८ वैशाख २०८१ शनिबार
खेल

‘सिटीको उपलब्धि अदभुत’

साउथह्यामटन – साउथह्यामटनलाई १–० ले पराजित गर्दै म्याचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा १ सय अंक जोड्दै सिजनको अन्त्य गर्ने पहिलो टोली बनेसँगै प्रशिक्षक पेप ग्वार्डिओलाले त्यसलाई अद्भुतको संज्ञा दिएका छन्।

एक महिनाअघि नै प्रिमियर लिगको उपाधि जित्ने पक्का गरिसकेको सिटीले लिगको अन्तिम दिन अर्को महत्वपूर्ण उपलब्धि हात पार्दै सिजनको सुखद अन्त्य गरेको हो ।

इन्जुरी समयको चौथो मिनेटमा ग्याब्रियल जिजसले केभिन डी बु्रयनाको पासमा गरेको गोल सिटीको जितमा पर्याप्त बन्यो।

‘१०० अंक । यो अद्भुत उपलब्धि हो । यो खुसी वर्णन गर्ने मसँग कुनै शब्द छैन,’ ग्वार्डिओलाले भने, ‘यो क्लबका लागि ठूलो उपलब्धि हो जुन लामो समयसम्म कायम रहिरहन्छ । म यो उपलब्धिको श्रेय सम्पूर्ण टोली सदस्य र क्लब व्यवस्थापनलाई दिन चाहन्छु । हामीले लिगको उपाधि भित्र्याइसके पनि अन्तिम खेलसम्म स्वाभाविक लयको प्रदर्शनलाई निरन्तरता दियौं।’

सिटीले ३८ खेलमा १ सय अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले ८१ अंक जोड्यो । जुन सिटीको भन्दा १९ अंक कम हो । यससँगै सिटी इङ्लिस प्रिमियर लिग इतिहासमा सर्वाधिक अंकदूरी बनाउँदै शीर्ष स्थान पक्का गर्ने पहिलो टोलीसमेत बन्यो । ७७ अंकका साथ टोटेनह्याम तेस्रो, ७५ अंकका साथ लिभरपुल चौथो तथा ७० अंकका साथ चेल्सी पाँचांै र ६३ अंकका साथ आर्सनल छैटाैं स्थानमा बस्दै सिजनको अन्त्य गरे।

त्यस्तै आइतबारै सम्पन्न अर्को खेलमा स्वान्सी सिटीले स्टोक सिटीसँग १–० को हार बेहोरेसँगै साउथह्यमटनका लागि प्रिमियर लिग हैसियत जोगाउन महत्वपूर्ण नतिजा बन्यो ।

चेल्सीलाई शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट सम्भावना जीवित राख्न न्युक्यासल युनाइटेडमाथि निश्चित जितका साथै लिभरपुलले ब्राइटनसँग पराजित भएको कामना गर्नुपर्ने थियो । तर चेल्सीले न्युक्यासल युनाइटेडलाई ३–० को नतिजा सुम्पिनु र लिभरपुलले ब्राइटनलाई ४–० ले हराएसँगै चेल्सी पाँचाैं स्थानमा बस्दै सिजनको अन्त्य गर्न बाध्य भएको थियो।

त्यस्तै टोटेनह्यामले लेस्टर सिटीलाई ५–४ ले पराजित गर्दै तेस्रो स्थान पक्का गर्याे। प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न अन्य खेलमा आर्सनलले हडर्सफिल्डलाई १–० र वेस्ट ह्यामलाई ३–१ ले पराजित गर्याे।

प्रकाशित: १ जेष्ठ २०७५ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App