८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवामा बनेको एक घर । तस्बिर : नागरिक

सिन्धुली– सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्। 

नेपाल सरकारले समय तालिकासहित घर बनाउने तालिका सार्वजनिक गरेपछि भूकम्प पीडित घर बनाउन हतारिएका थिए। सिन्धुलीका तत्कालिन २५ बढी गाविस भूकम्पबाट अतिप्रभावित भएका थिए। सोही अनुसार भूकम्प पीडितले धमाधम घर बनाउन थालेका हुन्। ‘झन्डै चार हजार सुरक्षित आवास बनिसकेको छ’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिन्धुलीका इन्जिनियर आयुष मुखियाले भने– ‘धमाधम घर बन्दै छ।’ उनका अनुसार भूकम्पको अनुदान पूर्ण रुपमा (तीन लाख) लिइसकेका स्थानीय सुरक्षित आवासमा बसेका हुन्। 

अनुदान लिष्टमा नाम परेका मध्ये ९५ प्रतिशत बढी भूकम्प पीडितले सम्झौता सम्पन्न गरि घर निर्माणको चरणमा गइसकेका छन्। हालसम्म दोस्रो किस्ता १८ हजारले लिइसकेको कार्यालयले जनाएको छ। नेपाल सरकारले घर बनाउन तालिका नै प्रकाशित गरी स्थानीय भूकम्प पीडितलाई दबाब दिएपछि धमाधम घर बन्न थालेको हो। पछिल्लो केही महिनामा घर निर्माणले गति लिएको कार्यालयले जनाएको छ। 

भूकम्प गएको तीन बर्षपछि घर, निजी आवास निर्माणले गति लिन थालेको होे। सरकारले गत २०७३ सालमा सम्झौता गर्नेलाई गत पुस मसान्तसम्म दोस्रो किस्ता लिई सक्नुपर्ने भन्दै पुनर्निर्माणको खाका सार्वजानिक गरेको थियो। सो खाकामा स्थानीयले घर निर्माणमा तिब्रता दिएपनि निर्माण कार्य नसकिएपछि नेपाल सरकारले पुन म्याद थपेको हो। विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका घरहरुमध्ये नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३४ हजार २ सय ७० घरहरु पुनर्निर्माण गर्नुपर्ने भन्दै आवास अनुदान लाभग्राही सूचीमा सूचीकृत गरेको थियो। जसमध्ये सिन्धुलीमा ३० हजार २ सय बढीले अनुदान सम्झौता गरेका छन्। 
पहिलो किस्ता बुझेर न्युन गतिमा पुनर्निर्माण भइरहेकोमा पछिल्लो समय भने तिब्रता पाएको छ। घरको जग राखी हालसम्म करिब १८ हजारले दोस्रो किस्ता वापतको रकम बुझिसेका छन् भने करिब तीन हजार पाँच सयले तेस्रो किस्ता समेत बुझेको पाइएको छ।

सरकारले पुनर्निर्माणका लागि खाका नै सार्वजनिक गरेपछि स्थानीयले घरनिर्माणको कार्यलाई तीव्रता दिएका छन्। एकैपटक जिल्लाभरका भूकम्प पीडितले घर निर्माण गर्न थालेपछि दक्ष जनशक्तिको समेत अभाव भएको पीडित बताउँछन्। यहाँको साविक भिमेश्वर गाविसस्थित राताटारका हायू बस्तिका भूकम्प पीडितले एकैपटक घर निर्माण गर्दा दक्ष जनशक्तिको अभाव भएको भन्दै सामूहिक रुपमा घरनिर्माण गर्न थालेका छन्। 

जिल्लाको महाभारत क्षेत्र तथा गर्तिर क्षेत्रका अधिकांश घरहरु बस्न नमिल्ने गरि क्षतविक्षत भएपछि हाल त्यहि क्षेत्रका स्थानीयले पुनर्निर्माण कार्यलाई बढी तिब्रता दिएका छन्। ‘घर निर्माण कार्य धमाधम भइरहेको छ’, गोलञ्जोर ४  तिनकन्या का स्थानीय लोकबहादुर आलले भने– ‘एकै पटक निर्माण गर्नुपर्ने बाध्यता भएकाले दक्ष जनशक्ति पानीको अभाव घर निर्माण गर्ने सामानको अभाव जस्ता समस्या धेरै छन्।’ 

कतै चिटिक्क कतै गोठ जस्ता

भूकम्पपछि निर्माण भएका घर कतै चिटिक्क परेका छन् भने कतै गोठ जस्ता भएका छन्। आवश्यकताका आधारमा बनेका घर र अनुदानको लागि मात्रै बनेका घरमा फरक भएको स्थानीय स्वयम् बताउँछन्। अत्याधिक आवश्यकता भएका परिवारले राम्रो चिटिक्क घर निर्माण गरेका छन् भने हाल बस्दै आएको घरनै बस्न योग्य भएका तर पुनर्निर्माणको लाभग्राहीमा परेका स्थानीयले भने गोठजस्ता घर निर्माण गरेका हुन्। सुनकोसी गाउँपालिका ७ मझुवाका युवराज दाहालले तीन कोठे चिटिक्क परेको घर निर्माण गरेका छन्। ‘झण्डै नौ लाख लागत लागेको छ, मेरो घर निर्माण गर्न’, उनले नागरिकसँग भने– ‘आवश्यकता अनुसार बनाएको हुँ।’ 

नेपाली काँग्रेसका जिल्ला सचिव दीपक कुमार घिमिरे सरकारले ठूलो र कामकाजका लागि योग्य घर बनाउने नियम नल्याएका कारण स्थानियले सानो घर बनाउनु पर्ने बाध्यता रहेको बताउँछन्। ‘पुराना घरलाई हेर्ने हो भने ठुला घर छन्, त्यहि अनुसार आवश्यकता हुन्छ, तर भूकम्पपछि बनेका अधिकांश घर कामचलाउ देखिँदैन’, उनले भने। 

प्रकाशित: ३० वैशाख २०७५ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App