coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तमलोपामा ब्राह्मण–गैरब्राह्मण विवाद

काठमाडौं-राज्यका निकाय समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनमा होमिएको तराई–मधेस लोकतान्त्रिक पार्टीभित्रै वर्गीय विभेदले विवाद चुलिएको छ।

अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिमा तराई–मधेसका ब्राह्मण समुदायलाई प्राथमिकतामा राखी केन्द्रीय सदस्य तथा पदाधिकारी चयन गरेपछि गैरब्राह्मणले विरोध जनाएका छन् । पार्टीभित्र उब्जिएको ब्राह्मण–गैरब्राह्मण तनाबकै कारण तीन महिनासम्म पनि केन्द्रीय समिति टुंगिन सकेको थिएन ।

ठाकुरले हाल विस्तार गरेको समितिमा जनसंख्याको सबैभन्दा ठूलो हिस्सा समेट्ने थारू, मुस्लिम र दलित अटाउन सकेका छैनन् । १३ जना पदाधिकारी चयन गर्दा ती समुदायबाट प्रतिनिधित्व नगराएका अध्यक्ष ठाकुरले ब्राह्मण भने चार जना समेटेका छन् । ‘समावेशी र समानुपातिक भएन भनेर राज्यका विरुद्ध लड्ने तर आफ्नै संगठन निर्माणमा भने त्यसलाई उपेक्षा गर्ने ? राज्यले दिएजति अधिकार पनि पार्टीमा दिइएन,’ केन्द्रीय सदस्य सुरेश मण्डलले भने । उनका अनुसार पार्टीमा समावेशी र समानुपातिक सिद्धान्तअनुसार संगठन निर्माण नगर्दा असन्तुष्टि बढेको छ ।

अध्यक्ष ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्षद्वय वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला, सहमहामन्त्रीत्रय जयप्रकाश ठाकुर, पशुपति दयाल मिश्र र राकेश मिश्र ब्राह्मण समुदायका हुन् । यसैगरी १३ पदाधिकारीमध्ये सह–कोषाध्यक्ष कवीन्द्रनाथ ठाकुर र सहप्रवक्ता कृष्णा सिंह पनि उच्च भनिने समुदायकै हुन् ।

तराईका जिल्लामा बढीमा १ लाख ५० हजार ब्राह्मण छन् तर तराई–मधेसका नाउँमा सेवासुविधा पनि उनीहरूले नै बढी लिँदै आएको तमलोपाका नेता बताउँछन् । ‘डेढ लाख जनसंख्या भएका बाहुन केन्द्रीय समितिमा २० जना छन् तर १० लाख जनसंख्या भएका मुसलमान एकै जनालाई पदाधिकारीमा ल्याइएन,’ असन्तुष्ट एक मुसलमान नेताले नागरिकसँग भने । उनका अनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र प्रतिनिधित्व गराउनुपर्ने भनिए पनि तमलोपामा त्यसको ठाडै उल्लंघन भइरहेको छ ।

यसअघि महामन्त्री बनेका जितेन्द्र सोनाललाई अध्यक्ष ठाकुरले पहिलो चरणमा फेरि उक्त जिम्मेवारी दिन चाहेनन्, केन्द्रीय समितिमा सीमित गरियो । तर, सोनाललाई जिम्मेवारी नदिएको भन्दै देशैभरबाट असन्तुष्टि आएपछि सोमबार उनलाई महामन्त्री बनाइएको छ । ‘पहिलो चरणमा नपरे पनि सोमबार मलाई पुरानै जिम्मेवारी दिइएको छ, पार्टीले मूल्यांकन गरेजस्तो लाग्छ,’ सोनालले नागरिकसँग भने ।

थारू, मुसलमान, दलित मात्रै होइन, अन्य सबै तराई–मधेसकेन्द्रित पार्टीले पहाडे समुदायलाई स्थान दिएका छन् । तमलोपा मात्रै एउटा यस्तो पार्टी हो, जहाँ पहाडे समुदायको एकै व्यक्ति केन्द्रीय समिति लगिएको छैन । जबकि राजेन्द्र महतो, उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीमा पहाडे समुदायलाई समेत पदाधिकारी बनाइएको छ ।

फोरम लोकतान्त्रिक गाउँ जाने

काठमाडौं, भदौ १५ (नागरिक)– पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने भनेर चर्चामा आएको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अब गाउँकेन्द्रित हुने भएको छ ।

अध्यक्ष गच्छदारले काठमाडौंमा केन्द्रित सांसद र केन्द्रीय सदस्यलाई भदौ २० गतेबाट तराई–मधेसका गाउँ पस्न निर्देशन दिएका छन् ।

भदौ १० गते बसेको राजनीतिक समिति बैठकको निर्णायानुसार अध्यक्ष गच्छदारले पार्टीलाई भूगोलमा केन्द्रित गराउन निर्देशन दिएको प्रमुख सचेतक योगेन्द्र चौधरीले बताए । ‘हाम्रो पार्टीलाई मधेसविरोधी भनेर निकै प्रचार गरिएको छ, त्यसलाई चिर्नलाई काठमाडौं छाड्दै छौं,’ उनले नागरिकसँग भने, ‘मधेस र मधेसी जनताका पक्षमा पार्टीले खेलेको भूमिकाबारे जनतालाई बुझाउनेछौं ।’ उनका अनुसार भूगोलकेन्द्रित कार्यक्रम सफलतामा पुर्‍याउन अध्यक्ष गच्छदारले सबै सांसद र केन्द्रीय समिति सदस्यलाई निर्देशन दिएका हुन्।   

प्रकाशित: १५ भाद्र २०७३ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App