८ वैशाख २०८१ शनिबार
राजनीति

भाजपा सांसदलाई कारबाहीको माग

जनकपुरधाम – भारतीय जनता पार्टी (भाजपा) का सांसद कृति झा आजादले नेपाली भूभागलाई भारतीय मिथिलासँग जोडेर विवादित वक्तव्य दिएको प्रति चौतर्फी विरोध सुरु भएको छ। झाले मिथिलाको राजधानी जनकपुरलाई दुई सय वर्ष अघि तत्कालीन ब्रिटिश शासकले नेपाललाई सुम्पेको उल्लेख गर्दै अब भारत सरकारले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्ने ट्विट गरेका छन्। ‘आदरणीय नरेन्द्र मोदीजी जनकपुरधाम मिथिलाको राजधानीमा तपाईलाई स्वागत छ। दुई सय वर्ष अगाडि अंग्रेस र नेपालबीच भएको सन्धीमा मिथिलाको केही भागलाई नेपालाई सुम्पिएको थियो जो समाप्त भइसकेको छ। अनुरोध छ यसलार्ई फिर्ता लिएर माता सीतालाई आदरगरी मिथिला राज्य गठन गरौं,’ आजादले ट्विटमा लेखेका छन्।

यसको विरोधमा धनुषा कांग्रेसले आइतबार जनकपुरमा पत्रकार सम्मेलनगरी कडा विरोध जनाएको छ। ‘नेपालको भूमिलाई भारतीय बताउने विवादित भाजपाका सांसद कृति झा आजादलाई तत्काल कारबाहीको लागि भारत सरकारसँग माग गर्छु र नेपाल सरकारलाई आपत्ति जनाउन अनुरोध गर्छु,’ पत्रकार सम्मेलनमा कांग्रेसका धनुषा सभापति रामसरोज यादवले भने। उनले कुनैबेला नेपालकै भूमिमा रहेको दरभंगा (बिहार) लाई पुनः नेपालमा फर्काउन सरकारसँग माग पनि गरे। आजाद दरभंगाबाटै तेस्रोपटक निर्वाचित भाजपा सांसद हुन्।

प्रदेशसभा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले तीन पटक सांसद भइसकेका आजादले इतिहासलाई अपमान गर्ने वक्तव्य दिएको टिप्पनी गरे। ‘समान्य इतिहासको ज्ञान नभएका कृति झा आजादलाई तत्काल कारबाहीको लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु,’ मण्डलले नागरिकसँग भने, ‘कुनै देशको भूभागलाई जथाभावी बोलेर अपमान गर्ने अधिकार कसैसँग छैन।’

प्रकाशित: ३१ वैशाख २०७५ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App