६ वैशाख २०८१ बिहीबार
विचार

मोदी भ्रमणका भाव

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले दुई दिन लामो यात्राका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान पर्याप्त सन्देश प्रवाहित गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पाँचौँ सातामै भ्रमणमा आएर मोदीले नेपाललाई उच्च महत्व दिएका छन्। उनले जनकपुर र काठमाडौँसम्मका दुई नागरिक अभिनन्दन समारोहलाई दिएका अभिव्यक्तिको साझा पक्ष रहेको छ, ‘छिमेकी पहिलो’ (नेवरहुड फस्ट) । तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले नेपाललाई महत्व दिँदै ‘ननरेसिप्रोकल’ सम्बन्ध राख्छु भनेका भए पनि कालान्तरमा त्यसले निरन्तरता पाउन सकेन। मोदी भारतका प्रधानमन्त्री भएयता तीन पटक नेपालको भ्रमण गरेर छिमेकीलाई प्राथमिकतामा राखेको सन्देश दिएका छन्। उच्च राजनीतिक तहको सम्बन्ध निरन्तर रह्यो भने त्यसले पक्कै पनि सम्बन्धमा मिठास थप्नेछ र एकअर्काको विकास सहयोगी बनेर अघि बढ्न मद्दत पनि पुग्नेछ। भारतीय प्रधानमन्त्री मोदीका सबैजस्तो अभिव्यक्तिमा आफू र आफ्ना नेपाली समकक्षी ओलीले अघि सारेका विकास अवधारणामा सामीप्य रहेको बताउँदै आएका छन्। मोदीले भारतमा अघि सारेको ‘सबका साथ सबका विकास’ (सबैको साथ सबैको विकास) सँग प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल खुसी नेपाली’ उस्तै–उस्तै लाग्छन्। र, मोदीले दिल्लीमा ओलीको भ्रमण भइरहेका बेलादेखि आफू नेपालको अभिनन्दन समारोहका साथै संयुक्त पत्रकार सम्मेलनमा समेत यी दुई अवधारणाबारे उल्लेख गर्दै आएका छन्। भारतीय प्रधानमन्त्रीका अभिव्यक्तिमा नेपाली नीति कार्यक्रम र विकास अवधारणाबारे समेत चासो प्रकट हुँदा त्यसले स्वाभाविकरूपमा जनस्तरमा समेत सकारात्मक प्रभाव पर्छ।

संविधानसभाले जारी गरेको संविधानलाई ‘नोट’ अर्थात् जानकारीमा लिएको मात्र प्रतिक्रिया दिएको भारतले त्यसै अन्तर्गत भएका निर्वाचनको प्रशंसा गर्नुलाई संविधानप्रतिको स्वीकारोक्तिका रूपमा लिन सकिन्छ।

नेपाल–भारतबीच भाषिक तथा सांस्कृतिक सामीप्य मात्र छैन खुला सीमासहितको अद्वितीय सम्बन्ध छ। दुई देश निकट हुनुसँगै सम्बन्धमा बेलाबेलामा असजिला अवस्था समेत आउँछन्। भूकम्पपछि नेपालले २०७२ असोज ३ मा संविधान जारी गरेपछि भारतले आफ्नो असन्तुष्टि नाकाबन्दीका रूपमा प्रकट गरेको कटु यथार्थ आफ्ना ठाउँमा छ। यसपटक नेपाल भ्रमणको सिलसिलामा यस विषयमा विशेष गरी सामाजिक सञ्जालमा प्रश्न पनि उठेका हुन्। तर, दुवै सरकार प्रमुखका तर्फबाट यसमा मौन रहेर नै सम्बन्धलाई विस्तारै सहज बनाउने रणनीति अख्तियार गरेको महसुस भएको छ। भारतीय प्रधानमन्त्री मोदीबाट नेपालले गर्ने आन्तरिक निर्णयको सम्मान गर्ने अभिव्यक्ति दिएर पहिले आफूले प्रकट गरेको असन्तुष्टिलाई सच्याउने सन्देश दिएका हुन सक्छन्। यसबाहेक उनले पटक–पटक नयाँ संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन एकै वर्षमा सम्पन्न गरेकोमा प्रशंसासमेत गरेका छन्। संविधानसभाले जारी गरेको संविधानलाई ‘नोट’ अर्थात् जानकारीमा लिएको मात्र प्रतिक्रिया दिएको भारतले त्यसै अन्तर्गत भएका निर्वाचनको प्रशंसा गर्नुलाई संविधानप्रतिको स्वीकारोक्तिका रूपमा लिन सकिन्छ। त्यति मात्र होइन नेपाल र भारत दुवै देश संघीय गणतन्त्रात्मक मुलुक रहेको उल्लेख गर्दै दुवैबीचको सहयात्रालाई समेत उनले उल्लेख गरेर सम्बन्धलाई थप सहज बनाउन खोजेको रूपमा लिन सकिन्छ।

