६ वैशाख २०८१ बिहीबार
समाज

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए


काठमाडौँ – बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्। 

बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ। चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ। केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन्। 

केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिए। “चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ”, उनले भने। फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उनको भनाइ थियो। 

बाह्र वर्षमा हराएका २१ हजार ४३५ मध्ये पुरुष १० हजार ४६२ र महिला १० हजार ९७३ छन्। सोमध्ये १० हजार ७४४ फेला परेको र १० हजार ६९१ अझै बेपत्ता छन्। 

यसैगरी चालू आवमा बेवारिसे ३२६ जना फेला पारेका छन्। फेला पारिएका बेवारिसेमध्ये २०३ लाई परिवारसँग पुनर्मिलन गराइदिएको, १२१ लाई संरक्षणगृहमा राखिएको र दुई जना पुनः बालगृहबाट भागेको केन्द्रले जनाएको छ। आव २०६३÷६४ देखि २०७४÷७५ सम्म चार हजार ४९९ जना बेवारिसे अवस्थामा फेला परेका छन्। तीमध्ये दुई हजार ९८१ पुरुष र एक हजार ५१८ महिला छन्। बेवारिसे अवस्थामा फेला पारिएकामध्ये तीन हजार ४३८ लाई सम्बन्धित परिवारको जिम्मा लगाइएको र ८८३ जनालाई संरक्षणमा राखिएको छ। 

यसैगरी संरक्षणमा राखिएको अवस्थामा १२ वर्षका अवधिमा १६९ जना भागेका छन्। “परिवारको पत्ता नलागेका र घर फर्काउन सक्ने अवस्थामा नरहेकाहरुलाई संरक्षणगृहमा राखिएको हो”, प्रमुख रिजालले भने। 

केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्दले गरीबी, मानव बेचबिखन, सामाजिक मूल्यमान्यता, परिवारले बेवास्ता गर्नुलगायत कारणले हराउने गरेको जानकारी दिए । उनले हराएकाहरुलाई खोजी गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए। चन्दले हराएका बालबालिकालाई चाँडो खोजी गर्नका लागि समितिले सम्बन्धित निकायलाई खबरदारी गर्ने काम गरिरहेको पनि स्पष्ट पारे। रासस

प्रकाशित: ३० वैशाख २०७५ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App