७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी अविश्वास बढ्दै जाँदा एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरूप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ।

माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराइएको गुनासो गर्न थालेका छन् । माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचिव सुरुवादेखि बजेट निर्माण प्रक्रियामा आफूहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्त गर्न थालेका छन्।

पछिल्ला गतिविधिले एकीकरण प्रक्रियालाई अझै पछि धकेलेको एमाले र माओवादी केन्द्रका नेताहरुको बुझाइ छ । ‘दुई पक्षबीच चिसोपन बरण एकीकरण प्रक्रिया अहिले स्थगनमा छ,’ माओवादी केन्द्रका हेडक्र्वाटर सदस्य मणि थापाले भने, ‘सरकार सञ्चालन र अन्य विषयमा राम्ररी सल्लाह हुन सकेको छैन । त्यसले अविश्वास बढाएको छ ।’

एमाले नेताहरु भने नकारात्मक कुरा बाहिर ल्याउँदा अविश्वास बढेको बताउँछन् । ‘सरकार सञ्चालन जटिल प्रक्रिया हो । एकै दलका सरकार हुँदा त समस्या हुन्छ । अहिले दुई पार्टीको सरकार छ,’ एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले भने, ‘कुनै समस्या भए मन्त्रिपरिषद् बैठकमा वा प्रधानमन्त्रीसँग कुराकानी गरेर समाधान गर्नुपर्छ । माओवादी केन्द्रका नेता र मन्त्रीहरुका पछिल्ला अभिव्यक्तिले दुई दलबीच चिसोपन बढाएको छ।’

पार्टी एकीकरणबारे एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच हुँदै आएको छलफल केही दिनदेखि पातलिएको छ । ‘पछिल्लो समयमा एकीकरणबारे दुवै अध्यक्षहरुबीच गम्भीरतापूर्वक छलफल अघि बढ्न सकेको छैन,’ माओवादी केन्द्रका नेता थापाले भने, ‘दुई सातादेखि छलफल नै हुन सकेको छैन ।’ निरन्तर छलफल नहुनुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई कारण देखाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वैशाख २६ गते भेटघाट भए पनि एकीकरणका विषयमा खासै छलफल नभएको थापाले बताए ।

 माओवादी केन्द्रका नेता र मन्त्रीहरुका पछिल्ला अभिव्यक्तिले दुई दलबीच चिसोपन बढाएको छ रघुजी पन्त, नेता एमाले

एमाले नेता पन्तले एकीकृत पार्टीमा नेतृत्वको अनुपात र नेताहरुको व्यवस्थापनको विषयमा सहमति जट्न नसक्दा समस्या आएको बताए । ‘माओवादी नेताहरुले भनेजस्तो बराबरी अनुपात एमालेका नेताकार्यकर्तालाई स्वीकार्य छैन,’ पन्तले भने, ‘अहिलेसम्मका छलफल दुवै जना अध्यक्षबीच मात्रै भइरहेको छ ।’ पन्तले यस प्रक्रियामा दुवै अध्यक्षबाहेक अन्यलाई सहभागी नभएका कारण मुख्य कुरा बाहिर आइसकेको बताए।

पार्टीको संगठन संरचना र वैचारिक विषयमा सुझाव दिन गठित कार्यदलहरुले केही विषयमा बाहेक सहमतिका साथ सुझाव दिएका छन् । माओवादीले एकीकरण बराबरीको हैसियतमा मात्रै हुने स्पष्ट पारिसकेको छ । यसमा एमाले सहमत छ । ‘नेतृत्व व्यवस्थापनमा अझै सहमति भइसकेको छैन,’ पन्तले भने, ‘एकीकरणअघि यो विषय टुंगो लगाउनैपर्छ।’दुई पार्टीबीचको अविश्वास सामेबारको प्रतिनिधिसभा बैठकमा समेत देखिन्थ्यो।

दुवै दलका सांसदहरुले अर्को एकअर्काले सम्मालेका मन्त्रालयमा भइरहेका गतिविधिको आलोचना गरेका थिए । एमाले सांसदहरुले संसद्मा मुलुकमा शान्तिसुरक्षा कमजोर भएको भन्दै आलोचना गरे भने माओवादी केन्द्रका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा कूटनीतिक कमजोरी भएको भन्दै परराष्ट्र मन्त्रालयको आलोचना गरे।

माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले भारतीय सेना नेपाल आउनबाट रोक्न नसकेको भन्दै आलोचना गरिन् । एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ र महेश बस्नेतले मध्यपुरका मेयर मदनसुन्दरमाथिका आक्रमणकारी पक्राउ गर्न नसकेको भन्दै आलोचना गरे । बस्नेत र श्रेष्ठ दुवै एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् ।असोज १७ गते पार्टी एकीकरण घोषणा गरेका एमाले र माओवादी केन्द्रले एकअर्काको आलोचना नगर्ने विषयमा लिखित सहमति गरेका थिए ।

 

प्रकाशित: १ जेष्ठ २०७५ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App