४ वैशाख २०८१ मंगलबार
समाज

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सगरमाथा आधार शिविर । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु– चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ। आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो।

विभिन्न आरोहण कम्पनीमा आबद्ध आठै जनाले चुचुरोमा पाइला टेक्दै सन् २०१८ को पहिलो आरोही दल समेत बनेका छन्। डोरी टाँग्दै चुचुरामा पाइला टेक्नेहरूमा पासाङ तेन्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पादेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र दाटुक भोटे रहेका छन्। 

सगरमाथा आधार शिविरमा रहेका सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार दिउँसो साढे ३ बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । यो सँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ । सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही छन्, सोमबार ५० भन्दा बढी नै आरोही चुचुरोमा पुग्ने अनुमान गरेका छौँ ।’ आजबाट आरोहीहरू धमाधम समिटमा जानेछन्। 

हरेक वर्षको चैतदेखि सुरु भई जेठ महिनासम्म सगरमाथा आरोहणको लागि उपयुक्त सिजन मानिन्छ । सगरमाथा चढ्नुभन्दा अगाडि आरोहीहरूले उचाई पचाउनका लागि साना हिमालहरु चढेर अभ्यास गर्ने गर्छन्। धेरैजसो आरोहीहरू आइल्यान्ड पिक चढ्ने गर्छन्। सगरमाथा अरोहणका लागि आरोहीले प्रमिशन शुल्कवापत ११ हजार अमेरिकी डलर अर्थात ११ लाखभन्दा बढी रुपैयाँ बुझाउनुपर्छ।  

 

प्रकाशित: ३१ वैशाख २०७५ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App