coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

खुसीको खोजी

हामी नयाँ वर्ष २०७५ मा प्रवेश गरेका छौं । नयाँ वर्षमा धरैजसोका नयाँ योजना हुन्छन्, नयाँ–नयाँ जोस र जाँगर जागृत हुन्छन् । हिजोका कमीकमजोरीहरू पहिल्याउँदै नयाँपनको खोजीमा हुन्छन् मानिसका मनहरू । नयाँ वर्षको अवसरमा नेताहरू, सामाजिक अभियन्ताहरूले औपचारिकताका मिठा–मिठा सन्देशहरू प्रसारित, प्रकाशित गर्ने गर्छन् । निश्चय नै नेपाल अहिले नयाँ युगमा प्रवेश गरेको छ । आम नेपाली नयाँ राजनीतिक प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्व प्राप्त हुने, मुलुकले विकासको फड्को मार्ने, आम नेपाली समृद्धिको यात्रामा लम्कने प्रचारबीच छ नेपाली समाज यतिखेर । 

निश्चय नै हामी नयाँ सामाजिक, राजनीतिक माहोलमा छौं । २०७४ मा यो हिमाली मुलुकमा तीन तहका चुनाव सम्पन्न हुन सके । स्थानीय तहमा सरकारहरू बनेका छन् । दुई दशकपछि जनताले आफ्नो घरआँगनमा आफ्ना प्रतिनिधिहरूको सरकार प्राप्त गरेका छन् । नेपालमा नयाँ प्रयोग प्रदेश सरकारले आकार लिएको छ र केन्द्रमा स्थायी सरकार गठनको अवस्था छ । २०७२ मा नेपाली जनताले बनाएको संविधान कार्यान्वयनको कसीमा छ । नेपालको नयाँ राजनीतिक प्रयोग संघीयताले आकार लिँदै गरेको छ । हिजोका अस्थायी सरकार गठनका तिता अभ्यासबीच स्यायी सरकारको उपस्थितिले आम नेपालीमा आशा जगाएको अनुभव गरिँदैछ । 

नेपाली समाज पार्टी राजनीतिबाट प्रभावित भएकोले राजनीतिले आर्थिक, सामाजिक र आम नागरिकको दैनिकीसँग सरोकार राख्दछ । यस आधारमा नेपालमा शान्ति, समृद्धि ल्याउने, भौतिक पूर्वाधारहरूको विकास पस्कने उद्घोषहरू भएका छन् । सम्पन्नताको सपना बाँड्ने कुराहरू भइरहेका छन् । निश्चय नै मानिसका आवश्यकताहरूको सम्बोधन हुनुपर्छ । आम आवश्यकता के–के हुन् ? आधारभूत आवश्यकता भनेर के–के पर्छन् ? अहिलेको मानिस खास गरेर युवा पुस्ता जनसंख्याका हिसाबले, जसको बाहुल्य छ मुलुकमा त्यो ठूलो समूह भन्ने करिअरको दौडमा छ, क्रेडिटकार्डको उधारो जिन्दगी जिउन थालेको छ र भौतिक सम्पन्नतालाई सफलताको मापक बनाइरहेको छ । उसको जीवनशैली त्यसले निम्त्याउने निराशाबारे गम्भीर चिन्तन र बहस आवश्यक देखिएको छ । भौतिक प्रगति, सम्पन्नताले खुसी ल्याउँछ भन्ने मान्यताले  पश्चिमा समाजमा जरा गाडेको थियो । तर भौतिक विकास र सम्पन्नताले भरिपूर्ण हुन सके पनि ठूलो संख्यामा पश्चिमाहरू अनिद्राले आक्रान्त जीवन बिताइरहेका छन् । पारिवारिक विग्रह सामाजिक, पारिवारिक जीवनलाई चुनौती दिइरहेको अवस्था छ ।  पश्चिमको त्यसको प्रभाव पूर्वीय दर्शन मान्नेहरूमा परिरहेको अवस्था छ अहिले पनि तर पछिल्लो समय सम्पन्नता, सुविधाले खुसी ल्याउन सक्ने रहेनछ भन्ने कुराको सोधीखोजी हुन थालेको छ । सामाजिक सोधकर्ता, अनुसन्धान कर्ताहरू, समाजशास्त्री, मानवशास्त्री, चिकित्सक र वैज्ञानिकहरू मानिसको खुसी भौतिक र आर्थिक सम्पन्नताभन्दा भिन्न हो भन्ने निचोडमा पुगेको देखिन्छ  र पश्चिमा जगत पूर्वीय दर्शनले हजारांै वर्षदेखि भन्दै आएको मानिसको खुसी बाह्य कुरामा होइन अन्तर आत्मामा मानिस आफैँभित्र हुन्छ भन्ने मान्यता विश्वास गर्न थालेका छन् । पूर्वीय दर्शनले योग, ध्यान र ईश्वर प्राप्तिको आस्था, विश्वास र भगवान् भक्तिभित्र खुसी लुगेको बताउँदै आएको थियो । 

