८ वैशाख २०८१ शनिबार
अर्थ

इरानले २० अर्ब डलरमा सय जहाज किन्ने घोषणा

तेहरान– इरानले केही वर्षदेखि एकैपटक सय थान ठूला जहाज खरिद गर्न खोजे पनि अमेरिका र युरोपबाट सकारात्मक जवाफ पाउन सकेको छैन । अमेरिकाले त उसलाई जहाज नबेच्ने घोषणा नै गरिसकेको छ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङबाट नकारात्मक जवाफ आएपछि इरान बोइङको प्रतिस्पर्धी युरोपको एयरबससँग जहाज खरिद गर्ने उद्देश्यले अगाडि बढेको छ । पछिल्लो समय युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट सकारात्मक जवाफको पर्खाइमा बसेको छ ।इरानले १८ देखि २० अर्ब अमेरिकी डलरमा एकैपटक सय थान जहाज खरिद गर्न लागेको करिब तीन वर्ष भइसकेको छ । इरानले सुरुमा अमेरिकाको बोइङलाई जहाज बेच्न प्रस्ताव गरेको थियो र जहाज निर्माता बोइङले प्रस्ताव स्वीकार गरेपछि सन् २०१६ डिसेम्बरमा दुवै पक्षबीच जहाज खरिद–बिक्री समझदारीमा हस्ताक्षर भएको थियो ।

तर, डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएर आएलगत्तै अमेरिकाले इरानको आणविक हतियार निर्माणमा विरोध गर्दै उसमाथि प्रतिबन्ध लगाएको थियो । र, त्यसपछि बोइङ र इरानबीचको अर्बौं डलरको समझदारी ठाउँको ठाउँ खारे भएको थियो ।अमेरिकाको कदमपछि जहाज खरिद गर्ने प्रस्ताव लिएर इरान सिधै युरोपको एयरबसमा पुगेको थियो । त्यसयता एयरबसको जवाफ कुरेर बसेको इरानले युरोपबाट सकारात्मक जवाफ पाउने छनक पाएको छ ।

‘आगामी केही दिनभित्रै एयरबसले हामीलाई जहाज बेच्ने निर्णय सार्वजनिक गर्ने छ,’ इरानका सडक तथा सहरी विकास मन्त्री अस्घर फखेरी–कसनले भने, ‘हामी त्यही दिनको व्यग्र प्रतीक्षामा छौं ।’ यसअघि बोइङसँग जहाज खरिद–बिक्री समझदारी भए पनि रकम लेनादेना भने नभएको उनले प्रष्ट पारे । इरानी मन्त्रीको भनाइबारे एयरबसका एक प्रवक्ताले प्रतिक्रिया दिन अस्विकार गरे ।इरानले जहाज खरिद संख्या बढाउँदै २ सयसम्म पुर्याउने र रकम पनि ३८ अर्ब डलरभन्दा बढी हुने थियो । तर, इरानमाथि अमेरिकाको प्रतिबन्धका कारण ठूलो परिमाणको समझदारी तुहिएको थियो।

इरानको सरकारी वायुसेवा कम्पनी इरान एयरले एकैपटक २ सयथान जहाज खरिद अर्डर गरेको थियो । यसमा बोइङ र एयरबस दुबैसँग अर्डर गरिएको थियो । जसमा १ सयथान एयरबससँग, ८० थान बोइङसँग र बाँकी २० थान युरोपको फ्रान्सस्थित जहाज निर्माता कम्पनी एटिआरसँग खरिद गर्ने इरानको प्रस्ताव थियो ।इरानले अधिकांश जहाज युरोपबाट खरिद गर्न खोजे पनि त्यहाँ उत्पादन हुने जहाजका धेरैजसो पुर्जा अमेरिकामा निर्माण हुने गर्छन् । अमेरिकाको अनुमतिबिना युरोपले पनि इरानलाई ठाडै जहाज बेच्न सक्दैन ।

इरानले पनि हालसम्म यात्रु ओसारपसार गर्ने ११ थान जहाजमात्र आयात गर्न सफल भएको छ । जसमा ८ थान एयरबससँग खरिद गरेको थियो भने बाँकी ३ थान फ्रान्स र इटालीको संयुक्त लगानीको कम्पनी एटिआरसँग खरिद गरेको थियो ।‘विगतमा बोइङ र एयरबस दुवैसँग भएका वार्तामा जहाज खरिद–बिक्री समझदारीबाट बाहिरिने सम्भावना हामीले एकछेउ पनि देखेका थिथएनौं,’ मन्त्री कसनले भने, ‘समझदारीपत्रमा पनि यसबारे एक शब्द उल्लेख गरिएको थिएन ।

प्रकाशित: ३१ वैशाख २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App