७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अनुहारको सर्जरी कसरी गर्ने ?

डाक्टर जश्वन शाक्य
मेडिकल डाइरेक्टर शुष्मा कोइराला मेमोरियल अस्पताल 
एवं स्वस्ती लेजर एन्ड स्किन केयर  

अनुहारको सर्जरी 

अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । सर्जरी  अनुहारको अंग–अंगको हुने गर्छ । आँखा, कान, छाला, नाक आदिको सर्जरी गरेर पूरै अनुहारको सर्जरी गर्ने गरिन्छ । 

अनुहारको सर्जरी २ किसिमको हुन्छ । पहिलो रिकन्स्ट्रक्टिभ सर्जरी र दोस्रो कस्मेटिक सर्जरी । 

रिकन्स्ट्रक्टिभ सर्जरी

यदि अनुहार पोलिएको छ भने अथवा पूरै अनुहारमा रौं आएको छ भने त्यसलाई हटाउनका लागि गरिन्छ । अनुहार अंगभंग भएर नराम्रो देखिएको छ भने त्यसलाई हटाउनका निम्ति पनि यस प्रकारको सर्जरी गरिन्छ । पहिले राम्रै्र भएको तर पछि बाहिरी कारणले अनुहार बिग्रेको छ भने रिकन्स्ट्रक्टिभ सर्जरी गर्ने गरिन्छ । 

कस्मेटिक  सर्जरी

कस्मेटिक सर्जरी अनुहार राम्रो बनाउनका लागि गर्ने गरिन्छ । विशेष गरेर आफूलाई सुन्दर देखाउन चाहनेहरूले यस प्रकारको सर्जरी गर्ने  गरेका छन् । 

विदेशमा कलाकारहरु धेरैले यो सर्जरी गर्ने गरेका छन् । जसले अनुहारसँगको काम गर्छ त्यसले यस प्रकारको सर्जरी गर्ने गरेका छन् ।  

विशेष गरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ । शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गर्ने गरिन्छ । नेपालीहरू खासै प्लास्टिक सर्जरीबारे जानकार छैनन् । 

कसरी गर्ने कस्मेटिक सर्जरी 

यस प्रकारको सर्जरी गर्दा अरूको लहैलहैमा लागेर गर्नुभन्दा राम्रोसँग बुझेर गर्नुपर्ने हुन्छ । कस्मेटिक सर्जरी दुई प्रकारले गर्न सकिन्छ । एउटा सर्जरी र अर्को सुइको माध्यमबाट । जुनसुकै उमेर समूहका मानिसले कस्मेटिक सर्जरी गर्न मिल्छ । विशेषगरी नेपालमा युवा वर्गले प्लास्टिक सर्जरी गर्ने गर्छन् । त्यस्तै जन्मजात अनुहारमा वा शरीरको देखिने भागमा कुनै प्रकारको खो, खुँडे भएका युवाले आफ्नो सुन्दरताका लागि कस्मेटिक सर्जरी गर्ने गरेका छन् । 

प्लास्टिक तथा कस्मेटिक सर्जरी गर्दा डाक्टरहरूसँग धेरैे समय लिएर काउन्सिलिङ गरेर मात्र गर्नु उपयुक्त हुन्छ । यो लहडको भरमा गरिने कुरा होइन । आफूले सर्जरी किन गर्ने, गरेपछिको अवस्था कस्तो हुन्छ भन्नेबारे पहिले नै जानकार रहनुपर्ने हुन्छ । 

कस्मेटिक सर्जरी नेपालमै गरिँदै आएको छ । नेपालमा सर्वसुलभ ढंगले यो सेवा पाइन्छ । नेपालमा रहेका युवा प्लास्टिक सर्जरीका लागि विदेश पनि जाने गरेका छन् तर हङकङ, जापान, बेलायततिर बस्ने नेपाली भने उताभन्दा यता सस्तो पर्ने भएकाले यतै आउने गरेको डाक्टर शाक्यले बताए । 

कस्तो अवस्थामा गरिन्छ सर्जरी ?

साना आँखालाई अलि ठूलो, आकर्षक र चिम्सो आँखालाई लाम्चो  देखाउन यो सर्जरी गरिन्छ । झोलिएको छाला, नमिलेको गाला, निधार आदि मिलाउन, आगोले पोलेको दाग हटाउन, बाङ्गो कान सामान्य जस्तै बनाउन । खँुडे ओठ बनाउन, ओठ सानो वा ठूलो बनाउन । (यो इन्जेक्सनबाट पनि गराउन सकिन्छ ।) आँखाको तलपट्टि जमेको बोसो र कालो भाग हटाउन ।

कस्मेटिक सर्जरीको मुख्य उद्देश्य अनुहारलाई आकर्षक बनाउन हो । 

पूरै अनुहारको सर्जरी गर्दा लाग्ने खर्च 

कस्मेटिक सर्जरी गर्दा कुन भागको सर्जरी गरेको हो, त्यहीअनुसार खर्च लाग्छ । अस्पतालअनुसार पनि फरक–फरक मूल्य तिर्नुपर्ने हुन सक्छ । त्यसैले कस्मेटिक सर्जरी गर्न यति नै खर्च लाग्छ भनेर उल्लेख गर्न सकिँदैन । जति जटिल शल्यक्रिया भयो, त्यति नै खर्च महँगो पर्छ । सामान्यतया नेपालमा आँखाको ४० देखि ५० हजारसम्म त्यस्तै झोलिएको छाला तन्काउन बोटक्स इन्जेक्सनको माध्यमबाट ६०÷७० हजारदेखि १ लाखसम्म खर्च लाग्छ । अरू सामान्य सर्जरी गर्दा ५० हजार जति लाग्ने गर्छ । कान सिधा बनाएको न्यूनतम २५ हजारदेखि अधिकतम ६० हजारसम्म लाग्ने गरेको छ ।  

प्लास्टिक सर्जरी वा कस्मेटिक सर्जरी जे भने पनि मुख्यतः यो काटेरै गर्ने सर्जरी हो । तर, अनुहारको सर्जरी गर्दा नदेख्ने भागको छाला काटेर जोड्ने भएकाले त्यसमा दाग देखिँदैन । 

अनुहारमा कस्मेटिक सर्जरी गरेपछिको अवस्था

कस्मेटिक सर्जरी गरेपछि सामान्य अवस्थामा आउन एकदेखि चार हप्तासम्म लाग्न सक्छ । सर्जरी गर्दा सुन्निने वा निलो डाम बस्ने भएकाले त्यो निको हुन समय लाग्ने गर्छ । त्यसकारण केही समय आराम गर्नुपर्ने हुन्छ । 

कस्मेटिक सर्जरीको ‘साइडइफेक्ट’

कस्मेटिक सर्जरी गर्दा खासै ‘साइड इफेक्ट’ नहुने भएकाले डराउनु पर्दैन । तथापि, शल्यक्रियापछि केही न केही समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर आफ्नो हेरचाह गर्नुपर्छ । अन्य शल्यक्रियामा जस्तै यसमा पनि औषधि सेवन गर्नुपर्छ । 

प्रकाशित: ३१ वैशाख २०७५ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App