हाम्रो नेपाली समाजसामु अहिले राजनीति गर्नेहरूले विकासका नारा अघि सारेका छन् । भौतिक प्रगति, सम्पन्नता प्राप्तिको सपना देखाइएको छ । राजनीतिको बागडोर सञ्चालन गर्नेहरूले विकासका साथसाथ आम जनतालाई खुसी कसरी बनाउन सकिन्छ भन्ने योजना पस्कन आवश्यक छ । कोरा विकासे नाराले भौतिक प्रगति हुन्छ । तर, त्यसले मानवीय शान्ति ल्याउन सकेन भने त्यो विकासको अर्थ रहँदैन । पश्चिमा समाजले अहिले भोगिरहेका समस्यालाई ख्याल राखेर जनतालाई खुसी तुल्याउने नीति र कार्यक्रममा सरकारको ध्यान जान जरुरी देखिन्छ । परिवारको यस अंकमा हामीले मानवीय खुसीसँग जोडिएर भइरहेको अध्ययन, अनुसन्धानका साथ खुसी प्राप्त गर्ने सुझावहरू पेश गरेका छौं । 

न्यायमूर्ति सुशीला कार्की र नेपालको सशस्त्र राजनीतिमा विमान अपहरणको साहसिक काम गरेका दुर्गा सुवेदीको जीवन यात्रालाई पेश गरेका छौं । पाथिभराको धार्मिक यात्रा, जापानको यात्रा अनुभव, भारतको राजस्थान यात्रा, नेपालका विभिन्न स्थानका यात्रा अनुभवहरू समावेश गरेका छौं । नेपालको अर्थतन्त्र र उद्यम, व्यापारको अवस्थाको वर्तमान चित्रण कर्पोरेट कुराकानीमा राखेका छौं ।  

मानिसको सुन्दर बन्ने शौखका विभिन्न पाटा, प्रविधि र चिकित्सकीय उपचार पद्धतिका बारेमा समाचारमूलक सामग्री पेश गरेका छौं । कपालको स्याहार कसरी गर्ने,  स्तनको आकार कसरी बढाउने, चिम्सो आँखालाई लाम्चो र ठूलो कसरी बनाउने जस्ता अहिले चल्तीमा रहेका फेसनहरूबारे विस्तृतमा समाचार सामग्री पेश गरेका छौं । फेसन टक, क्याजुअल कुराकानी, अध्यात्म विज्ञानलगायतका नियमित स्तम्भ सदाझैं समावेश छन् । हामीले विश्वास गरेका छौं, नागरिक परिवारको यो अंक पाठकहरूका लागि पठनीय हुने छ । 

नयाँ वर्ष २०७५ ले आम नेपाली जनमानसमा सुख, शान्ति र समृद्धि ल्याओस् । शुभकामना । 

प्रकाशित: ३१ वैशाख २०७५ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App