स्थायी खुसीका लागि सरल जीवन

सोमबार, ३१ बैशाख २०७५, १६ : ५४ रोशन दाहाल

एकजना बटुवा कतै जाँदै थियो । बाटोमा आफू जानुपर्ने स्थान अझै कति टाढा छ भनेर उसले कसैलाई सोध्यो ।

जवाफ आयो, “दस हजार किलोमिटर ।”

बटुवाले छक्क पर्दै सोध्यो, “अझै त्यति धेरै बाँकी छ ?” 

“सिधै जानुभयो भने त्यति नै टाढा छ किनभने तपाईं विपरीत दिशातिर जाँदै हुनुहुन्छ । दिशा परिवर्तन गर्नुहोस्, केही मिनेटमै पुग्नुहुन्छ ।”

खुसी या आनन्दको खोजमा मनुष्यको यात्रा पनि गलत दिशातिर हुँदै आएको छ । जबकि हरेक मानिसको जीवनको लक्ष्य स्थायी खुसी नै हो । 

अहिलेको मनुष्यलाई इतिहासकै सबैभन्दा सुविधा प्राप्त छ । वर्षौं पहिला राजामहाराजाहरुलाई प्राप्त हुने सुविधा अहिले सबैलाई प्राप्त छ । हामी घरमै बसीबसी खानेकुरा मगाएर खान सक्छौँ । कम समयमै टाढाटाढा पुग्न सक्छौँ । विलासिताका वस्तु प्रशस्तै छन् । भौतिक हिसाबले मानवजीवन यति सहज कहिल्यै थिएन । तैपनि मनुष्य झन्झन् सुखी हुँदै जानुपर्नेमा झनझन् तनावग्रस्त हुँदै गइरहेको छ । 
अधिकांश मानिस बाहिरी सफलता प्राप्तिका लागि दौडिरहेका हुन्छन् किनभने बाहिरी अवस्था आफूले सोचेअनुसार भयो भने खुसी भइन्छ भन्ने उनीहरुलाई लाग्छ । कहिलेकाहीँ खुसीका क्षणहरु त आउँछन् हाम्रो जीवनमा हामीले इच्छाएका वस्तु पाउँदा, तर त्यो खुसी त्यसको मज्जा लिन नपाउँदै हराएर जान्छ । खुसीको स्थायी अनुभव हामीमा छैन । बाहिरबाट मिल्ने खुसी बाहिरी वातावरण असहज हुनेबित्तिकै हराएर जान्छ । जबकि शास्त्रहरु र सद्गुरmहरुले स्थायी खुसी सम्भव छ भनेका छन् । 

यस विषयमा एउटा कथा छ, 

एकजना बूढो साधुलाई सम्राटले आफ्नो महलमा भोजन गर्न बोलाए ।

भोजन गरेपछि सम्राटले साधुसँग भने, “तपाईंसँग केही नभए पनि तपाईंको अपार सन्तोष देख्दा मलाई इर्ष्या लाग्छ ।”

साधुले उत्तर दिए, “तपाईंसँग त मेरो भन्दा पनि कम छ, महाराज ।” 

“कसरी ? मसँग यत्रो ठूलो राज्य छ ?”

“त्यै त, तपाईंसँग त राज्य मात्रै छ,” साधुले भने, “मसँग त अनन्त आकाश र संसारका सबै पर्वत, नदी, सूर्य र चन्द्रमा अनि त्योभन्दा पनि ठूलो कुरा हृदयमा परमात्माको बास छ । तपाईंसँग त तपाईंको राज्य मात्र छ ।”

कथाले सन्देश दिन्छ, पूरै प्रकृति आनन्दका लागि उपस्थित छ । आफूसँग भएकै चिजबाट आनन्द लिन सकिन्छ । 

