८ वैशाख २०८१ शनिबार
समाज

फेसबुकले पुर्यायो ‘कोठी’

कोहलपुर- राप्तीसोनारीकी १९ वर्षीया युवतीलाई सुनील नाम गरेका व्यक्तिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच कुराकानी सुरु भयो । मोबाइल नम्बर आदानप्रदान भयो । कुरा गर्दै जाँदा उनीहरुले कोहलपुरमा भेट गर्ने योजना बनाए । सुनीलले ती युवतीलाई बिहे गर्ने आश्वासन दिए । ती युवतीले आफ्नो बिहे भएको र साथमा चार वर्षीय छोरो रहेको बताइन् । त्यसले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया सुनीलबाट आयो ।

ती युवीको चार वर्षपहिले बिहे भएको थियो । १५ वर्षको उमेरमै बिहे गरेकी उनलाई छोरो जन्मने बेला श्रीमान्ले छाडे । ‘सधैं रक्सी खाएर कुटपिट गर्ने गरेपछि म पनि आजित भइसकेकी थिएँ,’ ती युवतीले भनिन् । श्रीमान्ले छाडेपछि उनी माइतीमा बस्न थालिन् ।

छोराको अभिभावक र आफ्नो सारथि बन्ला भन्ने आशमा उनले सुनीलको प्रस्ताव स्विकारिन् । चार महिनाको फेसबुके कुराकानीपछि उनी सुनीलसँग भाग्न राजी भइन् । मौकाको फाइदा उठाउँदै सुनीलले रुपैडिया बोर्डर कटाए अनि भारतीय यौनबजारको कोठीमा पु¥याए । आँखा चिम्लेर विश्वास गरेको मान्छेले ‘कोठी’ मा पु¥याउला भन्ने उनले कल्पनै गरेकी थिइनन् ।
बोर्डर कटाइसकेपछि सुनीलले आफ्नो साथीको कोठामा बस्ने भन्दै दिल्लीस्थित रमेश ठाकुरको कोठामा लगे अनि बहाना बनाउँदै बाहिरिए । रमेशले ‘सुनीलले तँलाई बेचिसकेको’ भनेपछि उनी छाँगाबाट खसिन् । उनको आँखामा कालो बादल मडारियो । नसोचेको धोका पाउँदा रुनुबाहेक विकल्प थिएन उनीसँग ।

त्यहाँबाट उनलाई एक महिनासम्म ‘प्राइभेट’ (निश्चित ग्राहक) कहाँ पठाइयो । रमेशले उनलाई जबर्जस्ती लठ्याउने औषधि खुवाउँथे, जुन औषधिले एक हप्तासम्म एकोहोरो बनाउँथ्यो । ‘लठ्याउने औषधि भन्ने थाहा पाएपछि त्यसपछिका दिनमा मैले खान्छु भनेर फाल्दिन थालें,’ उनले भनिन्, ‘उनीहरुको मन जित्नलाई जे भने त्यही मानें ।’

महिना दिनपछि उनलाई दिल्ली जिबिरोडस्थित कोठी नं. ६४ पुर्याइयो । उनको दुःख झन् बढ्यो । दिनमै १५ देखि ३० जनासम्म ग्राहक आउँथे । पहिलेपहिले चिच्याइन्, कराइन् तर सुन्ने कोही थिएन । पछिपछि उनले ग्राहकसँग राम्रो व्यवहार गर्न थालिन् । उनीहरुलाई फकाउन थालिन् । यस्तैमा एउटा ग्राहकसँग उनले फोन मागिन् । बुवाको नम्बर याद भएकाले उनले सबैभन्दा पहिला बुवालाई फोन गरिन् र आफ्नो अवस्थाबारे जानकारी दिइन् । चार महिनादेखि हराएकी छोरीले कोठीमा छु भनेर फोन गर्दा बुवाका आँसु रोकिएनन् ।

