८ वैशाख २०८१ शनिबार
खेल

‘रमपम उदयपुर गोल्डकप’ सुरु, झापाको विजय सुरुआत

उदयपुर– उदयपुरमा शनिबारदेखि सुरु ‘पाँचौं रमपम उदयपुर गोल्डकप ०७५’ प्रतियोगितामा झापा ११ ले विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा झापाले रुपन्देही ११ लाई शूल्यका बिरुद्ध १ गोल गरी विजयी यात्रा प्रारम्भ गरेको हो। 

गतवर्षको च्याम्पिएन रुपन्देहीसँग सुरुवातदेखि नै आकर्षक प्रतिस्पर्धामा उत्रिएको झापाले मध्यान्तर अघि गरेको ३ पटकको प्रयास भने विफल भएको थियो। मध्यान्तरपछिको ३२ औं मिनटमा कर्ण लिम्बुको प्रहार गोलमा परिणत भएसँगै झापाले विजयीको खाता खोलेको हो। 

शनिबारको खेलमा म्यान अफ द म्याचको उपाधि झापाकै छिरिङ गुरुङले पाए। उनलाई आयोजकको तर्फबाट चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राई र मूल आयोजक अध्यक्ष किरण राईले ७ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे। आईतबारको खेल मनाङ मस्र्याङ्दी क्लब काठमाडौं र घरेलु टिम उदयपुर ११ बीच हुने प्रतियोगिता संयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताएका छन्। 

सदरमुकाम गाईघाटस्थित थरुहट–उदयपुर रंगशालामा आयोजित प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गरे। उद्घाटन मन्तव्य दिँदै राईले प्रदेश नम्बर १ खेलकुद क्षेत्रमा धेरै अगाडि रहेको र अव व्यवसायिक खेलाडी उत्पादन गर्न प्रदेश सरकार लागी पर्ने बताए। मुख्यमन्त्री राईले हरेक जिल्लामा एउटा सुविधासम्पन्न रंगशाखा निर्माण गर्ने, खेलाडीका लागि प्रशिक्षण केन्द्र खोल्ने तथा खेलकुद विकासका लागि स्थानीय तह र संघीय सरकारसँग मिलेर प्रदेश सरकारले साझा योजना ल्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल खेल विश्वमै सबभन्दा बढीले रुचाएको खेल भएकाले यसको विकासमा तीनै तहका सरकारले बजेट र योजना बनाएर अघि बढ्नुपर्ने बताए। अध्यक्ष शेर्पाले भर्खरै निर्वाचित आफ्नोनो नेतृत्वको एन्फाले फुटबल क्षेत्रमा पुनर्संंरचना गर्दै प्रत्येक जिल्लामा रंगशाला, प्रदेशमा महिला र पुरुष एकेडेमी स्थापना गरेर युवालाई खेलक्षेत्रबाट रोजगारी दिलाउने बताए। गाउँतहसम्म खेलाडी जन्माउन सके विश्व खेलक्षेत्रमा नेपालको भविष्य उज्वल रहेको कुरामा शेर्पाको विश्वास थियो। 

विगत ०६८ देखि सुरु उदयपुर गोल्डकपले यसवर्षदेखि पुरस्कार राशी तेब्बर बढाएर विजेता र उपविजेतालाई क्रमशः ५ लाख र ३ लाख पु-याएको छ। स्थापनाकालमा १ लाख र ५० हजार रहेको पुरस्कार राशी गतवर्ष प्रथम र दोस्रोलाई क्रमशः १ लाख ५० हजार र १ लाख थियो। 

सुरुवाती चरणमा खेलमैदान अभावमा विद्यालयको प्रांगणमा ३ वटा संस्करण सम्पन्न भएको उदयपुर गोल्डकपले गतवर्ष कामचलाउ र यसवर्ष सुविधासम्पन्न प्याराफिटसहितको रंगशालामा प्रतियोगिता आयोजना गर्न सफल भएको भन्दै मूल आयोजक अध्यक्ष किरण राईले खुसी व्यक्त गरे। त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्ष रंगशालाको स्तरोन्नतिका लगि ५० लाख र गोल्डकप प्रतियोगिताका लागि १० लाख अनुदान दिएको राईले बताएका छन्। 

यसवर्षको प्रतियोगिताका लागि रमपम चाउचाउ मुख्य प्रायोजक रहेको छ। त्रियुुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिका, हिमाली यातायात व्यवसायी संघ, उदयपुर सिमेन्ट उद्योग, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा बिभिन्न संघसंस्थाले सहप्रायोजन गरेका छन्।

प्रकाशित: २९ वैशाख २०७५ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App