शास्त्र र साधुहरुले वर्षौंदेखि इच्छा कहिल्यै पूरा हुँदैन भन्दै आइरहेका छन् । उनीहरुले बताएका स्थायी खुसी प्राप्त गर्ने बाटोतिर उन्मुख हुने सजिला उपायहरुमध्ये केही निम्न छन्–

आवश्यकतामा बाँच्ने

एक व्यापारी व्यापारमा पूरै असफल भएपछि निराश हुँदै आत्महत्या गर्न भनेर गयो । एउटा रूखमा डोरी लगाएर झुण्डिनै लाग्दा एकजना मानिसले देखेर उसलाई रोक्यो र एउटा चेकमा आवश्यक रकम लेखेर दियो । व्यापारी खुसी हुँदै फर्कियो । 

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार ग-यो । प्रशस्त पैसा कमायो । तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन । चाहियो भने छँदै छ भनेर राखिराखेको थियो । चेकले उसलाई आत्मविश्वास दिएको थियो । सुरक्षा दिएको थियो । त्यसैका आडमा उसले व्यापार सुरm ग¥यो, तर उसलाई त्यो पैसा आवश्यकतै परेन । 

एक वर्षपछि व्यापारी आफूलाई सहयोग गर्ने मानिसलाई उक्त चेक फिर्ता गर्ने र धन्यवाद भन्ने उद्देश्यले भेट्न गयो । जब उसले त्यो मान्छेलाई भेट्यो, ऊ चकित प-यो । 

त्यो मान्छे पागल थियो । गोजीभरि नक्कली चेक बोकेर हिँड्थ्यो र जसलाई देखे पनि चेक निकाल्दै त्यसमा रकम लेखेर दिन्थ्यो । ऊसँग पैसा नै थिएन ।

आफूसँग केही धन छ भने त्यसले अगाडि बढ्नका लागि उत्प्रेरित गरिरहन्छ । केही प-यो भने छँदै छ भन्ने भावले जीवनमा ठूलो काम गर्छ । तर एकजना मानिसका लागि जति नै धन भए पनि सधैँ अपुग अनुभव हुन्छ । जति धेरै कमायो त्यति बढी इच्छा बढ्दै जान्छ । 

हिन्दू शास्त्रहरुले सांसारिक भोग र सङ्ग्रह गर्ने इच्छाको कहिल्यै पूर्ति हुँदैन भन्दै आएका छन् । यस्तो कहिल्यै पूरा नहुने इच्छालाई शास्त्रीय भाषामा असत् इच्छा भनिन्छ । आवश्यकता पूरा गर्ने इच्छालाई सत् इच्छा भनिन्छ । 

आवश्यकताको पूर्ति हुन्छ, तर इच्छा कहिल्यै पूरा हुँदैन । जस्तै, भोक लाग्दा पेट भर्ने इच्छा र स्वादको इच्छा । भोकको इच्छा पूरा गरेर शरीरको आवश्यकता पूरा गर्न सकिन्छ । यस्तो आवश्यकतालाई त्याग गर्न सकिँदैन । स्वादको इच्छा भने कहिल्यै मेटिँदैन र यसलाई त्याग गर्दा पनि जीवनमा कुनै फरक आउँदैन ।

कहिल्यै पूरा नहुने इच्छाको पछि लागेर सधैँ धन, यश कमाउने ध्याउन्नमा लाग्दा खुसी भने हराउँदै गइरहेको हुन सक्छ ।

त्यसैले इच्छामा कम ध्यान दिँदै काममा निरन्तर लागिरह्यो भने खुसी मिल्छ । 

निष्काम कर्म

महाभारत पढेपछि मनमा स्वतः एउटा प्रश्न उब्जन्छ, “अर्जुनले करोडौँ मान्छे मार्दा उनलाई पाप नलाग्ने, हामीले चाहिँ सामान्य गल्ती गर्दा पनि पाप लाग्ने ?”

