७ वैशाख २०८१ शुक्रबार
अन्य

खुसी खोज्दै कुलतमा...

सांकेतिक तस्बिर

खुसी । शब्दको बनोट हेर्दा दुई अक्षरले बनेको हुन्छ, तर यसको परिभाषा खोज्ने हो भने जिन्दगी नै बित्छ । मानिस यही दुई अक्षरको खोजीमा निकै भौतारिन्छन् । खुसी खोज्ने क्रममा कोही राम्रो बाटोमा लाग्छन् र सफल हुन्छन्, कति भने नराम्रो बाटोमा लागेर बीचमै अलपत्र पर्छन् ।

त्यसरी अलपत्र पर्नेहरुमा हिजोआज टिनएजर्सका केटी धेरै पर्ने गरेका छन् । उनीहरु खुसी खोज्दै नराम्रो बाटोमा पुगेका उदाहरण हजारौं भेटिन थालेका छन् । 

सुभाना
उनी १९ वर्षकी भइन् । केटाको जस्तै कपाल काटेकी उनको नाम सुभाना हो । घाँटीको देब्रे भागमा बिच्छिको ट्याटु खोपेकी छिन् । ओठको तल्लो भागमा भर्खरै गहना निकालिए जस्तो देखिने डोब अनि शरीरभरि दागैदाग छ उनको तर अनुहार भने निकै सुन्दर छ । यसो हेर्दा लाग्छ, उनी पूर्णिमाको जून हुन् तर कालो बादल उनीमाथि मडारिइरहेको छ । 

उनी सुधारगृह आएको १५ दिन मात्रै भयो । त्यसैले उनको शरीर फूर्तिलो बन्न सकिरहेको छैन । नयाँ मानिसहरुसँग घुलमिल हुन त्यति मन नपराउने सुभाना, हामी दुवैको सेम हेयर स्टाइल भनेपछि मात्रै मुसुक्क हाँसेर बोल्न सुरु गरिन् । मसिनो स्वरमा उनले भनिन्, ‘अलिक सन्चो छैन, बिरामी भइराकी छु, त्यही भएर कुरा गर्न मन छैन । कुरा गर्न मन नभए पनि उनले आफू त्यस त्यहाँसम्म आइपुगेको कारण सुनाइन् । जसको एकै कारण थियो खुसी ।

पोखराको धनी परिवारमा उनको जन्म भयो । उनीहरुको आफ्नै होटल छ, थियो । बाबुआमा दुवै बिहान उठेदेखि राति १२ बजेसम्म होटलमा व्यस्त हुने । छोरीलाई एक्लोपनको आभाष नहोस् र नबिग्रियोस् भनेर उनले सुभानालाई काठमाडौंको होस्टलमा राखेर पढाए । उनी होस्टल बसेर पढ्न सुरु गर्दा ८ वर्षकी थिइन् । 
त्यहाँ प्रत्येक हप्ता उनका साथीका आमाबुबा भेट्न आउँथे, मिठामिठा खानेकुरा ल्याउँथे, धेरै मायाँ गर्थे र जान्थे । सुभाना पनि प्रत्येक हप्ता आमाबुबाको प्रतिक्षामा हुन्थिन् तर उनका बुबाआमाको दुई महिनामा एकपटक फोन मात्रै आउँथ्यो । आउन नभ्याएको, व्यस्त भएको, अर्कोपटक जसरी पनि आउने झुटो बाचा उनले धेरै सुनिन् । उनले भनिन्, ‘मामु बाबाको झुटले मैले पनि झुट बोल्न जानेँ । 

