७ वैशाख २०८१ शुक्रबार
कला

लोकवार्ता सम्मेलनमा संस्कृतिको चर्चा

काठमाडौं – फिनल्यान्डकी पिर्को मोइसालाले नेपालको पश्चिम लमजुङस्थित आमा समूहका महिलाले गाउँने मौलिक नेपाली लोकगीतको खोजी गरिन् । हेलसिन्की युनिभर्सिटीमा अध्ययनरत उनले आमा समूह म्युजिक एन्ड द ट्रान्सफरमेसन अफ तमु भिलेज सोसाइटी नाममा अध्ययन गरेकी हुन्।

शनिबारदेखि राजधानीमा सुरु भएको छैठौं ‘अन्तराष्ट्रिय फल्कलोर कंग्रेस’मा उनले नेपाली संस्कृतिको एउटा पाटो उपस्थित माझ बाँडेकी हुन् । ‘उनीहरू लोकगीत र दोहोरी गीत गाउँथे,’ मोइसालले भनिन्, ‘रमाइलो पनि गर्छन समूहलाई सहयोग पनि गर्छन् ।’ पहिले पहिले कमजोर आर्थिक अवस्था भएकाले घरघरमा गएर गाउने लोकगीतको संस्कृति अहिले बदलिएर सशक्तिकरणको बाटोमा लागेको उनले बताइन् । यसले समाजको सामाजिक तथा आर्थिक विकासमा टेवा पुगेको दाबी उनको थियो । संगीतले रमाइलोसँगै शारीरिक स्वास्थ्यलाई तन्दुरूस्त राख्न सघाउने भएकाले पनि आमा समूहका महिलाको गीत गाउने कार्यको सराहना गरिन्।  

उनले झैं इस्टोनियाकी भ्यालेन्टिना पुंजीले तिब्बती संस्कारमा प्रयोग हुने तोर्मोको अध्ययन् गरेकी थिइन् । उनले साइन्स र बुद्धिजम्लाई जोडेर निष्कर्ष निकाल्ने प्रयाससमेत गरिन् । आइन्सटाइनको भनाइ उद्धृत गर्दै तोर्मो बनाउने परम्परा स्थानीय संस्कृतिको हिस्साको रुपमा रहेको छ । तर बौद्धमार्गीले भने बौद्धमार्ग आफैंमा एउटा साइन्सजस्तै भएकाले त्योसँग नजिक रहेको उनले अध्ययनका क्रममा उल्लेख गरेकी छिन्।  

सेवा भट्टराईले महिलाले लोकशैलीमा गाउँने कृष्ण चरित्र सम्बन्धि लोकगाथाको चर्चा गरिन् । पश्चिम नेपालको गौरालगायत विभिन्न भेगका महिलाले पारम्परिक नाचगानको संस्कारमा कृष्ण चरित्रको गाथा नेपालको मौलिक संस्कार भएको उनले उल्लेख गरिन् । भक्तपुरका केशव प्रजापतिले भक्तपुर क्षेत्रमा खेत रोपाँइका बेलामा मनाइने भुरँग ज्या संस्कारको उल्लेख गरे । उपत्यकाको मौलिक खेतीपातीको क्रममा यस्ता नृत्य तथा गीत गाउने चलन संस्कृतिका रुपमा विकास भएको प्रजापतिले बताए।

आभाष राजोपाध्यायले ललितपुरको पाटनस्थित अग्निशाला मन्दिरमा बालिने संस्कारिक अग्निको कथा अध्ययनका क्रममा बुने । ‘मन्दिरको इतिहास निकै पुरानो रहेको छ ’, उनले भने, ‘पहिले सरकारले संस्कृतिको संरक्षण गथ्र्यो अहिले स्थानीयको जिम्मामा आएको छ ।’ जुनसुकै धर्मावलम्बीले आफ्नो इच्छा भगवानसमक्ष माग गर्न अग्निशाला  खुला रहेकोसमेत उनले दर्साए । विश्वमा एकधर्मका अनुयायी अर्को धर्मको मन्दिर , मस्जिद वा चर्चमा जान त्यति रुचाउँदैनन् । तर संस्कारलाई नितान्त एकलकाँटे बनाउनुभन्दा सबैका लागि खुला गरेर उदार बनेको नयाँ संस्कार उनले उद्घोष गरे । इन्दिरा आचार्य मिश्रले नेपाली महिलाले तीज पर्वमा गाउने तीज गीतको उतारचढाव र यसको सांस्कृतिक महत्वको खोजबिन प्रस्तुत गरेकी थिइन्।

उनीहरूले जस्तै पहिलो दिन शनिबार स्वदेशी विदेशी गरी ४७ जनाले आफूले खोजी गरेका नेपाली संस्कृति र संस्कारको कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन आइतबार थप ४५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । लोकवार्ता समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीले गरेका थिए । उनले नेपाली भौगोलिक विविधताले धनी मुलुक भएकाले यसको प्रचार विश्वमाझ गर्नसक्नुपर्ने औंल्याए।

अध्यक्ष तुलसी दिवसले ग्रामिण क्षेत्र हुँदै अहिले लोकशैली शहरतिर बढिरहेको बताए । सम्मेलनमा विशेषगरी नेपाली संस्कृतिका विविध आयाम अन्तर्गत अमूर्त कला, लोकजीवन, लोकशैली र तथा लोक सम्पदाको संरक्षणको बहस हुने उनले जानकारी दिए । संस्थाका उपाध्यक्ष अभि सुवेदीले लोकजीवन नेपालको चिनारी भएकाले यसमा विदेशीको योगदानको समेत सम्मेलनमा चर्चा हुने दाबी गरे । सम्मेलनमा नेपालसहित अमेरिका, स्टोनिया, फिनल्यान्ड, बंगलादेश, भारत, बेलायत, श्रीलंका, स्पेन लगायतका देशका प्रतिनिधिको सहभागिता रहेको छ। 

 

प्रकाशित: ३० वैशाख २०७५ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App