भक्तियोगीहरुले भगवान्को लीला मानेर यस कुरालाई सहजै लिए पनि तार्किक मानिसका लागि यसले चित्त बुझ्दैन । 

यस विषयमा श्रीमद्भगवद्गीताले स्पष्टीकरण दिएको छ, जुन कर्ममा अहंकारले भरिएको फलको इच्छा हुँदैन, त्यस कर्मले बाँध्दैन र त्यसको फल भोग्नु पर्दैन । यस्तो मान्छेले गरेको कर्म केवल क्रिया हुन्छ । 
उदाहरणका लागि, कुनै नदीले धेरैको पालनपोषण गरिरहेको हुन्छ । त्यसबाट सिँचाइ गरिन्छ र मानिस तथा वन्यजन्तुले पानी पिउँछन्– यस अवस्थामा नदीलाई कुनै पुण्य हुँदैन । त्यस्तै नदीको प्रवाहमा धेरै जीव बगेर मर्छन् पनि । यस्तोमा नदीलाई कुनै पाप पनि लाग्दैन । यदि नदीले मैले गरेको भन्ने सम्झन्थ्यो भने उसलाई पुण्य या पाप लाग्थ्यो । 

मनुष्यले गरेको कर्ममा पनि उसको अहम्भाव मिसिएको छ भने सुखद् भावस्वरूप पुण्य र दुःखद् भावस्वरूप पापको फल मिल्छ । अर्थात्, कर्म आफैँले मनुष्यभित्र संस्कार बनाउँदैन, संस्कार मनुष्यको भावले बनाउँछ । 

यसलाई आधार बनाएर भन्न सकिन्छ, मनुष्यले कर्म मजाले गर्न सक्छ तर अहम्भाव त्यागेर । त्यसैले नयाँ वर्षमा विभिन्न योजना बनाउने भन्दा पनि अगाडि आएको कर्मलाई निष्काम भावले गर्ने बानी बसाल्न सक्यो भने त्यसबाट धेरै खुसी मिल्छ र एकाग्रभावले धेरै काम पनि गर्न सकिन्छ । 

आहारमा सुधार

शास्त्रहरुमा उल्लेख भएअनुसार आहार तीन प्रकारका हुन्छन्– सात्विक, राजस र तामस । मनुष्यमा पनि यी तीनवटै गुण धेरथोर हुन्छन्, तर हरेकमा एउटा गुणको प्रधानता हुन्छ । सात्विक स्वभावको मानिसलाई त्यस्तै खालको खानेकुरा प्रिय लागे पनि कहिलेकाहीँ शरीर बिमार हुँदा या अन्य कुनै अवस्थामा राजस र तामस खानेकुरा खान मन लाग्छ । यही अवस्था राजस र तामस स्वभावको व्यक्तिको पनि हुन्छ ।

तामस या राजस स्वभावको मान्छेले जति सजिलै तामसी र राजसी खानेकुरा पचाउन सक्छ सात्विकले सक्दैन । त्यसैले खानेकुरा सेवन गर्दा धेरै हदसम्म आफ्नो शरीरको अवस्था आफैँले बुझ्नुपर्ने हुन्छ । 
खानेकुराले स्वभावमा प्रत्यक्ष असर पार्छ । सात्विक स्वभावको मान्छेमा विवेक सधैँ जागिरहेको हुन्छ । राजस स्वभावको मान्छेमा रागको प्रधानता रहन्छ । ऊ कुनै पनि कुरामा आसक्त रहन्छ । तामस व्यक्तिमा मोह–मूढताको प्रधानता रहन्छ । 