होस्टलभित्रकै साथीहरुसँग उनको घुलमिल हुन थाल्यो । साथीहरुबाटै वीड (गाँजा) जस्ता चिज प्रयोग गर्न जानिन् । उनले भनिन्, ‘सुरुसुरुमा त साथीहरुले फ्रि मै खुवाउँथे, बिस्तारै मैले पनि खुवाउन थालेँ ।’ 
सुभानालाई पैसाको कुनै हर्ज (कमी) थिएन । एकपटक फोन गर्दा उनलाई बाबुआमाले किन भन्ने प्रश्न नसोधेरै हजारौं रुपैयाँ पठाउँथे । उनले केहीबेर गमेर भनिन्, ‘कक्षा ९ मा पढ्दा हामी ४ जना केटीको ग्याङ (समूह) होस्टलबाट भाग्यौं र इन्डिया गयौं ।  हामीले पहिल्यै सामान बेच्ने इन्डियाका दाजुहरुलाई चिनेका थियौं, हाम्रो कामै इन्डियादेखि नेपालसम्म माल ओसार्ने र त्यसबाट आएको पैसाले सामान किनेर खाने भयो । उनले मुखमा आएको केही नराम्रो शब्दलाई कन्ट्रोल गर्दै भनिन्, ‘कहाँबाट मेरो बाउआमाले थाहा पाएछ र यहाँ ल्याएर राखिदियो ।’ उनी सुधारकेन्द्रमा खुसी छैनन् । उनले दायाँबायाँ हेर्दै भनिन्, ‘एकचोटी यहाँबाट निस्कन त पाम्, मैले जान्या छु ।’ 

जुलिया
जुलिया सुधारकेन्द्र पुगेको करिब ६ महिना पुगिसक्यो । उनी हिजोआज निकै मिठो कुरा गर्न सक्छिन् । उनले आफू खुसी खोज्दै कसरी कुलतमा फसेँ भन्नेबारेको अनुभवमा भनिन्, ‘मेरो घर डोल्पाको विकट ठाउँमा भए पनि जन्म भने काठमाडौंमै भयो र यहाँ नै पढेँ । 

उनको कथा अलि फरक छ । जुलिया निकै सोझी थिईन् रे । उनले भनिन्, ‘कक्षा ६ सम्म मेरो पढाइ एकदमै राम्रो थियो, म बिहानै उठ्ने, पूजापाठ गर्ने र भाइबहिनीलाई पढाउने गर्थेँ । तर अचानक धेरै ट्याजेडी एकसाथ बेहोर्नुप¥यो । उनले भनिन्, मैले एक केटालाई मन पराउँथें, उसले वास्तै गरेन, बाबा र मामुको पनि डिभोर्स भयो अनि स्कुलका साथीहरुले पनि हेपे । यी तीन कुरा खप्न नसकेर आफू कुलतमा फसेको उनले बताइन् । 

उनले त्यस क्षण सम्झँदै भनिन्, ‘मलाई केही केटी साथीले साह्रै नराम्रोसँग हेपे, अनि म ट्वाईलेटमा बसेर धेरैबेर एक्लै रोइरहेकी थिएँ । त्यसै समयमा सँगै पढ्ने एकजना साथी मेरो नजिक आइन् र नरोऊ भनेर सम्झाइन् । उनले भनिन्, ‘त्यो साथी टमब्वाई टाइपकी थिईन्, पाँचजना दाजुहरुकी एक्ली बहिनी भएकाले बोली पूरै केटाको जस्तै थियो, लवाइखवाइ, हिँडाइ सबै केटाको जस्तै थियो, उसैले दाइहरुले ड्रग्स खाएको देखेकी रहिछ । मलाई उसले तँ धेरै सोझी भएर हो सबले हेपेको भनेर इन्करेज गरेपछि मैले रुँदै दिदी मलाई पनि तपाईं जस्तै बनाइदिनु न भनेर रिक्वेष्ट गरेँ । उनले थपिन्, ‘सुरुमा त उनी धेरै हाँसिन्, ‘पछि ल हुन्छ भनेर मलाई सामान खान सिकाइन् ।’ उनले अनुहार हँसिलो पार्दै भनिन्, ‘त्यसपछि त मेरो गेटअपदेखि बानीव्यवहार सबै फरक भइहाल्यो, कसैले मलाई एक शब्द भने चार शब्द फर्काउने भएँ ।’ 

जुलिया कक्षा नौमा पढ्दा नै एकपटक रियावमा बसिसकेकी रहिछिन् । उनले भनिन्, ‘चितवनको रियावमा बसेकी थिएँ, त्यहाँका साथीहरुसँग पनि छिट्टै घुलमिल भईहालेँ ।’ दिनहरु मस्तले बितिरहेका थिए, मलाई त्यहाँबाट निस्कन पनि मन थिएन तर मामुले फेरि निकाल्नुभयो र गाउँ डोल्पामा लगेर राखिदिनुभयो । उनी भन्दै गइन्, ‘गाउँमा गएर बसे पनि मामुले मलाई ट्रस्ट नै गर्नुभएन, अनि धेरै रिस उठ्यो र चितवनको रियावमा चिनेका सबैलाई जम्मा पारेर सामान खुवाइदिएँ र मैले पनि खाएँ । उनले बहादुरीका साथ भनिन्, ‘डोल्पाको त्यस्तो विकट ठाउँमा भए पनि मैले च्यानल मिलाएर सामान खाएँ । त्यहीँबाट पनि थाहा भयो मनले चाहे सबैथोक पोसिबल हुँदोरहेछ । 

