६ वैशाख २०८१ बिहीबार
खेल

जेसिकालाई दोहोरो उपाधि

इटहरी – झापाकी जेसिका गुरुङले इटहरीमा भएको सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेकी छन्।

इटहरीको कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा जेसिकाले महिला एकल तथा यु १९ को उपाधि हात पारेकी हुन्। जेसिकाले महिला एकल तथा यु १९ फाइनलमा सेनाकी रसिला महर्जनमाथि २१–१३ र २१–१६ तथा २१–१४ र २१–१६ को जित निकाल्दै दोहोरो स्वर्ण हात पारेकी हुन् । जेसिका महिला नम्बर एक खेलाडी नङ्सलदेवी तामाङलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन्।

जेसिकाले महिला एकलतर्फ नगद ५० हजार र यु १९ तर्फ नगद १५ हजार गरी ६५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरिन् । आफू जितबाट निकै नै हर्षित भएको जेसिकाले बताइन् । नयाँ प्रशिक्षक र प्रशिक्षणस्थल प्राप्त गरेका कारण जित निकाल्न सकेको उनको भनाइ थियो । उनलाई हाल पूर्वप्रशिक्षक विकास श्रेष्ठले जेष्ठ ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण प्रदान गर्दै आएका छन्।

महिला एकलतर्फ दोस्रो हुने खेलाडीले २५ हजार र तेस्रोले १० हजार प्राप्त गरे । यस्तै, यु १९ तर्फ दोस्रो स्थान प्राप्त गर्ने खेलाडीले सात हजार र तेस्रोले चार हजार रुपियाँ प्राप्त गरे।

महिला युगलतर्फ पनि जितको आशा गरेकी जेसिका फाइनलमा सेनाका नङ्सल तामाङ र अनु राईको जोडीसँग २१–१६ र २१–१८ ले पराजित भई रजतमा चित्त बुझाउन बाध्य भइन् । जेसिकाको जोडीमा सुनैना मुखिया थिइन् । विजेता टोलीले पहिलो भएबापत २० हजार, दोस्रोले १० र तेस्रोले ५–५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको पुरुष एकलतर्फ आफ्नो जितलाई निरन्तरता प्रदान गर्दै सेनाका रत्नजित तामाङ विजयी भए । उनले एपिएफका दीपेश धामीमाथि २१–१३ र २१–१२ को जित निकाले । यो उनको पुष्पलाल स्मृति ब्याडमिन्टनमा छैटौं विजय हो । तामाङले ५० हजार रुपैयाँ नगद प्राप्त गरे । उपविजेता धामीले २५ हजार र तेस्रो हुनेले १०÷१० हजार रुपियाँ नगद प्राप्त गरे।

पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले सफलता हात पार्याे। तामाङ र श्रेष्ठको जोडीले एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीलाई २१–१३ र २१–१५ ले पाखा लगाउँदै स्वर्ण हात पारेको हो ।
तामाङ र श्रेष्ठको जोडीले नगद २० हजार, धामी र थापामगरको जोडीले १० हजार र तेस्रो हुने जोडीले नगद ५–५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

पुरुष यु १९ तर्फ सेनाका प्रफुल महर्जनले आफ्नै क्लबका रुकेश महर्जनलाई २१–१६ र २१–१८ ले पराजित गर्दै स्वर्ण हात पारे । प्रतियोगिताको भेट्रान्स युगलतर्फतर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधान विजयी भई १५ हजार रुपयाँ नगद प्राप्त गरे । ‘जितबाट हर्षित छु । नयाँ प्रशिक्षक र प्रशिक्षणस्थल प्राप्त गरेका कारण जित निकाल्न सकेको हुँ।’

प्रकाशित: ३० वैशाख २०७५ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App