एउटा उदाहरण दिएर उसलाई बुझाउन सकिन्छ, सात्विक स्वभावको मान्छेले कुनै काम गर्नुभन्दा पहिल्यै त्यो काम गर्दाका फाइदा–बेफाइदाका बारेमा राम्रोसँग सोचेर मात्रै गर्छ । राजस स्वभावको मान्छेले सोच्दै नसोची काम गर्छ र काम गरिसकेपछि मात्रै सोच्छ । गल्ती गरिएको रहेछ भने पश्चाताप पनि गर्छ । तामस स्वभावको व्यक्तिले चाहिँ सोच्दै नसोची काम गर्छ र गरिसकेपछि त्यो काम गल्ती नै भए पनि त्यसको बोध गर्दैन ।  

के खाने, कति खाने र कुन बेला खाने भन्ने विषयमा योग विज्ञानमा विशेष चर्चा छ । चितुवाजस्तो दौडिन सक्ने शरीर चाहिएको हो वा सय किलोको भारी बोक्न सक्ने शरीर अथवा सहजतापूर्वक ध्यानमा प्रवेश गर्न सक्ने शरीर चाहिएको हो, सही भोजनको छनोटबाट आफ्नो आवश्यकता र चाहनाअनुरुपको शरीरको निर्माण गर्न सकिन्छ ।

भोजनले शारीरिक स्वास्थ्य मात्र नभई हाम्रो सोच्ने र अनुभव गर्ने क्षमतामा समेत प्रभाव पार्छ । मानौं पेट्रोलले चल्ने इन्जिन भएको गाडीमा डिजेल हालियो भने गाडी चल्न त चल्ला, तर उक्त गाडीको पूर्ण क्षमताको उपयोग गर्नु छ भने त्यसमा पेट्रोल नै हाल्नुपर्छ । मानव शरीर र खानेकुराबीचको सम्बन्ध पनि त्यस्तै हो । के उचित हो र के होइन भन्ने नजानी आफ्नो प्लेटमा आइपरेका सबै खानेकुरा हाम्रो शरीरभित्र हाल्न थाल्यौँ भने शरीरको क्षमता र आयु दुवैमा ह्रास आउँछ ।

भोजन गर्दा हाम्रो मनस्थिति र भाव कस्तो छ भन्ने कुराले पनि शरीरमा पर्ने प्रभावलाई फरक पार्न सक्छ । आनन्दित अवस्थामा गरिएको भोजनको एक तिहाई मात्राले पनि रिसाएको वा दुःखी अवस्थामा गरिएको भोजनले भन्दा धेरै ऊर्जा दिन्छ । यसैकारण रिसाहा र दुःखी मान्छेहरु धेरै खानेकुरा खाने गर्छन् । उनीहरुको शरीर भद्दा र अनावश्यक मोटो हुन्छ । 

त्यसैले सात्विक खानेकुरामा ध्यान दिइयो भने मस्तिष्क सधैँ शान्त भइरहन्छ । शान्त मस्तिष्कमा खुसी पनि कायम रहन्छ ।

सहज दैनिकी 

शास्त्रहरुमा उल्लेख भएअनुसार सुख दुई प्रकारका हुन्छन्, लौकिक र पारमार्थिक । 
लौकिक सुख बाहिरी अवस्थाबाट प्राप्त हुन्छ । यस्तो सुखमा दुःखको पनि सम्भावना त्यत्तिकै रहन्छ । बाहिरी परिस्थिति आफूअनुकूल भयो भने सुख र आफूअनुकूल नहुँदा दुःखको अनुभूति हुन्छ । सुख मात्रै प्राप्त गर्छु भनेर कहिल्यै सम्भावना हुँदैन । 

सुख र दुःखभन्दा पर अर्को एउटा सुखको अवस्था हुन्छ । जसलाई परमार्थिक सुख या आनन्द भनेर भन्न सकिन्छ । यस आनन्दको अनुभव गर्न सकियो भने बाहिरी अवस्था जस्तोसुकै भयो भने पनि भित्री खुसी कायम रहन्छ । मानौँ, कुनै मान्छेको नजिकको आफन्तको मृत्यु भयो । यस अवस्थामा त्यो मान्छे बाहिर रोइरहेको छ भने पनि यो भित्री खुसी या आनन्द कायम रहन्छ । 

