८ वैशाख २०८१ शनिबार
राजनीति

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

काठमाडाें- सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ। 

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो। 

यसअघि एकाधिकार हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नाका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो। 

सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो। 

बैठकले बैंक खाता रोक्का गरिएका ती समितिबाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने र उक्त समितिहरुमा के कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ। 

प्रकाशित: १ जेष्ठ २०७५ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App