४ वैशाख २०८१ मंगलबार
खेल

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

तस्बिरः महेश्वर/नागरिक

उदयपुर – मोरङ ११ लाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै थी स्टार उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

गाईघाटस्थित थरुहट–उदयपुर रंगशालामा जारी प्रतियोगितामा सोमबार खेल सुरु भएको ३४औं मिनटमा थ्री स्टारका दक्षिण अफ्रिकन खेलाडी अजय मार्टिनले पहिलो गोल गरेर आफ्नो टिमलाई अगाडि बढाएका थिए।

मध्यान्तरअघि मार्टिनको मात्र गोल भएको खेलमा मध्यान्तरपछि भने भटाभट ३ गोल भयो । खेलको ५७औं मिनटमा मार्टिनकै अर्काे प्रहार गोलमा परिणत हुन पुग्यो । थ्री स्टारकै अर्का खेलाडी अनन्त तामाङले ८२औं मिनटमा तेस्रो गोल थपे भने ८७औं मिनटमा अर्का खेलाडी रूपेश केसीको प्रहारले जाली चुम्न सफल भयो।

मैदान प्रवेशसँगै आक्रामक देखिएको थ्री स्टारले सुरुदेखि नै मोरङलाई दबाबमा राख्न खोजेको थियो । ३ गोल खाइसके पछि पनि अन्तिम प्रयासमा रहेको मोरङको तर्फबाट अफ्रिकी खेलाडी यमवालाले गोल गरे पनि हार टार्न सकेनन् ।सोमबारको खेलमा म्यान अफ दी म्याच थ्री स्टारका मार्टिन घोषित भए । उनले ७ हजार रुपैयाँ नगद प्राप्त गरे।

मंगलबार नेपाल पुलिस क्लब र सुनसरी ११ बीच प्रतिस्पर्धा हुने खेल संयोजक एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए।

 

प्रकाशित: १ जेष्ठ २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App