सम्पूर्ण अध्यात्म र धर्मको उद्देश्य नै यसैलाई प्राप्त गर्ने विभिन्न तरिका बताउने हो । खुसी प्राप्त गर्ने मामलामा आफू कति माथि उठेँ भन्ने मापदण्ड चाहिँ कति समयसम्म जागरुक रहन सकियो भन्ने हुन्छ । 

बिहान उठेदेखि बेलुकासम्म विभिन्न कर्महरु गरिन्छ । त्यस समयमा मन भने आफूसँग हुँदैन । वास्तवमा मनुष्यले कर्म त गरिरहेको हुन्छ तर त्यसमा डुब्नै सकेको हुँदैन । जस्तै– दाँत माझिरहँदा उसले ब्रसले दाँतमा गर्ने स्पर्श, पानीले उत्पन्न गर्ने संवेदना आदिमा पूरै ध्यान दिएकै हुँदैन । पूरै संवेदना अनुभव गर्ने गरी जुनसुकै कर्म गरियो भने पनि जागरुकता वृद्धि हुन्छ । जतिजति जागरुकता वृद्धि हुन्छ त्यतित्यति आनन्दको लेभल बढ्दै जान्छ । त्यसैले नयाँनयाँ काम गर्छु भनेर इच्छा गरिरहनुभन्दा आफूले दैनिक गरिरहेको कार्यमा ध्यान दिँदा खुसीमा बढोत्तरी गर्न सकिन्छ ।  

दान

एकपटक युधिष्ठिरले दानको महिमाका बारेमा श्रीकृष्णसँग सोधेका थिए । श्रीकृष्णले उनलाई दिएको उत्तर यस्तो थियो, “महाराज ! मृत्युउपरान्त धनादि वैभव व्यक्तिसँगै जाँदैन । व्यक्तिद्वारा गरिएको दानले नै परलोकमा मित्र बनेर उसको साथ दिन्छ । हृष्टपुष्ट शरीर पाएर पनि कुनै फाइदा छैन यदि उसले कसैको उपकार गर्दैन भने ।”

दानको महत्वका बारेमा प्रायः सबै शास्त्रमा उल्लेख छ, सबै धार्मिक सम्प्रदायहरुले पनि यसलाई अपनाएका छन् । दानलाई मानवको अनिवार्य आचरण मानिएको छ । वेदले त भनेको नै छ, “सय हातले आर्जित गर र हजार हातले दान गर ।”

उपनिषद्, पौराणिक ग्रन्थ, श्रीमद्भगवद्गीता, श्रीरामचरितमानसजस्ता ग्रन्थहरुमा दानका विषयमा थुप्रै कुराहरु उल्लेख भएको पाइन्छ । 

गीताका अनुसार फलको बिल्कुलै इच्छा नराखी सत्पात्रलाई दान दिनु दान हो । 
शिवपुरी बाबासँग एक भक्तले सोध्छन्, “चोर्न हुन्छ कि हुँदैन ?”
शिवपुरी बाबाले उत्तर दिन्छन्, “चोर्न हुन्छ, तर चोरेको मध्ये ९० प्रतिशत दानमा दिन सकिन्छ भने ।”
उनका अनुसार सामान्य अवस्थामा आफ्नो कमाइको १० प्रतिशत दान दिनुपर्छ । 

हुन त दान दिँदा कुनै अपेक्षा नराखी दिनुपर्छ, तर शास्त्रअनुसार जति दान दिइन्छ त्यसको कैयाँै गुण बढेर आफैँसँग फिर्ता आउँछ । यस हिसाबले दान बैंकमा पैसा जम्मा गर्नुभन्दा पनि ठूलो लगानी हो । 
त्यसैले आफूले जति कमाइन्छ, त्यसको केही प्रतिशत दानमा दिने बानी बसाल्नाले खुसीमा बढोत्तरी हुन सक्छ ।