नेपालले वर्षौंदेखि राजनीतिक तहमा सम्बन्ध स्थापित हुनुपर्ने धारणा राख्दै आएको हो। तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालको भ्रमणपछि द्विपक्षीय स्तरमा १७ वर्षसम्म नेपालमा त्यो तहको उच्चस्तरको भ्रमण हुन सकेको थिएन । मोदीले नै त्यो मौनतालाई तोडेर नेपाललाई महत्व दिएको सन्देश दिएका हुन्। धार्मिक प्रवृत्तिका मोदीले नेपालमा प्रमुख तीर्थस्थलहरू पशुपतिनाथ, मुक्तिनाथ, जानकीधाम र लुम्बिनीको यात्रा अभ्यर्थना गर्न चाहेका हुन्। अघिल्लो पटक उनको जनकपुर र मुक्तिनाथ यात्रा रोकिँदा नेपालप्रति उनको भावनामा ठेस लागेको महसुस त्यो बेला भएको हो । यसपटक उनले जनकपुरबाटै यात्रा सुरु गरे। ‘प्रधानमन्त्रीका रूपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रूपमा’ आएको बताएर मोदीले खुसी व्यक्त गरेका छन्। हाम्रा यी पवित्र तीर्थस्थलको उनको भ्रमण र पूजाअर्चनाले भारतमात्र होइन संसारभरिका हिन्दू तथा बौद्ध धर्मावलम्बीका निम्ति समेत उनले सन्देश वाहकको भूमिका निर्वाह गरेका छन्। यसले हाम्रो मुलुकको धार्मिक पर्यटनलाई समेत ठूलो मद्दत पुग्नेछ। बुद्ध जन्मस्थल लुम्बिनीमा उनी यसपटक पनि पुग्न पाएनन् तर अर्को पटक त्यहाँको यात्रा गर्ने आफ्नो आकांक्षा फेरि पनि उनले प्रकट गरेका छन्। बुद्ध नेपालमा जन्मेका हुन् भनी गर्व गर्ने हामी नेपालीका निम्ति यो ठूलो सहयोग हुन जानेछ। यहाँका प्रत्येकजसो सम्बोधनमा मोदीले स्थानीयतालाई छोएका छन्। ठाउँअनुसार मैथली, नेपालीलगायतका भाषामा सम्बोधन मात्र गरेनन् उनले सँगै स्थानीयता र संस्कृतिलाई राम्रैसँग उजागर गरेका छन्। जसरी सगरमाथा चढ्न शेर्पाले मद्दत गर्छन्, नेपालको विकासका लागि भारत शेर्पाको काम गर्न तयार छ भनेर उच्चस्तरको विम्ब उनले प्रयोग गरेका छन्। मोदीका अभिव्यक्तिले उनीभित्र नेपालप्रतिको प्रेम प्रकट गरेको छ। हामीले वर्षौंदेखि भन्दै आएको राजनीतिक स्तरको सम्बन्ध दुई देशबीच सुरु भएको छ। यो सिलसिलाले निरन्तरता पाउनुपर्छ। विगतमा पनि मोदीले यस्तै उत्साह जगाएका हुन्। पछि त्यसले निरन्तरता पाउन सकेन। त्यसमा उनी र नेपाल सरकार दुवैले ध्यान पु-याउनु आवश्यक छ।

प्रकाशित: ३० वैशाख २०७५ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App