले अग्रिम शुल्क बुझाइसकेका उपभोक्तालाई पहिलो प्राथमिकता दिइ धारा जडान थालेको छ । अरनिको राजमार्गको सूर्यविनायकदेखि जगातीसम्म एक किलोमिटर दक्षिणमा पर्ने दुई वडाबाहेक भक्तपुर नगरपालिका अन्य ठाउँलाई भने यो पानी वितरण नगरिने समितिले जनाएको छ ।

स्थानीयले पाँच वर्षयता घरघरबाट रकम संकलन गरी योजना थालेका थिए । यसअन्तर्गत गतवर्ष सात वटा सार्वजनिक धारा जडान गरिएको थियो । सार्वजनिक धारामार्फत् पानी पाइरहेका स्थानीयले अब घरघरमै पानीको सुविधा पाएका हुन् ।

स्थानीय राजाराम ख्याजूले पानीको हाहाकार भएको सहरमा घरघरमै पानी आउने धारा पाउन थालेकोमा प्रसन्नता व्यक्त गरे । उनले भने, ‘घरैमा पानी पाउँदा हामीलाई कति आनन्द लागेको छ, शब्दमा बताउन सक्दिँन ।’ उनका अनुसार यसअघि स्थानीयले ३÷४ किलोमिटर टाढा गई पानी ल्याउनुपथ्र्याे । गत वर्ष सार्वजनिक धारा जडान गरेपछि पानीको समस्याको सहज समाधान पाएका उनीहरूले अहिले घरैमा पानी पाउने भएका छन् ।

भक्तपुरमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ६ मध्ये पुराना दुई नगरपालिका क्षेत्रमा मात्रै  खानेपानी आंशिक वितरण गर्न सकेको छ। केयुकेएलले थपिएका सूर्यविनायकसहित ४ वटा नगरपालिकामा पानी वितरण गर्न सकेको छैन।

प्रकाशित: १५ भाद्र २०७३ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App