८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आणविक परीक्षणस्थल नष्टगर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत

सोल – आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ। 

उक्त स्थल भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर कोरियाले दिएको थियो। 

शनिबार मात्र उत्तर कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनएले सो जानकारी दिएको छ। यही मे २३ देखि यस्तो कार्यको सुरुआत गरिने जानकारी अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपको शान्तिका विषयमा वार्ता हुँदैछ। 

विगत लामो समयदेखि उक्त प्रायद्वीपमा रहँदै आएकोे तनावलाई अन्त्यगर्ने उद्देश्यका साथ हुने सो शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले केही सकारात्मक कदम चालेको छ। 

उक्त कदममध्येको आणविक परीक्षण गर्ने स्थललाई भत्काउने पनि एउटा सकारात्मक कार्य हो। उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएको समाचार यसअघि नै आएको थियो। 

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका एकजना प्रवक्ताले उत्तर कोरियाको उक्त कदमको स्वागत गरेको बताएका छन्। 

उनले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा आणविक विषय नै उत्तर कोरियासँगको प्रमुख विषय हो, त्यसैले यस विषयमा आएका सकारात्मक क्रियाकलापहरुले आगामी दिनका लागि पनि मार्ग प्रशस्त गर्ने बताए। 

आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने र यसले उक्त कामको अनुगमन गर्नेछ। 

चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ। 

आगामी महिना सिङ्गापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको वार्तालाई विश्वमा नै निकै चासोका साथ हेरिएको छ। 

यसअघि उत्तर कोरियाली नेता उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ्सँग दुई पटकसम्म भेटवार्ता गरेका छन्। त्यसैगरी उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गरेका थिए। 

भेटवार्ताका अतिरिक्त यी दुई कोरियाबीचमा कोरियाको विभाजनपछि पहिलो पटक शान्ति सम्झौता पनि भएको छ। दुई देशबीच युद्ध नगर्ने भनी गरिएको यस युद्धविरामबाट कोरियामा शान्तिको आशा पलाएको छ। 

प्रकाशित: ३० वैशाख २०७५ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App