दिव्या
दिव्या अहिले १७ वर्षकी भईन् । अघिल्लो वर्ष एसईई परीक्षा दिएकी हुन् उनले । नजिता निस्कियो, उनी ए ग्रेडमा पास भईन् । एसईई पछि उनी भर्ना हुनुपर्ने त कक्षा ११ मा हो तर त्यसो भएन । दिव्याले भनिन्, ‘मलाई ममीले तिम्रा साथी संगी खराब भए, अब होस्टल बसेर पढ्नुपर्छ भन्नुभयो, म अब झनै मोज हुनेभयो होस्टलमा भन्दै आएकी थिएँ तर यो त रियाव पो रहेछ । जब उनले होस्टल हैन, रियाव आइपुगेको थाहा पाइन् उनको रिसको सिमै रहेन । उनले सुनाइन्, ‘मलाई त ममी देखेर लास्टै रिस उठेको थियो, डन्ट ओरी दिव्या, एक न एक दिन त तेरो पनि पालो आइहाल्छ नि, ममी बाबासँग बदला लिएरै छाड्छु भनेर आँखाको डिलमा आएको आसु पनि सोसेर राखेकी थिएँ ।’  

दिव्या कसरी फसिछन् त कुलतमा ? उनले भनिन्, ‘म ममीसँग एकदमै नजिकिएकी थिएँ, ममी नभए संसारै अधुरो लाग्थ्यो ।’ त्यही समयमा मलाई काठमाडौं मामाको घरमा राखेर पढाउनुभयो । सुरुसुरुमा त ममीसँग दिनमा दुई तीन पटकसम्म कुरा गर्थेँ । ममीले राम्रोसँग पढ भनेर सम्झाउनुहुन्थ्यो र ममीले भनेको मान्थेँ पनि । मेरो मामाका दुई छोरीहरु थिए, ती दुई दिदीहरु लुकेर ब्यालक चुरोट खाँदा रहेछन्, मैले त्यो थाहा पाएपछि भन्दिन्छु भनेँ तर मामाका छोरीहरुले मलाई पनि ट्राई गर्न लगाए । 

मेरो ब्वाइफ्रेन्ड पनि थियो तर मभन्दा केही वर्ष एजेड । दिव्याले भनिन्, ‘ऊ पनि कहिलेकाहीँ ड्रग्स लिँदोरहेछ । उसैले ड्रग्स लिने दाइहरुसँग मेरो चिनजान भयो र हामी राम्रो साथी पनि बन्यौं ।  दाइहरु ड्रग्स खाने, बेच्ने गर्नुहुँदोरहेछ । उहाँहरु साथी बनेपछि मैले पनि ड्रग्स खान सुरु गरेँ र उहाँहरुको काममा सहयोग गर्न थालेँ । 

अनि ब्वाइफ्रेन्ड कता भन्ने जिज्ञासामा दिव्याले सजिलै भनिन्, ‘सबैले तिमीभन्दा कतिधेरै एजेड भन्थे, मलाई पनि अलि एजेडै लाग्यो अनि ब्रेकअप दिएँ । 

दिब्यालाई ड्रग्स खान भने कहिल्यै समस्या परेनछ । उनले भनिन्, ‘काठमाडौंमा पाइने ड्रग्सको क्वालिटी नहुने भएकाले बाहिरबाट मगाउँथ्यौं । बुटवलमा हामीलाई ड्रग्स सप्लाई गर्ने मानिस थिए । दिव्याले गर्विलो आवाजमा भनिन्, ‘त्यहाँ हामीलाई एक केटाले ड्रग्स अप एन्ड डाउन गराउँथ्यो, केटो ह्यान्डसम पनि थियो अनि मलाई यो केटोलाई ब्वाइफ्रेन्ड बनाउन पाए त ड्रग्स खान समस्यै पर्दैन भन्ने लाग्यो र उसैलाई ब्वाइफ्रेन्ड बनाएँ । 

