coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दार्चुलाका सीमामा प्रहरी चौकी स्थापना गर्न नेता बडूको माग

काठमाडौं– प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको उत्तरी तथा दक्षिणी भेगमा भारत र चीनसँग सिमाना जोडिएका क्षेत्रमा सीमा प्रहरी चौकी स्थापना गर्न सरकारसँग माग गरेका छन्।

संसद्को बजेट अधिवेशनमा बोल्दै नेता बडूले दार्चुलाको सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी अस्थायी रुपमा बस्नुपरेको जानकारी गराउँदै स्थायी सीमा चौकी स्थापनाका लागि बजेट उपलब्ध गराउन सरकारसँग माग गरे।

“सुरक्षाकर्मी स्थायी रुपमा बस्न सकिरहेका छैनन्, त्यसैले सीमा मिच्ने घटना बारम्बार दोहोरिने गरेका छन्,” सांसद बडूले भने, “‘कालापानीदेखि लिपुलेकसम्म सुरक्षाकर्मी बस्न स्थायी चौकी स्थापना गरिएको छैन, अनि किन हुँदैन सीमा अतिक्रमण?”  

भारत र चीनसँग जोडिएका अधिकांश सीमा क्षेत्रमा अस्थायी चौकी मात्र छन्। अस्थायी चौकीमा सुरक्षाकर्मी बाहै्रमास बस्न सक्ने अवस्था नभएकाले स्थायी चौकी बनाउन जरुरी भएकोमा नेता बडूले जोड दिए। जिल्लाका कतिपय गाउँपालिकामा सुरक्षा चौकी नहुँदा विभिन्न बैंकका शाखा स्थापना गर्न नसकिएको उदाहरण दिँदै सांसद बडूले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

“केन्द्र, प्रदेश र स्थानीय तहका अधिकार तथा क्षेत्रबारे अझै पनि अन्योल देखिएको छ, त्यसलाई बजेट अगाडि नै टुङ्गो लगाउनुपर्छ,” सांसद बडूले भने। 

बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले युवालाई कृषितर्फ आकर्षित गर्ने कार्यक्रम ल्याउन सुझाव दिए। “युवालाई सहभागि गराएर उत्पादन बढाउन नसके रेल ल्याएर मात्र मुलुकको विकास सम्भव छैन,” उनले भने। उत्पादन बढाउनका लागि जग्गा हदबन्दी वा चक्लाबन्दी गर्ने कार्य कानुन बनाएरै पार लगाउनुपर्ने सांसद बडूको भनाइ थियो।

प्रकाशित: ३० वैशाख २०७५ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App