६ वैशाख २०८१ बिहीबार
राजनीति

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

नेपालकाे दुर्इिदने राजकीय भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र माेदी। तस्बिर : रासस

काठमाडौं – नेपाल र भारतका प्रधानमन्त्रीले उच्चस्तरको सहकार्य विस्तारका लागि सहमति हुन बाँकी रहेका सबै विषय असोज मध्यसम्ममा टुंगोमा पु-याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा सहमति हुन बाँकी विषयमा भने केही उल्लेख छैन। संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सबै क्षेत्रमा उच्चस्तरको सहकार्यको उद्देश्यका साथ सहमति हुन बाँकी सबै विषयमा सन् २०१८ सेप्टेम्बरसम्ममा सहमति खोज्न दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।’

दुवै देशबीच भएका सहमति कार्यान्वयन नहुने र कार्यान्वयन भए पनि निर्धारित समयमा नसकिने गुनासो सुनिँदै आएको छ। पछिल्ला उच्चस्तरीय भ्रमणमा नयाँ सहमतिभन्दा पनि पुराना सहमति कार्यान्वयनमा जोड दिने गरिएको छ । यो समस्या समाधानका लागि नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतबीच संयन्त्र निर्माण भएको छ।

नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई प्रवेशमार्ग थप गर्ने विषयमा भारत सकारात्मक देखिएको छ। विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले नेपाल प्रवेश गर्ने हवाईमार्गबारे छलफल गर्न प्राविधिक टोलीलाई सक्रिय बनाउन निर्देशन दिएको उल्लेख छ। ‘दुवै देशका प्रधानमन्त्रीहरुले नेपालमा हवाई प्रवेशमार्ग थप गर्न सम्बन्धित प्राविधिक टोलीलाई छलफलसहित नागरिक उड्डयनका क्षेत्रमा सहकार्य बढाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुबीच वायु, स्थल तथा जलमार्गका माध्यमबाट आर्थिक तथा भौतिक कनेक्टिभिटी विस्तार गर्नका थप कदम चाल्ने सहमति भएको छ।’

अहिलेसम्म भारत हुँदै अन्तर्राष्ट्रिय उडान गर्ने विमानले सिमरा भएर मात्र नेपाल प्रवेश गर्न पाउँछन्। नेपालले विराटनगर, जनकपुर, भैरहवा, महेन्द्रनगरसहितका क्षेत्रबाट हवाई प्रवेश मार्ग माग गर्दै आएको छ। तर भारतले यसलाई पन्छाउँदै आएको छ। भैरहवा विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम भए पनि भारतले हवाई मार्ग उपलब्ध नगराउने हो भने सञ्चालनमा आउने कठिन हुनेछ।

दुवै देशका प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीका प्रयास (बिमस्टेक), बंगलादेश, भुटान, भारत नेपाल मोटर कनेक्टिभिटी (बिबिआइएन) सहित क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यमा जोड दिएका छन्। पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै भारतले त्यहाँ हुन लागेको सार्क शिखर सम्मेलन बहिष्कार गरेको थियो। त्यसपछि सार्क सम्मेलन हुन सकेको छैन । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। भारतले अहिले सार्कको सट्टा बिमस्टेक र बिबिआइनजस्ता क्षेत्रीय फोरमलाई उपयोग गर्दै आएको छ। यी दुवै फोरममा पाकिस्तान सदस्य छैन।

भारत फर्किनुअघि मोदीले नेपालीमा ट्विट गर्दै भनेका छन्, ‘यस भ्रमणमार्फत नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ। म नेपाली जनता र नेपाल सरकारले देखाएको न्यायोपनका लागि आभार प्रकट गर्छु।

’भारतीय प्रधानमन्त्री मोदीले भारतका भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन्। गत महिना मात्रै ओलीले भारतको राजकीय भ्रमण गरेका थिए। ओलीले भ्रमणको निम्तो स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कूटनीतिक च्यानलबाट मितिको टुंगो लगाइनेछ,’ विज्ञप्तिमा भनिएको छ।

मोदीको यसपटकको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास र जनकपुर–अयोध्या बससेवा सञ्चालन गर्ने घोषणा गरिएको छ। भ्रमणले दुवै देशबीच सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसैबीच दुई दिन भ्रमण सम्पन्न गरेर मोदी शनिबार अपराह्न दिल्ली प्रस्थान गरेका छन्। शुक्रबार बिहान जनकपुरमा अवतरण गरेका मोदीले जानकी मन्दिरको दर्शन गरेको थिए। त्यसपछि उनलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो। उनले पशुपतिनाथ र मुक्तिनाथको दर्शन र पूजाआजा गरेका छन्। काठमाडौंमा पनि मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो।

नेपाल भ्रमणका क्रममा मोदीले प्रधानमन्त्री ओलीसँग द्विपक्षीय वार्ता गरेका थिए। मोदीले नेपालका पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका थिए। शुक्रबार उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मधेसी मोर्चाका नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेका थिए।

प्रकाशित: ३० वैशाख २०७५ ००:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App