१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आल्भेजले विश्वकप गुमाउने

साउ पाओलो – ब्राजिलका रक्षक ड्यानी आल्भेजले घुँडाको चोटका कारण अर्का महिना रूसमा हुने विश्वकप गुमाउने भएका छन्।

पेरिस सेन्ट जर्मन (पिएसजी) का रक्षक आल्भेज मंगलबार लेस हार्बिसविरुद्ध सम्पन्न फ्रेन्च कपको फाइनल खेलमा घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका थिए।

ब्राजिलियन फुटबल संघ (सिबिएफ) ले एक विज्ञप्ति जारी गर्दै आल्भेजको घुँडाको मासु च्यातिएको र उनको शल्यक्रिया गर्नुपर्ने जनाएको छ । ३५ वर्षे आल्भेजको उपचारमा हाल डाक्टर रोड्रिगो लासमारको टोली सहभागी छ । लासमारले आल्भेजको चोट गम्भीर भएको र उनी ६ महिना मैदानबाहिर रहने बताएका थिए।

‘उनलाई प्रशिक्षण, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विश्वकप टोलीमा समावेश गर्न असम्भव छ,’ सिबिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २००६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका आल्भेजले ब्राजिलबाट १ सय ७ खेल खेलिसकेका छन् । यस क्रममा उनी दुई पटक विश्वकप टोलीका महत्वपूर्ण सदस्यसमेत थिए।

‘टोलीमा आल्भेजको अनुपस्थिति खड्कनेछ, किनभने उनी टोली सदस्य मात्र नभई नेतृत्व प्रदान गर्न सक्षम खेलाडी थिए,’ सिबिएफका संयोजक एडु गास्फरले भने, ‘उनले आफ्नो अनुपस्थितिबाट दुखी नहुन भन्दै टोलीलाई सफलताको शुभकामना दिएका छन्।’

गास्परले म्यानचेस्टर सिटीका ड्यानिलो, कोन्टिनासका फाग्नर र बायर्न म्युनिखका राफिन्हो पनि उत्कृष्ट रक्षक भएको भन्दै प्रशिक्षक टेटेले आल्भेजको अनुपस्थितिमा उनीहरूलाई समावेश गर्ने विकल्प भएको बताए।

ब्राजिलले सोमबार विश्वकप टोली घोषणा गर्ने बताएको छ । समूह ‘इ’ मा रहेको पाँच पटकको विश्वकप विजेता ब्राजिलले जुन १७ मा स्विरल्यान्डविरुद्धको खेलसँगै विश्वकप यात्रा थालनी गर्नेछ।

प्रकाशित: ३० वैशाख २०७५ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App