त्यसपछि ती युवतीका बुवाले मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थामा निवेदन दिए । लगत्तै भारतस्थित नेपाली दूतावासमा जानकारी गराएर केआई नेपालले भारतीय प्रहरीको सहयोगमा उनलाई कोठीबाट उद्धार ग¥यो । उद्धारपछि दिल्लीबाट काठमाडौं हुँदै शनिबार उनी घर आइपुगिन् । ‘त्यो कालकोठरीबाट फुत्किन सफल भएँ,’ उनले भनिन्, ‘म फर्कन्छु भन्ने लागेको थिएन, भाग्यले साथ दियो ।’ आफ्नो पुनर्जन्म भएको महसुस भएको उनले बताइन् ।

पछिल्लो समय प्रविधिको विकाससँगसँगै दुरुपयोग पनि बढ्दा भएको दुर्घटनाको एउटा उदाहरण हो यो । केआई नेपाल बाँके इन्चार्ज अपना भट्टले प्रविधिको विकाससँगै मानव बेचबिखनका घटना बढ्दै गएको बताइन् । प्रविधिको सदुपयोगभन्दा पनि दुरुपयोग गर्दा परिपक्व भइनसकेका महिला यसको सिकार बन्ने गरेको उनको भनाइ छ । ‘अहिले ग्रामीण भेगका महिला प्रविधिको सहज पहुँचमा छन्, जसकारण मानव तस्करहरु एक ठाउँमा बसेर योजना बनाउँछन् र सामाजिक सञ्जालको माध्यमबाट आफ्नो जालमा पार्छन्’, उनले भनिन् । यसरी बेचबिखनको सिकार हुनेमा बढीजसो विपन्न वर्गका महिला हुने गरेको उनले बताइन् । उनका अनुसार कतिपयलाई विवाह गर्छु भनेर त कतिपयलाई जागिरको लोभमा मानव तस्करले फसाउने गरेका छन् ।

मानव तस्करहरूले बेचबिखन गर्ने उद्देश्य राखेर विभिन्न प्रलोभनमा पारी भारतीय नागरिकसँग विवाहसमेत गरिदिन्छन् । चैत ११ गते कोहलपुरकी १४ वर्षीया किशोरीलाई भारतीय नागरिकसँग विवाह गरेर लैजाने तयारी हुँदै थियो । ती किशोरीले अभिभावकलाई जानकारी गराएपछि भने प्रहरी तस्करहरुलाई पक्राउ गर्न सफल भयो ।

किशोरीहरु वैदेशिक रोजगारीको प्रलोभनमा समेत बेचिने गरेका छन् । भारतको सीमावर्ती क्षेत्रबाट दिल्ली पु¥याई विभिन्न मुलुकमा किशोरी ‘सप्लाई’ हुने गरेको प्रहरीले जनाएको छ । मानव तस्करले नेपालगन्ज–रुपैडिहा नाका बढी प्रयोग गर्ने गरेका छन् । ‘हिजोआज मोटरसाइकलमा समेत बोर्डर कटाइन्छ,’ केआई नेपालकी भट्टले भनिन्, ‘गाडी, रिक्सामा समेत चेकजाँच गर्न गाह्रो हुन्छ, मोटरसाइकलमा चेकजाँच गर्न अझ गाह्रो हुन्छ ।’

पहिले अशिक्षा, चेतनाको कमीले बेचबिखन बढेको भनिए पनि हिजोआज शिक्षित पनि मानव बेचबिखनको जालमा पर्ने गरेका छन् । छिटो धनी बन्ने चाहनाले पनि यस्तो समस्या आउने गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । उनले कोहलपुर क्षेत्र संवेदशील भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिरहेको दाबी गरे । उनले आपराधिक गिरोहसँग बच्न सामाजिक सञ्जालमा अपरिचित मानिससँग टाढै रहन सुझाए ।

प्रकाशित: १ जेष्ठ २०७५ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App