७ वैशाख २०८१ शुक्रबार
समाज

'खाजा कार्यक्रम'मा ब्यापक भ्रष्टाचार

जनता आधारभूत विद्यालय सलोखरीमा दिवा खाजा खाँदै उपस्थित विद्यार्थी। तस्बिर : मिथिलेश यादव

सिरहा– सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित अधारभूत विद्यालय खैरबोनाले शिक्षामा ८० जना विद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रमबापत १ लाख ३३ हजार २ सय रुपैयाँ निकासा लिए ।

आधारभूत विद्यालय महदेवा पोर्ताहाले शिक्षामा ९१ जना विद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रमबापत १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ निकासा लिए ।

जनता आधारभूत विद्यालय सलोखरीले शिक्षामा २ सय ६३ विद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रमबापत ४ लाख ३७ हजार ८ सय ९५ रुपैयाँ निकासा पाएको छ ।

समुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन, विद्यालयमा विद्यार्थी पूरा समय टिकाइराख्न, विद्यार्थी भर्नादर बढाउनका लागि समुदायिक विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रम ‘सेटिङमा भ्रष्टाचार’ गर्ने माध्यम बनेको छ । करौडौं खर्च भइरहेको यो कार्यक्रमको उपलब्धि नदेखिनुमा रकममा भ्रष्टाचार कारण बनेको छ ।

परिवर्तित संरचनाअनुसार अहिले प्रत्येक पालिका(गाउँ, नगर)मा त्यसक्षेत्रमा सञ्चालित विद्यालय हेर्नेगरी स्रोत व्यतिm (आरपी) र विद्यालय निरीक्षक (बिनी)को व्यवस्थापन गरिएको छ । विद्यालयले बुझाउने विद्यार्थीको तथ्यांक यकीन गरी रुजु गर्ने अधिकार आरपीसँग हुन्छ । आरपीले रुजु गरेको तथ्यांक रुजु गर्ने अधिकार विनीसँग हुन्छ । आरपी र विनीले स्वीकृत गरेको विद्यार्थी तथ्यांकको आधारमा मात्र शिक्षाले विद्यालयमा निकासा पठाउने प्रावधान छ ।

दिवा खानाको रकम निकासाको हकमा विद्यालयले तयार पारेको विद्यार्थी तथ्यांक सम्बन्धित आरपीले विद्यालय अनुगमन गरी यकीन गरेपछि निकासाको सिफारिससहित शिक्षामा पठाउँछ । जसअनुसार शिक्षाले विद्यालयको खातामा रकम निकासा दिन्छ । 

माथि उल्लेखित तीनवटै विद्यालयले दिवा खाजा कार्यक्रमका लागि बुझाएको विद्यार्थी तथ्यांक बढाएर पठाएको पाइएको छ । 

दिवा खाजा कार्यक्रम चलेको आधारभूत विद्यालय महदेवा पोर्ताहा पुग्दा कक्षा १ मा २ जना, कक्षा २ मा ३जना, कक्षा ३ मा विद्यार्थी नै थिएनन्, कक्षा ४ मा ३ जना उपस्थित थिए । यी विद्यार्थीलाई एउटै कोठामा राखेर परिचर रामबिलास यादव कुरुवा बसेका थिए । 

केहीबेरपछि प्रधानाध्यापक रामचलित्र यादव हस्याङफस्याङ गर्दै विद्यालय आइपुगे । विद्यार्थीको उपस्थितिबारे उनले भने, ‘बिहेवारीको सिजन भएकाले दुईचार जना विद्यार्थी आएका छैनन् ।’ यो विद्यालय टाँसिएरै पश्चिमपट्टि नारायण ईङ्गलिस बोर्डिङ सञ्चालनमा छ । जसका कारण यो विद्यालयमा विद्यार्थी थोरै भएको प्रअ यादवले बताए । दिवा खाजा कार्यक्रमका लागि शिक्षामा बुझाएको विद्यार्थी तथ्यांकबारे सोध्दा उनी अक्कमकिए । भने, ‘त्यो बेला थियो अहिले छैन् ।’ यो विद्यालयले ९१ जना विद्यार्थीको तथ्यांक पेस गरी शिक्षाबाट रकम निकासा लिएको छ ।

दिवा खाजा कार्यक्रम चलेको आधारभूत विद्यालय खैरबोना पुग्दा कक्षा ४ र कक्षा ५ का ६ जना विद्यार्थी एउटै कोठामा खेलिरहेका थिए । कक्षा बाल विकाससहित कक्षा १, २ र ३ का १० जना विद्यार्थी अर्को कोठामा खेलिरहेका थिए । जम्मा १६ जना विद्यार्थी विद्यालयमा उपस्थित थिए । प्रअ अनिरुद्ध यादवले ६४ जना विद्यार्थी आफ्नो विद्यालयमा रहेको बताए । दिवा खाजा कार्यक्रमका लागि शिक्षामा यो विद्यालयले ८० जना विद्यार्थीको तथ्यांक पेस गरी रकम भुक्तानी पाएको छ ।  

जनता आधारभूत विद्यालय सलोखरी पुग्दा कक्षा ५ सम्ममा ६० जना विद्यार्थी उपस्थित थिए । यो विद्यालयले दिवा खाजा कार्यक्रमका लागि २६३ विद्यार्थीको तथ्यांक पेस गरेर रकम भुक्तानी पाएको छ । वास्तविक विद्यार्थी संख्याभन्दा धेरै विद्यार्थी देखाएर प्रधानाध्यापक, स्रोत व्यक्ति, विद्यालय निरीक्षकदेखि शिक्षा अधिकारीसम्मको मिलेमतोमा विद्यार्थीको खाजा रकम भ्रष्टाचार भइरहेको छ । 

यी आधारभूत विद्यालयमा विद्यार्थीको तथ्यांक बढाएर दिवा खाजा कार्यक्रमको बजेटमा भ्रष्टाचार भएको घटना प्रतिनिधिमात्र हुन् । दिवा खाजा कार्यक्रम लागू भएका जिल्लाका २ सय २५ विद्यालयमध्ये अधिकत्तम विद्यालयमा स्रोत व्यतिm प्रअ, विद्यालय निरीक्षकदेखि शिक्षाका कर्मचारी सेटिङमा (मिलेमतो) ब्रम्हलुट भइरहेको यहाँका बुद्धिजीबीहरु बताउँछन् ।
 
जिल्ला विकास तथा समन्वय इकाई सिरहाको तथ्यांकअनुसार २ सय २५ विद्यालयका ३२ हजार ३ सय ३७ विद्यार्थीका लागि १ सय ११ दिनको खाजा खुवाउन १५ रुपैयाँप्रति विद्यार्थीको दरले पहिलो किस्ताबापत ५ करोड, ३८ लाख ३२ हजार रुपैयाँ निकासा भएको छ । यो रकमको ठूलो हिस्सा भ्रष्टाचार भएको विद्यार्थीको फर्जी तथ्यांकले देखाउँछ । 

शिक्षा कार्यालयले आर्थिक वर्ष ०७३÷७४ मा दुई सय ३३ विद्यालयका ३२ हजार पाँच सय ५५ विद्यार्थीका लागि ५ करोड ६० लाख ४४ हजार ६ सय २० रुपैयाँ दिवा खाजाका लागि निकासा दिएको थियो ।
 
इकाई कार्यालयका अनुसार जिल्लामा पाँच कक्षासम्म सञ्चालन भइरहेका दुई सय ९८ आधारभूत विद्यालय र ६४ मदरसा छन् । जसमध्ये शिक्षाले १० विद्यालयमा विभिन्न आन्तरिक विवादका कारण खाजा रकम खर्च नभएको भन्दै बेरुजु ठहर गरेको थियो । 

तथ्यांकअनुसार जनता आधारभूत विद्यालय गडगमा ८ हजार, आधारभूत विद्यालय हरकट्टी २५ हजार, नरसिंह आधारभूत विद्यालय जिझौल २५ हजार, आधारभूत विद्यालय मेन्हा २० हजार, राजा आधारभूत विद्यालय नरगी ३ हजार, जनकल्याण आधारभूत प्रावि नवराजपुर १५ हजार, आधारभूत विद्यालय ललशैया ५८ हजार, आधारभूत विद्यालय लरकन्हा, लवकाटोली १ लाख २६ हजार र जनता आधारभूत विद्यालय चतरी सलमपुरको नाममा ४६ हजार बेरुजु छ । बाँकी सबै विद्यालयहरुले पठाएको रकम सम्पूर्ण खर्च गरिसकेको विवरण जिल्ला कार्यालयमा पेस गरेको छ ।
 
जिल्ला विकास तथा समन्वय इकाई सिरहाका निमित प्रमुख देवन चौधरीका अनुसार स्रोत व्यक्ति र विनीले प्रमाणित गरेर पठाएको विद्यार्थी संख्याको आधारमा रकम निकासा हुन्छ ।  ‘स्रोत व्यक्ति र विनीले प्रमाणीत गरी निकासा दिनु भनी पठाएको सिफारिसलाई मान्नैप¥यो,’ उनले भने, ‘यो तथ्यांक शतप्रतिशत सही हो भनेर म भन्दिन ।’

विद्यालय निरीक्षक भवानी कट्टेलका अनुसार विद्यार्थीको तथ्यांकमा प्रधानाध्यकपक र स्रोत व्यक्तिको भूमिका हुन्छ । विद्यालय निरीक्षक अनुगमनको भूमिकामा हुन्छ । 

प्रकाशित: १ जेष्ठ २०७५ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App