८ वैशाख २०८१ शनिबार
समाज

नेपाली विषय बचाउ अभियानमा ऐक्यबद्धता

काठमाडौं – कक्षा १२ सम्म सय–सय पूर्णांकको अनिवार्य नेपाली विषय समावेश गर्न थालिएको अभियानमा नेपाल शिक्षक महासंघ, त्रिवि नेपाली केन्द्रीय विभाग र मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालले ऐक्यबद्धता जनाएका छन्।

नेपाली विषय बचाउ अभियान २०७५ ले शनिबार राजधानीमा आयोजना गरेको ‘१ देखि १२ सम्मका प्रत्येक कक्षामा १००÷१०० पूर्णांकको अनिवार्य नेपाली विषयको अनिवार्यता’ विषयक अन्तरक्रियामा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले भाषाको जगेर्ना र अर्को पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया विद्यालय तहबाटै हुने भएकाले कक्षा १ देखि १२ सम्म नेपाली विषय अनिवार्य रुपमा पठनपाठन हुनुपर्ने बताए। उनले भने, ‘कक्षा ९–१२ विद्यालय तह हो। यसमा नेपाली विषयको समान सय÷सय पूर्णाङ्कको पढाइ हुनुपर्छ। तपाईंहरुको अभियानमा महासंघ नेतृत्वदायी भूमिका निर्वाह गरी सहयोग गर्न तयार छ।’ महासंघका उपाध्यक्ष तिलक कुँवरले नेपालीकै विद्वान्ले नेपाली विषयलाई कमजोर बनाइरहेको बताए। उनले भने, ‘विभिन्न प्रलोभनमा नेपालीकै विद्वान्ले नेपालीमाथि आक्रमण गरिरहेका छन्। यसविरुद्ध हामी सबै लाग्नेछौं।’

त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमले अभियानको उद्देश्य पूरा गर्न विभागले अभिभावकीय भूमिका निर्वाह गर्ने बताए। उनले भने, ‘अनिवार्य नेपाली विषय बचाउने अभियानकर्ताको उत्साहलाई कम हुन दिँदैनौं। यसका लागि शिक्षा मन्त्रालयमा अनशन बस्नुपरे पहिला हामी आफैं बस्छौं।’

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले विगतमा वर्णविन्यासका नाममा र अहिले पाठ्यभार घटाउने नाममा नेपाली भाषालाई कमजोर पार्न षड्यन्त्र भइरहेको बताए। उनले भने, ‘अभियानमा सञ्जालको पूर्ण साथ र सहयोग छ। हामी त्रिभुवन विश्वविद्यालय र शिक्षकका पेसागत संघसंगठनसँग मिलेर कक्षा १२ सम्म १००/१०० पूर्णांकको अनिवार्य नेपाली विषय कायम राखेरै छाड्छौं।’

नेपाल शिक्षक संघका पूर्वउपमहासचिव लक्ष्मीकिशोर सुवेदीले राष्ट्रियताको चिनारी भाषामाथि विभिन्न पक्षबाट आक्रमण भइरहेको बताउँदै यसलाई निस्तेज पार्न संघ अभियानसँगै रहेको बताए। संघका काठमाडौं महानगरपालिकाका अध्यक्ष नारायण गौतमले नेपाली विषय बचाउनका लागि थालिएको अभियान सफल बनाउन आफूहरु जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले नेपाली भाषाको सान्दर्भिकताबारे अझै जनचेतना फैलाउनुपर्ने बताए। अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष लछीराम ढकालले नेपाली भाषाका सन्दर्भमा भाषावैज्ञानिक बहस गरेर यसलाई विस्तार गर्नुपर्नेमा विषय बचाउन लाग्नुपर्ने अवस्था आउनु ज्यादै दुःखद भएको बताए।

कार्यक्रममा पत्रकार गोपाल घिमिरेले नेपाली विषय पढेर प्राध्यापक बनेका, उच्च पदमा पुगेका केही व्यक्तिहरुको स्वार्थका कारण विद्यालय तहमा नेपाली विषय खुम्च्याउने षड्यन्त्र भइरहेको बताएका थिए।

प्रकाशित: ३० वैशाख २०७५ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App