५ वैशाख २०८१ बुधबार
कला

रोकियो प्रियंकाको ‘क्वान्टिको’

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड रियालिटी सो ‘क्वान्टिको’ को चौथो सिजन प्रसारण नहुने भएको छ। तेस्रो सिजनमा २ दशमलब ३ मिलियन दर्शक पाएको सिरिजको लोकप्रियता घटेपछि यसको निर्माण कम्पनी चौथो सिजन निर्माणबाट पछि हटेको हो।

प्रियंकाले यो टेलिभिजन सिरिजबाट दुई पटक ‘पिपुल्स च्वाइस अवार्ड’ पनि जितेकी थिइन् । सिरिजमा प्रियंका एजेन्ट एलेक्स पेरिसको भूमिकामा थिइन् । निर्माण पक्षले सिरिजलाई यो वर्षका लागि रोके पनि अर्को सिजनमा सो आउने नआउने केही जानकारी गराएको छैन।

अपेक्षित दर्शक नपाएपछि अमेरिकामा यसअघि फक्सको ‘ब्रुकलिन नाइन–नाइन’, ‘दी माइक’, ज्याक ब्राफ स्टारर ‘एलेक्स’, ‘इन्क’, मार्भल सिरिज ‘इन ह्युमन, ‘डिसेप्सन’, ‘दी क्रसिङ’, ‘डिजाइनेटेड सर्भाइभर’, ‘लुसीफर’ र ‘दी लास्ट मेन अन अर्थ’ जस्ता सिरिज पनि बन्द भएका थिए।

‘क्वान्टिको’को सिरिजले अन्तर्राष्ट्रिय रुपमा प्रियंकाको लोकप्रियतालाई उचाइ दिएको थियो । यो सो बन्द भए पनि प्रियंकाले हलिउड फिल्ममार्फत आफ्नो करियरलाई थप उचाइ दिने योजना बनाएकी छन्।

दर्शकमाझ हिट रहेको एन्डी सेमबर्गको कमेडी सो ‘ब्रोकलिन नाइन–नाइन’ बन्द हुने सूचना इन्टरनेटमा आए पछि सोका फ्यानले च्यानल विरुद्ध प्रदर्शन नै गर्नुपरेको थियो । निर्माण कम्पनीले भने सोेले दर्शकको संख्या उल्लेख्य रुपमा बढाउन नसकेकोले बन्द गर्नुपरेको जनाएको थियो । तर केहीले भने नयाँ कार्यक्रम ल्याउनका लागि कम्पनीले सो बन्द गर्नुपरेको दाबी गरेका छन्।

प्रियंकाका फ्यान भने सिरिज बन्द हुने सूचनाले चिन्तित बनेका छन् । जासुवा साफरनले उत्पादन गरेको सोमा प्रियंकाका अलावा जोस हप्किन्स, जेक म्याकलाफलिन, अन्जनु इलिस, यस्मिन अल मास्री, जोन्ना ब्राडी, टेट इलिङटोन र ब्लेर अन्डरवुडको अभिनय थियो।

प्रकाशित: ३० वैशाख २०७५ ०५:३५ आइतबार

रोकियो प्रियंकाको क्वान्टिको