coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुखुरा बेच्दा ठगिन्छन् कुखुरापालक किसान

चितवन – राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।

‘दाना कै खराबी होला, त्यसैले तौल राम्रो भएन भन्ने लाग्थ्यो,’ उनले भने, ‘पहिले पहिले पनि पक्कै ठगिएको थिएँ।’ यसपटक उनले घरमा नै डिजिटल काँटा ल्याएर राखेका थिए। बेला बेलामा कुखुरा जोखेर औसत तौल कति छ भनेर हेर्थे। यसपटक कुखुरा लिन आउने सप्लायर्सले सुरुको पटकमा जोखेको तौल उनको घरको काँटामा जोखे सरह थियो। जोख्ने क्रम चलिरहँदा पछिल्लो काँटाहरुमा भने उत्तिकै तौल पु¥याउन धेरै कुखुरा राख्नुपर्दा उनलाई शंका लाग्यो।

‘सुरुको काँटा घरको सँग मिल्न गयो,’ उनले भने, ‘२८ काँटा जोखेर गाडीमा लोड गरिसकेपछि मात्र शंका लाग्यो, त्यसपछि तराजु हेर्दा गडबढी गरेको देखियो।’ त्यसैबेला उनले कुखुरापालक किसानको संघलाई बोलाए। हरेक जोखाइमा दुई केजीभन्दा बढी ठगेको पाइएको उनी बताउँछन्। त्यसपछि संघकै रोहवरमा सप्लायर्सलाई ठगी गरेवापत गल्ती नदोहो¥याउने सर्तमा ८० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न लगाएर छाडिएको थियो।

किसानले सामान्य हिसाब गरेर मात्र कुखुरा बेच्ने सेढाइँ बताउँछन्। सप्लायर्सले नाफा नै राखेर किसानसँग किन्दा पनि तराजुमा फरक गरेर ठग्नु गलत कार्य भएको उनले बताए । डिजिटल तराजुको बीचमा हुनुपर्ने अंकुशेलाई साइडमा रहने बनाएर जोखेको उनले पाएका थिए । उनी भन्छन्, ‘पछिल्लो समय घरमै तराजु राखेर ठगिएकै थाहा पाएपछि बेच्ने बेलामा धेरै ध्यान दिन थालेको छु।’ ०६७ बाट लेयर्स कुखुरा पाल्न थालेका रत्ननगर नगरपालिका–१२ जमुनापुरका रौनक घिमिरे पनि कुखुरा बेच्दा ठगिएको बताउँछन्। माघ २४ गते उनको खोरमा कुखुरा लिन आएको सप्लायर्सले चार क्विन्टल २० किलोभन्दा धेरै ठगी गरेको उनको भनाइ छ।

घर कुखुरा लिन आएको गाडीले कुखुरा जोख्दा अलि धेरै परिमाणमा नै ठग्न लागेपछि जोखाइमा केही गडबढी भएको महशुस भएपछि घरबाट उनलाई खबर गरेका थिए। टाँडीमा भएको नेपाल अण्डा उत्पादक संघको अधिवेशनमा सहभागी भइरहेका उनी तुरुन्तै घर फर्किएर काँटा हेरे । काँटामा परिवर्तन गरिएको पाएपछि उनले जनप्रतिनिधि, प्रहरी, कुखुरापालक संघका पदाधिकारीलाई खबर गरेर बोलाए। ‘सबैले निरीक्षण गर्दा ढक, काँटामा परिवर्तन गरेको पाइयो,’ उनले भने, ‘त्यसपछि ड्राइभर र सहचालकलाई नियन्त्रणमा लिइयो।’ लोड गरेको कुखुरा फेरि खोरमा लैजान नसकिने र जिउँदो वस्तुसहितको गाडी प्रहरीले पनि राख्न सकिँदैन भनेपछि सबैको रोहवरमा गाडी छाडिएको उनी बताउँछन्।

