जनकपुरधाम – जनकपुरमा आफ्नो नाउँमा रहेको एउटै जग्गा धेरै व्यक्तिलाई बेचेको आरोपमा एक भारतीय नागरिकविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ। जनकपुर –१, रेलवे स्टेशनस्थित भारतीय नागरिक बच्चाप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको हो।
उनले आफ्नो नाउँमा रहेको जनकपुर उपमहानगरपालिका –१ को सिट नं. १३५६–१९ कित्ता नं. ७१ को क्षेत्रफल १ बिघा २ कट्ठा १० धुर १ कन्मा जग्गा बेच्ने सर्तमा तीन जनासँग ५ करोड ८ लाख रुपैयाँ बैना संकलन गरी चौथो व्यक्तिलाई बेचिदिएर फरार भएपछि घटना बाहिर आएको हो।
जग्गा खरिदबिक्री गर्न आवश्यक नगरपालिकाको सिफारिसपत्र तथा छाप नक्कली बनाएर एक करोड ६३ लाख ५४ हजार ३०८ रुपैयाँ ४९ पैसा राजस्व छल्नुका साथै मालपोत कर्मचारीको मिलेमतोमा अवैध तरिकाले जग्गा पास गराएको आरोप भारतीय नागरिक सिंहमाथि छ।
स्थानीय रामविनोद चौधरीसँग ८ लाख, कृष्ण गिरीसँग ३ करोड ४९ लाख र रामहृदय साह तेलीसँग १ करोड ५१ लाख रुपैयाँ लिएर वर्षौदेखि फरार रहेका सिंहले भारतमै बसेर अवैधानिक तरिकाले उक्त जग्गा अर्कै व्यक्तिको नाउँमा पास गराइदिएको थाहा पाएपछि पीडितहरू चकित भएका छन्। मालपोतको मोठसमेत भारतमै लगेर कर्मचारीले आर्थिक प्रलोभनमा परी गलत काममा साथ दिएपछि न्यायका लागि अदालतको विकल्प नरहेको पीडितमध्येका गिरीले बताए। ‘एउटै जग्गा देखाएर छुट्टाछुट्टै बैना उठाएर वर्षौदेखि सिंह बाबुछोरा फरार छन्। मालपोत कर्मचारीले मोठ नै लगेर उतैबाट जग्गा पास गरिदिए,’ गिरीले भने।
पीडितमध्येका जनकपुर –८ निवासी रामविनोद चौधरीको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा भारतीय नागरिक सिंह, उनका छोरा भिष्मनारायण सिंह, जनकपुर–१६ की सुनिताकुमारी साह, उर्मिलादेवी पंजियार, वडा नम्बर ३ की रितादेवी यादव, वडा नम्बर १४ की ज्ञानईश्वरीदेवी यादव र धनुषा, जनकनन्दनी गाउँपालिका –६ की ममताकुमारी पूर्वेलाई विपक्षी बनाइएको छ। उनीहरूसँग सामूहिक रूपमा जग्गा पास गराएबापत सरकारी राजस्व १ करोड ६३ लाख ५४ हजार ३ सय ८ रुपैयाँ ४९ पैसा असुलउपर गर्नुका साथै पीडितहरूसँग विभिन्न मितिमा लिइएको ५ करोड ८ लाख रुपैयाँ फिर्ता दिलाइदिन माग गरिएको छ।
‘राजस्व दाखिला गर्नुपर्ने रकमसमेत ६ करोड ७१ लाख ५४ हजार ३ सय ८ रुपैयाँ ४९ पैसा ठगी गर्ने प्रतिवादीहरू सिंह बाबुछोराले मुलुकी ऐन किर्ते कागजको महल १ नं., ७ नं. र १२ नंं तथा सोही ऐनको ठगीको महलको १ नं. विपरीत ४ नं. कसुर अपराध गरेको हुँदा कानुनबमोजिम सजाय हुन र अन्य प्रतिवादीहरू सुनिताकुमारी साह, उर्मिलादेवी पंजियार, रितादेवी यादव, ज्ञानईश्वरीदेवी यादव र ममताकुमारी पूर्वेले सिंहद्वय समेतसँग मिलेमतो गरी नगरपालिकाको किर्ते कागज बनाई तिर्नुपर्ने राजस्व करवापतको रकम राजस्व खातामा तथा विभिन्न मितिमा पीडितहरू चौधरी, गिरी तथा साहसँग बैनाबापत लिइएको रकम दिलाई पाऊँ,’ जिल्ला अदालत धनुषामा पीडितका तर्फबाट सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ।
जनकपुरमा भूमाफियाका रूपमा चर्चित केही व्यक्ति कानुनी दायरामा फसेपछि थप कारोबारमा बाधा पुग्ने डरले विवादित जग्गामा श्रीमतीको नाउँ प्रयोग गरेको पीडितको भनाइ छ । गृहिणी महिलालाई अगाडि सारेर किर्ते तथा ठगी गरी करिब एक अर्बभन्दा बढीको सम्पत्ति हात पार्ने दाउमा भूमाफियाहरू लागेको उनीहरूले आरोप लगाए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत