८ वैशाख २०८१ शनिबार
समाज

सरकारी कार्यालयले फोहोर जलाउन नपाउने

काठमाडौ – सरकारी कार्यालयहरुले फोहोर जलाउन नपाउने भएका छन्। वातावरण मन्त्रालयले सुरु गर्न लागेको नेपाल स्वास्थ वातावरण अभियान २०७५ को सुरुवात गरेसँगै सरकारी कार्यालयले फोहोर जलाउन नपाउने व्यवस्था गर्न लागिएको वातावरण विभागले जनाएको छ।

फोहोर जलाउँदा वातावरण प्रदूषण हुने भएकाले सुरुमा सरकारी कार्यालयबाट फोहोर जलाउने प्रचलनलाई अन्त्य गर्न लागिएको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिए। विभागले वातावरण दिवसका अवसरमा सबै कार्यालयमा अनिवार्य फोहोर संकलनका लागि फोहोर संकलन गर्ने बाल्टी वितरण गर्न लागेको दवाडीले बताए।

वन तथा वातावरण मन्त्रालयले एक वर्षको अवधिमा धुलो, धुवाँ तथा प्लास्टिक नियन्त्रण गर्ने तथा हरियाली बढाउने लक्ष्यसहित २०७५ लाई नेपाल स्वास्थ्य वातावरण महाअभियानको घोषणा गरेको हो। मन्त्रालयले वातावरण दिवसको अवसर पारेर जेठ २२ अर्थात जुन ५ तारेकमा स्वास्थ्य वातावरण महाअभियान घोषणा गर्ने तयारी गरेको छ। वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक गरेको मन्त्रालयको कार्ययोजनामा पनि महाअभियानलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

महाअभियानका लागि आवश्यक पर्ने विशेष संरचनाको व्यवस्था गर्ने, उपत्यका तथा उपत्यकाबाहिर सञ्चालन हुने सरसफाई अभियानलाई महाअभियानको हिस्सा बनाउने, हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्न सडक, नदी छेउ, पर्यटकीय क्षेत्र लगायतमा रुखविरुवा रोप्ने तथा अभियानमा गैरसरकारी संस्था तथा नागरिक समाजलाई सहभागी गराउने मन्त्रालयको लक्ष्य छ।

वातावरण दिवसका अवसरमा वातावरण विभागले जेठ १६ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। विभागले जेठ १६ गते प्रधानमन्त्री वा सभामुखको समेत सहभागीतामा कुचो लगाएर अभियानको सुरु गर्ने तयारी गरेको छ। त्यसपछि सबै सरकारी कार्यालयमा फोहोर संकलन गर्न बाल्टी वितरण गर्ने विभागले जनाएको छ।

जेठ १७ गते विभिन्न मन्त्रालयहरुको अपनत्व हुने गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, १८ गते जिल्ला वन कार्यालय काठमाडौंको सहकार्यमा बाग्मती तथा विष्णुमती नदी किनारामा वृज्ञरोपण गर्ने कार्यक्रम रहेको छ। २० गते वन तथा वातावरण मन्त्री शक्ति बस्नेत आफैंले सिंहदरबारको पश्चिम गेटमा सवारी साधनको प्रदूषण परीक्षण गरिने छ। त्यसपछि सवारी साधनको प्रदूषण परीक्षणले निरन्तरता पाउने महानिर्देशक दुवाडीले जानकारी दिए । जेठ २१ गते वातावरणसम्बन्धी चेतनामूलक साइकल -याली र वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गरिने विभागले जनाएको छ।

वातावरण दिवसको दिनपछि स्वास्थ वातावरण महाअभियानको औपचारिक रुपमा सुरु हुने र उक्त अभियान ०७५ अर्थात एक वर्षभरी सञ्चालन हुने दवाडीले जनाए। एक वर्षको अवधिमा सरकारले उपत्यकाको धुलो, धुँवा, प्लाष्टिक नियन्त्रण तथा सहरी हरित उद्यमको अवधारणालाई समेत कार्यान्वनमा ल्याउने लक्ष्य राखेको विभागले जनाएको छ। विभागले मन्त्रालय वा विभागको मात्र सक्रियताले अभियान सफल नहुने भएकाले सबै क्षेत्रबाट उत्तिकै सक्रियता र सहभागीता हुनुपर्ने जनाएको छ। ‘मन्त्रालय वा विभागले मात्र चाहेर वातावरण स्वच्छ हुने होइन, यसका लागि सबै पक्षको सहभागिता आवश्यक हुन्छ,’ महानिर्देशक दवाडीले भने। दवाडीले प्रदूषण नियन्त्रणका क्षेत्रमा एक वर्षभित्र महसुस हुने गरी सुधार हुने बताए।

प्रकाशित: १ जेष्ठ २०७५ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App