शुष्मा 
शुष्मा धरानकी हुन् । धरानको लाहुरे परिवारमा जन्मिएकी उनलाई जिन्दगीदेखि निकै नरमाइलो लाग्यो । बाबुआमाले आफ्नो कुरा नबुझेको, गर्न खोजेका काममा साथ नदिएको भन्दै उनी निराश बनिन् । कतिपटक त आत्महत्याको कोसिस पनि गरिन् । उनले भनिन्, ‘मलाई जिन्दगी यति धेरै रमाइलो छ, विनाड्रग्स पनि खुसीका साथ जीवन बिताउन सकिन्छ भन्ने भान अहिलेभन्दा अघि कहिल्यै भएन । 
परिवारको कचकच र आफूले गर्न खोजेका काममा असफलता हात लागेपछि उनी कुलतमा फसिन् । शुष्माले भनिन्, ‘मैले चुरोट, गाँजा हुँदै अल्कोहलसम्म लिएँ । 

गाउँमै ड्रग्सको नशा लागिसकेको उनका परिवार छोरीको चाल देखेर डराए र विदेश पठाइदिए अस्ट्रेलिया । त्यहाँ पुगेपछि त झनै शुष्मालाई रोक्ने कोही भएन । उनी प्राइमरी स्कुलमा टिचिङ गर्थिन् । टिचिङ गर्दा महिनामा मात्रै स्यालरी आउँथ्यो, ड्रग्स खान पैसाको समस्या परेपछि उनले पार्ट टाइम काम जता मिल्यो उतै गर्न थालिन् । उनले भनिन्, ‘मैले आवरका हिसाबले पैसा पाउँथे त्यसैले जतिबेलासम्म ड्रग्स किन्ने पैसा पुग्दैनथ्यो काम गर्थेँ, जब यति भए आजलाई पुग्यो भन्ने भएपछि हिँडिदिन्थेँ । 

ड्रग्स लिएर पढाउन जाँदा कतिपटक उनले एउटै कोर्स विद्यार्थीलाई दोहो¥याइदिएकी छिन् । उनले भनिन्, ‘कहिलेकाहीँ त कम्प्लेन पनि आउँथ्यो, त्यस्तो बेलामा विद्यार्थीले याद गरेको छ कि छैन भनेर रिवाइन्ड गरेको भनेर ढाँटिदिन्थेँ । उनले थपिन्, एकपटक हेरोइन खाएर विद्यार्थीलाई पढाउन गएकी थिएँ, एक विद्यार्थीले थाहा पायो, किनभने हेरोइन लिएपछि म ओभररियाक्ट गर्थेँ । त्यो विद्यार्थीले थाहा पाएपछि भने मैले हेरोइन लिन छाडेँ । विदेशमा हुँदा सबै साथीसँग उधारो मागेर हैरान पारिसकेकी थिएँ । ‘कहिले बाउलाई बिरामी पारेर पैसा मागेँ, कहिले नेपालमा अति चाहियो रे भनेर मागेँ, त्यो समयमा धेरै झुट बोलें,’ उनले थपिन् ।

एक दुःखद् घटना घटेकाले नेपाल आएको बताउने उनले भनिन्, ‘नेपाल आयो कि विभिन्न तनाव भइहाल्ने । यो पटक नेपाल आउँदा भने बिहे गर्नैपर्छ भन्दै उनका परिवारहरु पछि परेछन् । उनले लजाउँदै भनिन्, ‘अब ड्रग्स नखाने केटो प¥यो भने मलाई पनि खान दिँदैन भनेर मैले ब्वाइफ्रेन्ड छ भने र सँगै ड्रग्स खाने पार्टनरलाई बुबाममी अगाडि लगेँ । पार्टनरलाई पनि घरमा बिहेको प्रेसर बढी नै रहेछ । दुवै परिवारको कुरो मिलिसकेको थियो तर बिहे भने हुन पाएन । उनले थपिन्, ‘पार्टनरका बारेमा मेरो फ्यामिलीलाई थाहा भएछ, अनि खोज्दै जाँदा म पनि एडिक्ट भन्ने थाहा पाएर रियाव ल्याइदिनुभयो, पार्टनर म यता आएपछि झनै धेरै अल्कोहल पिउँछ रे ! उनले लामो श्वास तान्दै भनिन् । 

प्रकाशित: ३१ वैशाख २०७५ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App