निचोड

एउटा मान्छेलाई योगका सिद्धिहरु प्राप्त गर्ने रहर जाग्यो र एकान्त वनमा आश्रम बनाएर बसेका एक गुरुकहाँ पुग्यो । सबै कुरा थाहा पाइसकेपछि गुरुले उसलाई भने, “तिमीलाई सिद्धिहरु चाहिएको रहेछ । त्यसका लागि तिमीले मैले भनेबमोजिमको एउटा साधना गर्नुपर्छ । ध्यान दिएर सुन । म एउटा मन्त्र दिन्छु । भोलि साँझ नदीमा स्नान गरेर रातभर मैले दिएको मन्त्र जप गर । तिमीले आफूले चाहेअनुसारको सिद्धि पाउनेछौ । मन्त्र पाठ गर्दा एउटा कुरामा भने विशेष ध्यान दिनुपर्छ । साधना अवधिभर तिम्रो मनमा बाँदरहरुका बारेमा कुनै एउटा विचार पनि आउनु हुँदैन ।”

गुरुको कुरा सुनेर मान्छे दङ्ग प-यो । आजसम्म बाँदरका बारेमा उसले कहिल्यै सोचेकै थिएन । आज झन् सोच्नै नपर्ने बेलामा त किन पो सोच्थ्यो र ! ऊ साँझ परेपछि नदीमा नुहाएर साधना गर्न बस्यो । जसै ऊ गुरुले दिएको मन्त्रोच्चारण गर्न थाल्यो, उसको दिमागमा बाँदरहरु नाच्न थाले । त्यस्तो नहोस् भनेर ऊ अत्यन्त सतर्क थियो । उसको सतर्कताले उल्टो काम ग¥यो । रात प¥यो, बिहान भयो । अनेक कोसिस गर्दा पनि उसले आफ्नो दिमागबाट बाँदरहरुलाई हटाउन सकेन । यस्तो पहिला कहिल्यै भएको थिएन ।
कुनै कुराका बारेमा सोच्दिनँ भन्यो भने मनमा त्यही कुरा खेलिरहन्छ । यो मानव मनको स्वभाव हो । यही कारणले मन धेरैका लागि चिन्ता र तनाव मात्र उत्पादन गर्ने कारखाना बनेको छ ।

नयाँनयाँ सोच राखेर अगाडि बढ्नुभन्दा जीवन सहज बनाउँदा खुसी धेरै मिल्छ । खुसीको बेलामा गरिएको विचार झनै शक्तिशाली बन्छ र त्यसले घरिघरि दुःख पनि दिँदैन । काम गर्न थालेपछि त्यस काममा पूरै ध्यान दिँदा त्यही कामसँग सम्बन्धित योजना बन्छन्् र ती योजनाले मन चञ्चल गराउँदैनन् । 

त्यसैले नयाँ वर्षमा ‘म यस्तो गर्छु, त्यस्तो गर्छु’ भनेर योजना बनाउनुभन्दा पनि जीवन सहज बनाउनतिर लाग्नुपर्छ । यसरी अगाडि बढियो भने झनै धेरै खुसी र सफलता पाउन सकिन्छ । 







यसमा तपाईको मत

अन्य समाचार

“नाडा अटो शो २०१९” आयोजना गरिने

“नाडा अटो शो २०१९” आयोजना गरिने

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० देखि १५ गते सम्म ...

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

एलबिइएफको पहिलो दिक्षान्त

एलबिइएफको पहिलो दिक्षान्त

एसिया प्यासिफिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लर्ड बुद्घ एजुकेसन फाउन्डेसन क्याम्पसले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । ...

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

नाडा अटो सो २०१९ मा टाटाले नयाँ एसयुभी गाडी ह्यारियरलाई एच फाइभ नाम दिएर नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ।

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad