७ वैशाख २०८१ शुक्रबार
समाज

यसरी हुँदैछ सुरुङमार्ग ‘फाइलन फिनिसिङ’

सिन्धुपाल्चोक – महिनाअघि ‘ब्रेक थ्रु’ भएको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गलाई ‘फाइलन फिनिसिङ’ दिएर आगामी तीन महिनाभित्रै पानी ओसार्ने हालतमा पु-याइने भएको छ।     २६ किलोमिटर लामो सुरुङको सबैभन्दा जटिल सुरुङ छेड्ने काम सकिएकाले मेलम्ची खानेपानी आयोजना र सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी फाइलन फिनिसिङको काममा केन्द्रिकृत भएका हुन्।

‘जटिल काम सकिएकाले अब कसैले बाहानावाजी गर्ने ठाउँ छैन,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘सुरुङलाई अन्तिम रुप दिन दत्तचित्त भएर लागेका छौँ।’ सुरुङमार्गको फिनिसिङमा साढे तीन महिना समय लाग्ने अनुमान गरिएकोमा चार किमी ढलान भइसकेको छ। चार वर्षमा सक्ने लक्ष्य राखेर खन्न थालिएको मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग भाका सार्दै सात वर्ष लगाएर गत चैत २७ गते प्राविधिक रुपमा ब्रेक थ्रु भएको थियो।

साउनभित्रै सुरुङमार्गलाई अन्तिम रुप दिने विषयमा बिहीबार खानेपानीमन्त्री विना मगर, खानेपानी सचिव कृष्णराज बिसी, आयोजनाका अधिकारी र ठेकेदार कम्पनीका प्रतिनिधिबीच छलफल भएको थियो। छलफलमा ठेकेदारका प्रतिनिधिले सरकारले दिएको समय सीमाभित्र सुरुङ फाइनल फिनिसिङको काम सक्ने कार्ययोजना प्रस्तुत गरेको कार्यकारी निर्देशक देवकोटाले बताए।

‘अब ढलान र फाइलन फिनिसिङको काममा मात्र केन्द्रित हुँदै छौँ, ’ठेकेदार कम्पनीका प्रतिनिधिको प्रतिवद्धता सुनाउँदै कार्यकारी निर्देशक देबकोटाले भने, ‘अबको तीन साताभित्रै ह्वात्तै काम गरेर देखाइदिने छौँ।’ उनका अनुसार तीन अडिटमार्गका सातमध्ये एकसाथ ६ स्थानबाट ढलानको काम थाल्ने कार्ययोजना ठेकेदारले पेश गरेको छ। यसका निम्ति दैनिक झण्डै ३ सय कामदार परिचालन गरेर प्रतिदिन २ सय १० मिटरभन्दा बढी सुरुङ संरचना ढलान गर्ने उसको तयारी छ।

आयोजनाका अनुसार सुरुङमार्गलाई पानी ओसार्ने हातलमा पु-याउनुअघि सुरुङको समथर जमिन सम्याउनु पर्ने छ। त्यसपछि सुरुङको गोलो भागमा लामा–लामा छड तेर्साएर ढलान गरिनेछ। साथै डेढ किमी लामो अडिट सुरुङसमेत ढलान गरेर त्यहाँ ढोका बन्द गर्नुपर्छ। सिन्धु, ग्याल्थुम र अम्बाथनमा तीन अडिटमार्ग छन्। मुख्य सुरुङ खनिने क्षेत्रमा पुग्न अडिट सुरुङ खनिएको थियो। यी काम सकेपछि मात्र सुरुङको फाइलन फिनिसिङ सम्पन्न हुने छ।

‘जसरी मुख्य सुरुङमार्गमा ढलान गरिन्छ। अडिट सुरुङ पनि यसै गरी ढलान गर्नुपर्ने हुन्छ,’ कार्यकारी निर्देशक देवकोटा भन्छन्, ‘ बेला–बेलामा सुरुङ सरसफाइ गर्नुपर्दा अडिट सुरुङ प्रयोग गर्नुपर्ने भएकाले अडिट सुरुङ अझ महत्वपूर्ण छ।’ ठेकेदारले प्रतिवद्धताअनुसार काम गरे साउनसम्म सुरुङ फाइलन फिनिसिङको काम सकेर भदौ पहिलो सातासम्म मेलम्ची पानी सुन्दरीजल झर्ने देवकोटा बताउँछन्।