गाडीका ड्राइभर र सहचालक नियन्त्रणमा रहँदा उनले कुखुरा लगे बराबरको पैसा लिए। ठगी गर्ने दोषीलाई कारबाही गर्नुपर्छ भनेर घिमिरेले कुखुरापालक संघसँग मिलेर कानुनी प्रक्रिया अघि बढाएका थिए। नाप, तौलमा ठगी सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने भनेर प्रहरीले मुद्दालाई जिल्ला प्रशासन कार्यालय पठाएको उनले बताए। कारबाही गर्ने सिलसिलामा केही ढिलासुस्ती भयो भनेर एक सातापछि प्रशासन कार्यालयमा पुग्दा पाँच सय रुपैयाँ जरिवाना तिराएर केस टुंग्याइएको पाइएको उनी बताउँछन्।

‘तराजुको चेकजाँच पनि गराइएन, मुद्दा हेर्दा पीडितलाई पनि खबर गरिएन,’ उनले भने, ‘यसले त ठगी गर्नेलाई नै प्रोत्साहन भयो।’ नेपाल कुखुरापालक किसान संघले मंसिरदेखि चैतसम्मको पाँच महिनाको अवधिमा मात्र तौल लिँदा ठग्ने नौवटा यस्ता घटनामा पुगेर पीडितलाई क्षतिपूर्ति दिलाएको छ। संघका अध्यक्ष झनकप्रसाद पौडेल यसबीचमा तौलमा ठगी गर्ने नौवटा सप्लायर्सबाट किसानलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको बताउँछन्।

किसानलाई ठगेको परिमाणअनुसार चार लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइएको उनले जानकारी दिए। ‘किसानकै आँखा अगाडि ठूलो परिमाणमा ठग्नु एक प्रकारकोनै हो,’ उनले भने, ‘धेरै नै परिमाणमा फरक पार्दा किसानले शंका गर्न सक्छन्, थोरै मात्र फरक पार्दा किसानले थाहा नै पाउँदैनन्।’ यसले गर्दा थोरै थोरै परिमाण गरी खोरका कुखुरा बेच्दा किसानको धेरै नौक्सानी भएको उनले बताए।

इलेक्ट्रिक काँटाले आधिकारिक तथा ठगिने सम्भावना नभएको काँटा मान्ने गरिएको छ। त्यही काँटाबाटै अधिकांश कुखुरापालक किसान ठगिएको अध्यक्ष पौडेलको भनाइ छ। तराजुलाई नापको मात्रा सही भएको प्रमाणित गरेर मात्र बिक्री गरिने भएपछि बढी र घटी देखाउने गरी बनाउन सकिने भएकाले यसको अनुगमन र ठग्नेलाई कडा कारबाही हुन नसकेको उनले बताए। काँटाको बीचमा हुनुपर्ने संकेत कोल्टिने बनाएर पनि ठग्ने गरिएको पाइन्छ। सप्लायर्सले सही काँटा पठाए पनि स्टाफको मिलेमतोमा समेत ठग्ने गरेको पाइन्छ।

अध्यक्ष पौडेल पोल्ट्री सेक्टरमा भएका डिजिटल काँटाको अन्त्य हुनुपर्ने बताउँदै भन्छन्, ‘डिजिटल काँटाको फाइदा जस्तै बेफाइदा पनि उत्तिकै छ, सेटिङ मिलाएर तौल बिगार्ने गरेका छन्।’ संघले ठगीमा संलग्न भएका सातवटा काँटा नियन्त्रण गरेर नै राखेको छ। ढक, तराजु ठगीमा नाप तौल विभागमै गएर उजुरी गर्नुपर्ने व्यवस्था रहेको उनी बताउँछन्। ठगीमा पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था रहेको छ। सानो तथा ठूलो जुनसुकै परिमाणमा ठगी गर्दा नि कारबाही स्वरुप हुने दण्ड तथा जरिवाना ज्यादै कम भएको उनले बताए। ‘चोर्नु त चोर्नु नै हो,’ उनले भने, ‘ठगी गरेको परिमाणभन्दा चार गुणा बढी दण्ड, जरिवाना गरिनुपर्छ।’

प्रकाशित: ३० वैशाख २०७५ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App