७ वैशाख २०८१ शुक्रबार
समाज

अाज भोटो देखाउने जात्रा

काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ। भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए। 

भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ। भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो। किम्बदन्तीअनुसार यो यात्रा सुरु भइसकेकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। 

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरुप मणिमाणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। 

मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजे। पाएनन्। मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। 

भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो। 

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ। 

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यो जात्रा हेर्न आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: ३० वैशाख २०७५ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App