coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग विकास र समृद्धिको खाका छैन्ः पौडेल

सुर्खेत- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उखान टुक्काबाहेक देशको विकास र समृद्धिको खाका नभएको आरोप लगाए। ‘यतिका समयसम्म प्रधानन्यायाधीश नियुक्त गर्न नसक्ने सरकारले कहाँबाट देशको विकास गर्छ’ आइतबार नेपाल तरुण दलको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘उखान टुक्काले देशको विकास र समृद्धि आउँदैन्।’

नेता पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट वर्तमान सरकारले कुनै फाइदा लिन नसकेको पनि बताए । ‘लगानीनै नजुटाइसकेको अरुण तेस्रोको काठमाडौंमा बसेर स्वीच थिच्नु बाहेका वर्तमान सरकारले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट कुनै उपलब्धी हासिल गर्न सकेन्’ उनले भने, ‘सरकार जनताको अघाडि नाङ्गिने दिन सुरु भइसकेको छ।’

४५ मिनेटजति भाषण गरेका पौडेलले अधिकांस समय पार्टी सभापति शेरबहादुर देउवाको विरोधमै खर्चिए। उनले पार्टी सभापतिका हैसियतले तीन वटै तहमा कांग्रेस हारको नैतिक जिम्मेवारी देउवाले लिनुपर्ने बताए। ‘कम्युनिष्ट मिलेर कांग्रेसले चुनाव हार्यो भन्नु हाँस्यास्पद हो’ उनले भने, ‘हारको कारण पार्टीभित्रै छ, यसको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ।’

उनले पार्टीमा एकलौटी गर्नेहरु अपराधी भएको भन्दै विधि र विधानको दायराभित्र रहेर सहमति र सहकार्यमा आधारमा पार्टी सञ्चालन गर्न देउवालाई आग्रह गरे । ‘अहिले पार्टीको शिद्धान्तले जितेको छ, संगठनले हारेको छ’ उनले भने, ‘यसको प्रमुख कारण पार्टीमा एकलौटी र बहुमतको दम्भ नै हो ।’ उनले तरुण दलसहित पार्टीका सबै भातृ संगठनहरुलाई जनताको स्वार्थसँग जोडिएर काम गर्न निर्देशन पनि दिए ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले सरकारमा रहँदा गरेका राम्रा काम, कांग्रेसको विचार र शिद्धान्त आम जनतालाई बुझाउन नसक्दा हार व्यहोर्नु परेको बताए । ‘कांग्रेस कमजोर छैन्, आम जनतालाई कांग्रेसले गरेका गतिविधि, विचार र शिद्धान्त बुझाउन नसक्दा हामीले हारेका हौं’ उनले भने, ‘अव सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाहीले युवा शक्तिलाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बेला आएको बताए । उनले गुटरहित कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रममा केन्द्रीय सदस्य हृदयराम थानी, तरुण दलका अध्यक्ष जीतसँग बस्नेत, पूर्व केन्द्रीय अध्यक्ष उदयसम्शेर राणा, रन्जीत कर्ण, पूर्वमन्त्री तप्तबहादुर विष्ट, तरुण दल सल्यानका अध्यक्ष सन्तोष केसीलगायतले बोलेका थिए । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार प्रतिक्षण कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट तरुणहरु सुर्खेतमा आएका छन्।

 

प्रकाशित: ३० वैशाख २०७५ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App