सरकारले आगामी दसैंमा उपत्यकावासीलाई मेलम्ची पानी उपहार दिने लक्ष्य लिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मेलम्ची सुन्दरीजल झर्ना साथ उपत्यकावासीको घर–घरमा पानी वितरण गर्न सक्ने तयारी अवस्थामा छ। तत्काललाई नयाँ र पूराना पाइपलाईन सञ्जालबाट पानी वितरण गर्ने केयुकेएलको तयारी छ। नयाँ पाइप लाइनले पूर्ण रुपमा काम गर्न थालेपछि पूराना पाइप सञ्जाल विस्थापन गर्दै जाने केयुकेएलले जनाएको छ।

 पहिलो चरणमा मेलम्चीबाट राजधानी पुग्ने दैनिक १७ करोड लिटर पानी प्रारम्भिक संकलन र उपचार गर्न सुन्दरीजलमा साढे ८ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण भइसकेको छ। त्यति नै क्षमताको निर्माणाधीन अर्को प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

मुहान (हेडवक्र्स) मा इन्टेक बनाउन भने अझै केही समय लाग्ने छ। तर यसले मेलम्ची पानी उपत्यका पुग्न रोकिने छैन।

रोयल्टी दिन छलफल सुरु
मेलम्ची प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टी दिन सरकारले गृहकार्य थालेको छ। मेलम्ची लैजानुपूर्व नै रोयल्टी निर्धारण गर्न प्रभावित बासन्दाले सुरुदेखि नै माग गर्दै आएका थिए। चैत २९ गते मेलम्चीमा सुरुङ औपचारिक ब्रेक थु्र घोषणा कार्यक्रममा समेत स्थानीयले रोयल्टी तय गर्न विशेष जोड दिएका थिए।

‘खानेपानी मन्त्रालयले रोयल्टीबारे छलफल सुरु गरिसकेको छ,’ कार्यकारी निर्देशक देवकोटाले भने, ‘छलफलले गति लिइसकेकाले अब रोयल्टीबारे समयमै निर्णय हुने छ।’ उनका अनुसार रोयल्टीबारे प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पुगिसकेको छ। मन्त्रालयले करिब ६ महिनाअघि रोयल्टीबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाको संयोजकत्वमा समिति गठन गरेको थियो।

अध्ययनपछि उक्त समितिले मन्त्रालयमा प्रारम्भिक प्रतिवेदन मस्यौदा पेशसमेत गरिसकेको छ। उक्त प्रतिवेदन अध्ययन पश्चात मन्त्रालय विज्ञसहितको अझ ठूलो समिति बनाउएर विस्तृत अध्ययन गर्ने निर्णयमा पुगेको देवकोटाले जनाए। उनका अनुसार यसको जिम्मेवारी मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई दिएको छ। ‘खानेपानी क्षेत्र हेर्ने आयोगका सदस्यको संयोजकत्वमा विज्ञ सम्मिलित टोली बनाइ काम थाल्न परिपत्रसमेत भइसकेको छ,’ उनले भने।

आयोगका अधिकारी रोयल्टी तोक्ने काम निकै चुनौतीपूर्ण रहेको बताउँछन्। उनीहरुका अनुसार एउटा खानेपानी मुहानको रोयल्टी तोक्दा देशैभरको मुहानमा असर पार्ने बताउँछन्। ‘त्यसैले मेलम्ची रोयल्टी निर्धारण गर्दा बुद्धिमतापूर्वक निर्णय गर्नु पर्ने हुन्छ,’ एक अधिकारीले भने, ‘अन्य मुहानमा असर नपर्ने गरी रोयल्टी तोक्न सकस परिरहेको छ।’ उनका अनुसार विभिन्न मुलुकमा खानेपानी मुहान क्षेत्रका बासिन्दालाई रोयल्टी दिएको प्रसस्त उदाहरण भेटे पनि नेपालमा भने यो नौलो विषय हो।

प्रकाशित: ३१ वैशाख २०७५ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App