८ वैशाख २०८१ शनिबार
अर्थ

चीनको केरुङमा पार्किङ शुल्क बढाइयाे

चीनको केरुङमा पार्किङका लागि राखिएको कन्टेनर ।

रसुवा– चीनको केरुङमा पार्किङस्थलको सङ्ख्या बढेसँगै पार्किङ शुल्कमा वृद्धि भएको छ । पार्किङ शुल्क बढेपछि नेपाली व्यापारी मारमा परेका छन् । 
यसअघि दुई वटा पार्किङस्थल रहेकोमा अहिले एउटा थप भएको छ । नेपालबाट सामग्री लिन केरुङ पुगेका कन्टेनरले तीन वटै पार्किङमा शुल्क बुुझाउनुपर्ने भएको व्यापारीले बताएका छन् । पार्किङ शुल्क बापत दैनिक ५० आरएमबी तिर्नुपर्ने हुन्छ । 
‘पहिले चिनियाँ भन्सार अगाडि रहेको पार्किङस्थलमा गाडी राख्थ्यौं,’ नेपाली व्यापारी पुरुषोत्तम पौडेलले भने, अहिले तीनवटै पार्किङमा गाडी राख्नुपर्दा समस्या भएको छ ।’ तीनवटा पार्किङ परिवर्तन गरेर गाडीमा शिल लगाउँदा चार सयदेखि पाँच सय आरएमबी लाग्ने गरेको उनले बताए । 
यसअघि दुई वटा पार्किङ रहेको अहिले एउटा थप भएपछि दोहोरो शुल्क बुझाउन परेको सवारी चालक हरिशरण न्यौपानेले बताए । ‘पहिले हामीले एउटा पार्किङमा मात्रै शुल्क बुझाउथ्यौँ,’ सवारी चालक न्यौपानेले भने, अहिले तीन ठाउँमा नै शुल्क बुझाउनुपर्छ ।’
पार्किङ शुल्कबापत दैनिक ५० आरएमबी र शिल लगाएको १०० आरएमबी शुल्क तिर्नुपर्ने हुन्छ । यसअघि गाडी पार्किङ गर्दा करिब दुई सय ५० आरएमबी तिर्दै आएका थिए । रेडिमेट सामग्री आयात गर्दा थोरै समय बस्नुपर्ने र स्याउ आयात गर्दा ६ दिनदेखि नौ दिनसम्म बस्नुपर्ने नवराज लामिछानेले बताए । 
केरुङमा रहेका व्यापारी र सवारी चालकले समस्याबारे जानकारी गराएको र आगामी बैठकमा एजेण्डा प्रस्तुत गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलेले जानकारी दिए । ‘व्यापारी र चालकले यो बारेमा हामीलाई जानकारी गराएका छन्,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, अब हुने द्धिपक्षिय बैठकमा हामीले यस बारे छलफल गर्छौं ।’
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । 
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख ३० गतेसम्ममा तीन अर्ब तीन करोड ११ लाख राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए । 
२०७१ सालदेखि औपचारिकरूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: ३१ वैशाख २०७५ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App