दाङ – तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन गर्नेसम्बन्धी कार्यविधि २०७५ लगायतका ऐन तथा कार्यविधिहरु पारित गरेको हो।
कार्यपालिकाको बैठकले सामुदायिक र संस्थागत विद्यालयको कक्षा थप र स्थानान्तरणका लागि प्राप्त निवेदनउपर छलफल गरेर शिक्षा शाखा तुलसीपुरले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित सदर गरेको छ ।
प्रतिवेदनमा थप एक कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयले वडा कार्यालयको सिफारिस, नजिकको विद्यालयको सहमति र भौतिक पूर्वाधारको विवरण पेश गर्नुपर्ने उल्लेख छ। माथिल्लो कक्षा माग गरेर त्योभन्दा पनि माथिल्लो कक्षा सञ्चालन गरेका विद्यालयलाई कार्यविधिमा उल्लेख गरेबमोजिम कारवाही गरेर कक्षा बन्द गर्न निर्देशन दिनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा भौतिक पूर्वाधार तथा विद्यार्थी सख्ंया न्यून रहेका कतिपय संस्थागत विद्यालयलाई अनुमति नदिने तथा आगामी आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर असुल गर्ने निर्णयसमेत गरेको छ। अब साउन १ गतेदेखि वडाबाटै एकीकृत सम्पत्ति कर असुल गर्ने बाटो खुलेको छ।
कार्यपालिकाको बैठकले तुलसीपुरमा तरकारी र फलफूलको जग्गा व्यवस्थापनका लागि आह्वान गर्ने निर्णय गरेको छ। कालोपत्रले छोएको र १० कट्ठासम्म भएको बजार क्षेत्रभित्रको जग्गा खोज्नका लागि पहल गर्ने निर्णय गरेको हो। बैठकले जेठ ७ गतेका दिन नगरसभाको बैठकसमेत तोकेको उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले जानकारी दिए। रासस
प्रकाशित: १ जेष्ठ २०७५ ०७:१८ मंगलबार